१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख ५ सोमबार ०६:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

छात्रालाई अश्लील भिडियो देखाएर जबर्जस्ती गर्न खोजेको भन्दै विद्यालयमा तोडफोड

दोषी शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित

Read Time : > 1 मिनेट
२०७९ बैशाख ५ सोमबार ०६:४६:००

पूर्वी नवलपरासीको गैँडाकोट– ५ मा रहेको जनक नमुना माविका एक शिक्षकले आफ्नै छात्रालाई अश्लील भिडियो देखाएर जबर्जस्ती गर्न खोजेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । उनीहरू दोषी शिक्षकलाई कारबाहीको माग गर्दै आइतबार प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण दिनभर विद्यालय तनावग्रस्त बन्यो । विद्यार्थीले विद्यालय तोडफोड गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३२ सेल अश्रुग्यास प्रहार गरेको थियो । 

विद्यालयका कम्प्युटर शिक्षक कपिल घिमिरेले कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई कम्प्युटर ल्याबमा लगेर अश्लील भिडियो देखाएको र छात्रामाथि जबर्जस्ती गर्न खोजेको विद्यार्थीहरूले आरोप लगाएका छन् । आरोपित शिक्षकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले भने, ‘आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर राखेका छौँ । घटनाको अनुसन्धान हुँदै छ ।’

विद्यार्थीहरूले शिक्षक घिमिरेलाई कारबाही मात्र गरेर नपुग्ने भन्दै मोसो दल्नुपर्ने र जुत्ताको माला लगाउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए । दुव्र्यवहार गरेको आरोपमा शिक्षकलाई कारबाही र पीडित छात्रालाई न्यायको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरेका हुन् । विद्यालय परिसरभित्र तोडफोड भएपछि प्रहरी परिचालन गरिएको थियो । आक्रोशित विद्यार्थीले आरोपित शिक्षकको ना२४प ६६१५ र प्रधानाध्यापकको प्रा ३०३००२ प ०७७६ नम्बरको मोटरसाइकल जलाइदिएका छन् । विद्यालयका बेन्च, कुर्सी, ह्वाइट बोर्ड, कम्प्युटर, सिसिटिभी, माइक, झ्यालढोकाका सिसा, रजतजयन्ती स्मारक, फूलदानी, गमला, २० वटा खानेपानीका धारालगायत तोडफोड गरेका छन् । 

प्रहरी उपरीक्षक महर्जनले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको बताए । ‘कति राउन्ड हो, अहिले भन्न सकिन्न । नौ–दस राउन्डसम्म अश्रुग्यास प्रहार भएको हो,’ उनले भने । झडपमा परी इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठसहित केही प्रहरी घाइते भएका छन् । घिमिरेलाई नियन्त्रणमा लिन विद्यालय परिसरमा प्रहरी प्रवेश गरेको थियो । सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि चितवनको तालिम केन्द्रबाट समेत प्रहरी मगाइएको थियो । 

छात्रालाई मोबाइलमा अश्लील भिडियो देखाई जबर्जस्ती गर्न खोजेको पीडित परिवार र छात्राको भनाइ छ । शिक्षकले आफूलाई ल्याबमा एक्लै राखी अश्लील भिडियो देखाई दुव्र्यवहार गरेको पीडित छात्राले साथीलाई सुनाएपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् । घटना २८ चैतको भए पनि घटनाका विषयमा विद्यालय प्रशासनले ढाकछोप गर्न खोजेको विद्यार्थीको आरोप छ । 

प्रहरी उपरीक्षक महर्जनले घटना केही दिन अगाडिको भएको बताए । पीडित पक्षले भने प्रहरीमा उजुरी दिएको छैन । ‘हामीले दुवै पक्षसँग घटनाको सोधपुछ र अनुसन्धान गरिरहेका छौँ,’ महर्जनले भने । पीडित पक्षले सोमबार प्रहरीसमक्ष उजुरी दिने तयारी गरेको छ । विद्यार्थीहरूले विद्यालय प्रशासनले शिक्षकलाई बचाउन खोजेको, उल्टै विद्यार्थीमाथि आरोप लगाएको भन्दै असन्तुष्टि जनाएका थिए । प्रधानाध्यापक चूडामणि शर्माले घटना लुकाउन खोजेको विद्यार्थीले आरोप लगाउँदै आएका छन् ।

पीडित छात्राको हजुरबुबाले पाँच दिन बितिसक्दा पनि विद्यालय प्रशासनले अभिभावकलाई थाहै नदिई घटना लुकाउन खोजेको आरोप लगाए । विद्यालयका प्रधानाध्यापक शर्माले घटनाबारे विद्यार्थी, शिक्षक र अभिभावकबीच छलफल चलिरहँदा एक्कासि प्रदर्शनले उग्ररूप लिएको बताए । घटनाका विषयमा ल्याब कक्षमा रहेको सिसीक्यामेरा हेर्दै गर्दा विद्यार्थी तोडफोडमा उत्रिएको उनको भनाइ छ ।

 सुझाव दिँदा समस्या थपियो 
पीडित छात्रालाई कुनै युवकले अश्लील तस्बिर र भिडियो पठाएर ब्ल्याकमेल गरिरहेको र ती युवकसँग छुटकारा पाउन, कानुनी कारबाही अगाडि बढाउन सुझाव दिँदा आफूलाई उल्टै आरोप लगाइएको शिक्षक घिमिरेले बताएको विद्यालय प्रशासनले जनाएको छ । छात्राको म्यासेन्जरमा आएको फोटो भिडियो हेर्ने क्रममा युवतीकै मोबाइलमा अश्लील भिडियो देखिएको, तर आफूले नियतवश अश्लील भिडियो नदेखाएको शिक्षक घिमिरेले आफूलाई बताएको प्रधानाध्यापक कँडेलले बताए । २८ चैतको घटना भए पनि आफूले ३० गते साँझ मात्र थाहा पाएको र तत्काल छलफल गर्न ढिलो भएको उनको भनाइ छ ।