Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत १८ शुक्रबार ०७:४७:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

निफको पाँचौँ संस्करण सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत १८ शुक्रबार ०७:४७:००

पाँचौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ । काठमाडौं राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा बिहीबार निफको पाँचौँ संस्करण सुरु भएको हो ।

महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डिप्रेज, महोत्सवका निर्णायक प्रमुख अदिप्तो आचार्य र महोत्सवका अध्यक्ष केपी पाठकले संयुक्त रूपमा गरेका थिए । उद्घाटन समारोहमा पुरु लम्साल निर्देशित नेपाली वृत्तचित्र ‘गोरु पर्व’ प्रदर्शन गरिएको थियो । 

पाँच दिनसम्म चल्ने महोत्सवमा ३९ देशका ८९ चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवमा चलचित्र प्रदर्शनको अलावा विभिन्न विषयमाथि बहस पनि हुनेछ । कार्यक्रममा मेयर शाक्यले कोरोना महामारीले सबैभन्दा बढी चलचित्र क्षेत्र प्रभावित भएको बताए । ‘महामारीले करिब दुई वर्ष चलचित्र क्षेत्र ठप्प भयो । तर, अहिले बिस्तारै माहोल बन्दै छ । कोरोनासँग सामना गर्दै अगाडि बढ्न सक्छौँ भन्ने सन्देश यो महोत्सवले दिएको छ,’ उनले भने । 

यस्तै विकास बोर्ड अध्यक्ष दयाराम दाहालले महोत्सवले चलचित्रको कथा खोज्नसमेत मद्दत पुग्ने बताए । ‘महोत्सवमा विश्वका धेरै चलचित्र हेर्छाैं । चलचित्र हेरेर अनुभव पनि गर्छाैं । अरूको चलचित्र हेरेर आफ्ना चलचित्रको कथासँग तुलना पनि गर्छाैं । यसकारण पनि चलचित्रको कथामापन गर्ने महत्वपूर्ण प्लेटफर्म हो,’ उनले भने । 

चलचित्र महोत्सव नेपाली चलचित्रको स्तरवृद्धिका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । ‘चलचित्र विकास बोर्डले विभिन्न नीतिगत कार्यक्रम अघि सारिसकेको छ । अब कथा भएर पनि फिल्म बनाउन वञ्चित भएका फिल्ममेकरले निर्माण गर्न सहुलियत पाउने छन्,’ अध्यक्ष दाहालले भने, ‘कथा खोज्ने काम चलचित्रकर्मीकै हो । राम्रा कथाहरू ल्याए विकास बोर्डको आर्थिक सहकार्यमा निर्माण गर्न सक्ने बाटो खुलेको छ ।’ नेपाली चलचित्रको स्तरवृद्धिका लागि सबै नेपाली चलचित्रकर्मी अघि बढ्नुपर्ने पनि उनले बताए । 

राजदूत नोना डिप्रेजले महोत्सवले विश्व समाजको संस्कृति आदान–प्रदान गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन् । महोत्सवले विश्वका कला संस्कृति बुझ्न र बुझाउन मद्दत पुग्ने उनको भनाइ छ । उनले नेपाली सिनेमालाई नजिकबाट नियाल्दै आइरहेको पनि बताइन् । उनले भनिन्, ‘युरोपियन युनियनले निफ मात्रै नभएर नेपालका अन्य चलचित्र महोत्सवसँग पनि सहकार्य गर्दै आइरहको छ । नेपाली सिनेमालाई सधैँ माया गर्छ । आगामी दिनमा पनि यस्ता चलचित्र महोत्सवसँग सहकार्य गर्न तयार छ ।’