१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
२o८१ जेठ १४ सोमबार १३:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा शुक्रबार भारत जाँदै, यस्तो छ कार्यक्रम 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १३:४४:oo

ओमिक्रोन महामारीले रोकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तीन महिनापछि पुनः तय भएको छ। उच्चस्तरीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री देउवाले यही शुक्रबारदेखि आइतबार (१८ देखि २० चैत)सम्म भारतको भ्रमण गर्ने भएका हुन्। भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत देउवाको भारत भ्रमण सार्वजनिक गरेको हो। 

प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेको विदेश मन्त्रालयले जनाएको छ। उनले  १९ चैतमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् भने उनले भारतमा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार वार्ता गर्ने कार्यक्रम छ। 

मोदीसँग वार्ता गर्नुअघि प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। पछिल्लोपटक प्रधानमन्त्री भएपछि देउवाको यो  पहिलो भारत भ्रमण हो। 

यसअघि २५ देखि २७ पुससम्म प्रधानमन्त्री देउवा गुजरात जाने र त्यहीँ भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने तय भएको थियो। भारत सरकारले आयोजना गरेको भाइब्रेन्ट गुजरात समिटमा प्रधानमन्त्री देउवा गुजरातमा बोलाइएका थिए। तर, कोरोना र ओमिक्रोन महामारी बढेसँगै समिट स्थगित भएपछि देउवाको भ्रमण पनि स्थगित भएको थियो। गुजरात सम्मेलन मे पहिलो साता (वैशाख तेस्रो साता) आयोजना गर्ने भारत सरकारको तयारी भए पनि निर्वाचन आचारसंहितालाई मध्यनजर राख्दै देउवाको भ्रमण त्यसअघि नै अघि सारिएको उच्च सरकारी स्रोतले बताएको छ। 

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा जयनगर–जनकपुर रेल्वेको भर्चुअल उद्घाटन हुने कार्यक्रम छ। यसबाहेक भारतले देशभरि एक सय ३७ स्वास्थ्य चौकी निर्माण गरिदिने, भक्तपुरमा हिन्दू मठ बनाउनेलगायतका सम्झौता हुने गरी तयारी भइरहेको छ। 

पुसपछि भारतले दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा पुल निर्माण गर्ने निर्णय गरिसकेको छ। यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसमेको छ। नेपालले भारतबाट नाै लाख ३५ हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने सम्झौतामा पनि एक महिनाअघि हस्ताक्षर भइसकेको छ।  

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जहाज अवतरण गर्न भारतबाट एयर इन्ट्री रुटका लागि भारतलाई आग्रह गर्ने भएको छ। भारत सरकाले हिउँदयाम सकिएपछि नेपाललाई बढी हुने विद्युत् (सरप्लस इनर्जी) खरिद गर्ने घोषणा गरोस् भन्ने नेपालको चाहना छ। 

‘गुजरातमा यो विषय राख्ने तयारी गरिएको थियो, अबको भ्रमणमा  पनि यसबारे नेपालले कुरा राख्नेछ। भारतले नेपालको थप ऊर्जा खरिद गरिदिए नेपालको व्यापार घाटा घटाउन पनि ठूलो सहयोग हुन्छ, यसमा भारत सरकारको सकारात्मक रेस्पोन्स हुन्छ भन्ने विश्वास छ,’ कूटनीतिक स्रोतले भन्यो। यसबाहेक, बाढी नियन्त्रण र डुबानका बिषयमा पनि छलफल हुनेछ।  

यसैगरी, भ्रमणमा नेपालको ल्याबबाट गुणस्तर प्रमाणित भएका नेपाली अदुवा, अलैँचीलगायतका उत्पादन भारतीय बजारमा प्रवेश सहज रूपमा दिन पनि नेपालले भारतलाई आग्रह गर्नेछ। 

प्रधानमन्त्री देउवाले ७ देखि ११ भदौ ०७४ मा भारतको राजकीय भ्रमण गर्ने क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर टुंग्याउन प्रयास गरेका थिए। दुवै प्रधानमन्त्रीले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर एक महिनाभित्र टुंग्याउन  सम्बन्धित अधिकारीलाई निर्देशन दिएका थिए। 

सम्बन्धित अधिकारीहरूको बैठक बसे पनि यो विषय टुंगिन सकेको छैन। विशेषतः तल्लो शारदामा जाने पानीको मूल्यांकनसहित पानीको बाँडफाँड गरौँ भन्ने नेपालको अडान छ। यसमा भारत तयार नहुँदा डिपिआर टुंगिएको छैन। 

प्रधानमन्त्री देउवा दिल्लीपछि भारतको वाराणसी पनि जाने भएका छन्। भारतीय प्रधानमन्त्री मोदीको संसदीय क्षेत्र रहेको वाराणसीमा प्रधानमन्त्री देउवाले काशी विश्वनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ। देउवा २० चैतमा स्वदेश फर्किनेछन्। 

ad
ad