१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ चैत १४ सोमबार ०७:५०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानी जुटाउन लगानी बोर्ड र महासंघबीच सहकार्य

Read Time : < 1 मिनेट
२०७८ चैत १४ सोमबार ०७:५०:००

नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच स्वदेशी पुँजी जुटाउन तथा विदेशी लगानी भित्र्याउन सहकार्य गर्ने समझदारी भएको छ । आपसी सहकार्यका माध्यमबाट आन्तरिक र बाह्य लगानी जुटाउन गरिएको समझदारीपत्रमा आइतबार बोर्डका सिइओ सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सहायता कक्षसमेत स्थापना गरिने भएको छ । सहायता कक्षको सञ्चालनमा बोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदान–प्रदानमा सहयोग गरिने बताइएको छ । महासंघले स्वदेश तथा विदेशमा लगानीसम्बन्धी रोड सोका अतिरिक्त गतिविधि आयोजना र नेपाल इन्भेस्टमेन्ट समिट २०२२ आयोजना गर्न बोर्डलाई सहयोग गर्नेछ ।

कार्यक्रममा बोर्डको उपाध्यक्षसमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ठूला परियोजनामा लगानी जुटाउनु आवश्यक रहेको बताउँदै प्रतिफलयोग्य परियोजना छनोट गर्न सुझाव दिए । ठूला परियोजनाका लागि पुँजी जुटाउन स्वदेशमै पर्याप्त पैसा भएको भन्दै उनले जनताको विश्वास जित्ने परियोजना छनोट गर्नुपर्नेमा जोड दिए ।

लगानी बोर्डका सिइओ भट्टले तीन खर्ब रुपैयाँ लगानीको परियोजना निर्माण प्रक्रियामा गएको र केहीले उत्पादनसमेत दिन थालेको जानकारी गराए । अहिले परियोजनाबारे अध्ययन गर्ने र थप सहजीकरण गर्ने समय छोट्याएको बताउँदै उनले भने, ‘कुन क्षेत्र र कुन परियोजनमा विदेशी लगानी चाहिने वा नचाहिने भन्नेबारे अध्ययन गरेर निष्कर्षमा पुग्नका लागि सबैलाई आह्वान गर्छु ।’

कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले बोर्ड र निजी क्षेत्रको सहकार्य ऐतिहासिक भएको बताए । उनले चाँडै भारत र चीनमा लगानी सम्मेलन हुन लागेको र त्यहाँ उपस्थित भएर नेपालमा लगानीका लागि आह्वान गर्ने जानकारी दिए ।