एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले, माओवादी र एकीकृत समाजवादीबीच सैद्धान्तिक–वैचारिक मतभेद नरहेकाले चुनावी गठबन्धन र एकताको प्रस्ताव गरेका छन् । मंगलबार पत्रकारहरूसँगको अन्तरक्रियामा भुसालले आजका दिन कम्युनिस्ट पार्टीहरू अलग–अलग रहनुको औचित्य पुष्टि नहुने बताए ।
‘विभाजनको सैद्धान्तिक र वैचारिक आधार छैन । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीबीच वैचारिक र सैद्धान्तिक समस्या छैनन्, यसकारण विभाजनको औचित्य नै छैन’, उनको भनाइ छ, ‘सैद्धान्तिक रूपमा हामी हिँड्ने बाटो भनेको लोकतान्त्रिक प्रणाली नै हो । त्यसमा पनि केही फरक छैन । वैचारिक र सैद्धान्तिक रूपमा एउटै कुरा गरेर किन तीनवटा पार्टी बनाउनुपर्यो ?’
भुसालले वाम एकताको नेतृत्व लिने दायित्व एमालेको भएको बताए । ‘पहिला एमाले एकताको पक्षमा जानुपर्छ, हामीले पहलकदमी गर्नुपर्छ र नेतृत्व गर्नुपर्छ । किनभने, हामीले नेतृत्व नगरी यो एकता हुँदैन । किनभने हामी ठूलो पार्टी हौँ’, उनले भने, ‘त्यति मात्रै होइन, एमाले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह हो, र यो एकताको पनि मूल प्रवाह हो । त्यसैले एकताको पहल र नेतृत्व गर्ने दायित्व एमालेकै हो ।’
भुसालले सर्वोच्च अदालतको संवैधानिक इजलासले हल गरिसकेकाले संसद् विघटनको मुद्दा विर्सनुपर्ने भुसालको तर्क छ । संसद् विघटन सही थियो भनेर जान नसकिने उनको अडान छ । ‘यस खालका विघटन ठीक छन् भनेर जानुको अर्थ हामी सीधै अस्थिरताका पक्षमा हिँड्नु हुन्छ । जुन काम नेकपा एमालेजस्तो जिम्मेवार पार्टीबाट हामीले गर्नुहुँदैन र गर्दैन,’ उनले भने ।
नेता भुसालले कम्युनिस्ट पार्टीहरू मिल्दा चुनावमा आउने परिणाम विशाल र प्रभावकारी हुने बताए । ‘वामहरू एकै ठाउँमा उभिएर जित्ने जित धेरै ठूलो हुन्छ । धेरै प्रभावकारी हुन्छ । त्यसैले पनि कम्युनिस्टहरूबीच एकताको आवश्यकता छ’ । भुसालले कम्युनिस्ट पार्टीका अधिकांश इमान्दार मान्छे एकताको पक्षमा रहेको पनि बताए । भविष्य र चुनौतीलाई राम्ररी विश्लेषण गर्ने नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूको पंक्ति एकताको पक्षमा छ’, उनले भने । तर, नेताहरूको स्वार्थमा आधारित रहेर एकता नटिक्ने अनुभव विगतबाट पाइएकाले अब हुने एकताले त्यसलाई तोड्नुपर्ने भुसालको मत छ ।