मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ फाल्गुण २९ आइतबार ०९:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक कांग्रेस अधिवेशन :  निर्वाचन प्रक्रिया दोस्रो चरणमा प्रवेश

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ फाल्गुण २९ आइतबार ०९:१२:००

सभापतिका तीन उम्मेदवारमध्ये कुनै एकले ५१ प्रतिशत मत पुर्‍याउन नसक्दा सिन्धुपाल्चोक कांग्रेसको निर्वाचन प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको छ । विधानअनुसार सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ ।

पूर्वनिर्धारित कार्यतालिकाभन्दा ढिला सुरु भएको मतदान शनिबार बेलुका मात्रै सकिएको थियो । मतदान सकिएलगत्तै मतगणना सुरु गरिएको हो । मध्यरातमा आएको मतपरिणामअनुसार संस्थापन पक्षका जंगबहादुर तामाङले सबैभन्दा बढी मत ल्याएका छन् । उनले सदर भएको १८ सय २७ मतको ३८ दशमलव ५८ प्रतिशत अर्थात् सात सय पाँच प्राप्त गरे । कोइराला पक्षका वंशलाल तामाङले ६ सय २९ र संस्थापन पक्षकै बागी उम्मेदवार प्रेमध्वज लामाले चार सय ९३ मत ल्याए । ४० मत बदर भएको छ ।

मतपरिणामले संस्थापन पक्ष बलियो रहेको पुष्टि गरेको छ । तर, सभापतिमा लड्न त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकबाट राजीनामा दिएर मैदानमा आएका प्रेमध्वजलाई अन्तिम समयमा नेता मोहनबहादुर बस्नेतले टिकट नदिएकाले उनी रुष्ट छन् ।

दोस्रो चरणमा प्रेमध्वजले कसलाई समर्थन गर्छन् निश्चित छैन । उनले जंगबहादुरलाई समर्थन गरेमा संस्थापन पक्षको जित हुने पक्का छ । दुवै पक्षका नेताहरूको सहमतिमा दोस्रो चरणको मतदान आज बिहान ११ बजेबाट सुरु हुने भएको छ । अधिवेशन सदरमुकाम चौतारामा जारी छ ।