१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
इच्छाराज तामाङ
सुवास भट्ट काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o९:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सहकारीबाट ठगेको तीन अर्बले इच्छाराजको ३० कम्पनीमा सेयर, १५ रोपनी जग्गा र आलिसान महल

Read Time : > 1 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:४१:oo

अनुसन्धान टुंग्याएर विभागले सरकारी वकिल कार्यालय पठायो फाइल, श्रीमती र दुई छोरी प्रतिवादी

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले तीन अर्ब रुपैयाँभन्दा बढीसम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको उजुरीमाथि गरेको छानबिन टुंग्याएर मुद्दा दायर गर्नेबारे रायका लागि फाइल विशेष सरकारी वकिल कार्यालयमा पेस गरेको छ । विभागले गरेको अनुसन्धानबाट तामाङले तीन अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ । यही रकमलाई विभागले बिगो कायम गरेको छ । 

सिभिल सहकारीका संस्थापक अध्यक्ष तथा पूर्व सांसदसमेत रहेका उनीमाथि विभागले ०७६ देखि छानबिन सुरु गरेको थियो । विभागले उनीमाथि साढे दुई वर्षभन्दा लामो समय छानबिन गरेको थियो । विभागले अनुसन्धान फाइल बुधबार सरकारी वकिल कार्यालयमा पेस गरेको छ । उनीविरुद्धको छानबिन प्रतिवेदन नै तीन सय पृष्ठ लामो छ । 

विभाग स्रोतका अनुसार सुरुमा तामाङको आम्दानीको स्रोत सिभिल सहकारी थियो । सहकारीबाट ठगेको रकम तामाङले कम्पनीमा सेयर खरिद र घरजग्गामा लगानी गरेका छन् । विभाग स्रोतका अनुसार सहकारीबाट ठगी गरेको रकमबाट उनले ३० वटाभन्दा बढी कम्पनीमा सेयर किनेका छन् । सेयरमा ९० करोडको हाराहारीमा लगानी छ । यो लगानी मात्र हो, त्यसको हालको मूल्य लगानीभन्दा धेरै ठूलो छ । 

त्यस्तै, ठगीबाटै आर्जित सम्पत्तिबाट उनले काठमाडौंमा १५ रोपनी जग्गा र त्यसमा आलिसान घर ठड्याएका छन् । कीर्तिपुरको उक्त जग्गा उनले १० करोडभन्दा बढीमा किनेका थिए । यसको मूल्य पनि उनले किनेभन्दा अहिले धेरै छ । त्यहीँ उनले १० करोडभन्दा बढी लगानीमा भव्य घर र संरचना बनाएका छन् । ठूलो परिमाणमा जग्गा किन्दा हदबन्दी छल्न उनले धेरै कम्पनी प्रयोग गरेको देखिएको छ । 

यी सबैको प्रमुख स्रोत सहकारी नै हो । विनाधितो आफ्नै कम्पनीलाई उनी सहकारीबाट रकम प्रवाह गर्थे । सहकारीमा निक्षेपकर्ताको रकम अपचलन गरेर घुमाइफिराई धेरै क्षेत्रमा लगानी गरेर बढेबढाएका छन् । 

बढी ब्याजको प्रलोभनमा फसाएर उच्चपदस्थलाई नै बनाए बिल्लीबाठ
विभाग स्रोतका अनुसार बढी ब्याजको प्रलोभनमा फसाएर तामाङले उच्चपदस्थ कैयौँलाई बिल्लीबाठ बनाएका छन् । सहकारीको निक्षेपजति उनले आफ्नै कम्पनीहरूमा घुमाइफिराई परिचालन गरेको भेटिएको छ । उनले सम्पत्ति आफूसहित पत्नी र दुई छोरीका नाममा राख्ने र परिचालन गर्ने गरेका छन् । यद्यपि, अन्य व्यक्तिमा पनि उनले रकम परिचालन गरेको विभागको आशंका छ । त्यसैले विभागले उनीमाथि अनुसन्धान टुंगिनसकेको बताएको छ । 

अहिले विभागले उनी र परिवारमा मात्र केन्द्रित भएर छानबिन गरेको हो । त्यसैले परिवारका सदस्यलाई मात्र प्रतिवादी बनाएको छ । विभाग स्रोतका अनुसार उनको वैध आय करिब सात करोडको हाराहारीमा मात्र छ । 

विभागले ०६४ देखिको सम्पत्ति, आयआर्जन र त्यसको परिचालनबारे मात्र अनुसन्धान गरेको हो । ०६४ मा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन आएको हो । कानुन भूतप्रभावी नहुने भएकाले ऐनपछिको आर्जित सम्पत्तिबारे विभागले उनीमाथि छानबिन गरेको हो । ‘०६४÷६५ सम्म उनको जीवनशैली र कमाइ स्वाभाविकजस्तो देखिन्छ,’ विभाग स्रोत भन्छ, ‘त्यसयता भने उनको सम्पत्ति आर्जन, जीवनशैलीमा ठूलो परिवर्तन देखिन्छ ।’ तामाङका सबै सम्पत्ति जफत गर्नुपर्ने विभागको माग दाबी छ । 

निक्षेपकर्ताको पाँच अर्ब ६० करोड ठगी गरेको अभियोग
निक्षेपकर्ताको पाँच अर्ब ६० करोड ठगी गरेको अभियोगमा तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरी ठगी तथा संगठित अपराधमा गत पुसमा मुद्दा दायर गरेकोमा हाल उनी पुर्पक्षका लागि कारागारमा छन् । सो मुद्दामा उनी स्वयं, पत्नी सिर्जना शाक्य र सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । तामाङविरुद्ध एक हजार पाँच सयभन्दा बढीले जाहेरी दिएका थिए । 

ad
ad