Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १८ बुधबार ०८:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१० लाखभन्दा बढीले गरे पशुपतिको दर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १८ बुधबार ०८:०६:००

महाशिवरात्रिमा भारतबाट जोगी र सन्न्यासी २५ हजारभन्दा बढी आएको पशुपति विकास कोषको भनाइ

यस वर्ष महाशिवरात्रिमा दश लाखभन्दा बढीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि शिवरात्रिमा पशुपतिको मन्दिरमा पूजाआजा प्रभावित बनेको थियो । तर, कोरोना संक्रमण दर घटेसँगै यस वर्ष पशुपति दर्शन गर्न आउने तीर्थालुको संख्या वृद्धि भएको पशुपति विकास कोषले जनाएको छ ।

कोषका अनुसार विशेष गरी भारतबाट आउने तीर्थालुको संख्या अत्यधिक बढेको छ । यसपटक जोगी र सन्न्यासी मात्रै २५ देखि ३० हजारको संख्यामा सहभागी भएको कोषको भनाइ छ । मन्दिर दर्शन गर्ने नेपाली तीर्थालुको संख्या पनि अन्य वर्षको भन्दा बढेको छ । तीर्थालुका कारण मंगलबार दिनभर पशुपतिनाथ मन्दिरआसपासका क्षेत्र निक्कै व्यस्त देखिन्थ्यो । गौशाला, मित्रपार्क, चाबहिल, तिलगंगा, बत्तीसपुतलीलगायतका क्षेत्र तीर्थालुका भिडले बिहानैदेखि भरिएका थिए । दर्शनार्थीको लाइन चाबहिल, गौशाला, तिलगंगासम्म देखिन्थ्यो ।

पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भारत तथा अन्य क्षेत्रबाट जोगी र सन्न्यासी मात्रै २५ हजारभन्दा धेरै आएको बताए । ‘महाशिवरात्रिमा देश तथा विदेशबाट १० लाखभन्दा बढी दर्शनार्थी सहभागी हुने हाम्रो अनुमान थियो । तर, मंगलबार रातिसम्म त्योभन्दा पनि बढी दर्शनार्थी आएका छन् । भारतबाट जोगी र सन्न्यासी मात्रै २५ हजारभन्दा धेरै आए,’ उनले भने ।

विकास कोषका अनुसार दर्शनका लागि मंगलबार बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएका थिए  । मन्दिर दर्शनका लागि अनिवार्य रूपमा लाइनमा बस्नुपर्ने व्यवस्था मिलाइएको थियो । मन्दिर दर्शन र पूजा गर्न तीन मिनेटमा सक्ने प्रबन्ध विकास कोषले गरेको थियो । पर्वमा सहभागी हुनेका लागि निःशुल्क खाना, स्वास्थ्य परीक्षण, औषधि, खानेपानीको प्रबन्ध गरिएका थिए । यसका लागि मात्रै पाँच हजार स्वयंसेवक खटाएको विकास कोषको भनाइ छ । 

राष्ट्रपति र पूर्वराजाले गरे पशुपतिको दर्शन 

राष्ट्रपति विद्यादेवी भण्डरी र पूर्वराजा ज्ञानेन्द्र शाहले पशुपतिको पूजाअर्चना गरेका छन् । राष्ट्रपति भण्डारी मंगलबार अपराह्न पशुपतिनाथ मन्दिर पुगेकी थिइन् । करिब १५ मिनेट पूजापाठपछि उनी फर्किएकी थिइन् । राष्ट्रपतिका लागि विकास कोषले विशेष पूजाको प्रबन्ध गरेको थियो । पूजाको समयमा सुरक्षा प्रबन्ध कडा पारिएको थियो । 

राष्ट्रपति फर्किएलगत्तै पूर्वराजा शाह पनि पशुपतिनाथ मन्दिर पुगेका थिए । उनका लागि पनि विशेष पूजाको प्रबन्ध विकास कोषले गरेको थियो । करिब १५ मिनेटको पूजापाठपछि उनी पनि फर्किएका थिए । राष्ट्रपति भण्डारी र पूर्वराजा शाहभन्दा अघि मन्दिर दर्शनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन पनि पशुपतिनाथ मन्दिर पुगेका थिए । 

पाँच हजार सुरक्षाकर्मी परिचालन
महाशिवरात्रि पर्व सुरक्षाका लागि पाँच हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएका थिए । जसमध्ये चार हजार तीन सय सुरक्षाकर्मी नेपाल प्रहरी र बाँकी सशस्त्र प्रहरीका सुरक्षाकर्मी थिए । प्रत्येक दिन तीन सिफ्टमा सुरक्षाकर्मी परिचालन हुने र सुरक्षा प्रबन्ध बुधबार साँझसम्म कायम रहनेछन् । यस क्रममा नेपाल प्रहरीबाट मात्रै चार हजार तीन सय सुरक्षाकर्मी परिचालन हुनेछन् । बाँकी सुरक्षाकर्मी भने सशस्त्र प्रहरी बलबाट खटाएका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले महाशिवरात्रि पर्व सुरक्षा प्रबन्ध चुस्त पारिएको बताए ।