१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १८:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोरखाको माछाखोलामा पहिलोपटक बस सेवा सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:४७:oo

उत्तरी गोरखाको दुर्गम क्षेत्र धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा पहिलोपटक बस सेवा सुरु भएको छ । आइतबार गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले रिबन काटेर बससेवा शुभारम्भ गरेका हुन् । एक सय चार वर्षकी पुर्नी गुरुङले चालक तथा यातायात प्रालिका सदस्यहरूलाई फूलमाला र अबिर लगाएर स्वागत गरिन् । 

नेपाली सेनाले निर्माण गरेको माछाखोला सडकमा दरौँदी गोरखा यातायात सेवा प्रालिको बससेवा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । नेपाली सेनाले २०७४ सालमा निर्माण गरेको सडकमा यसअघि जिप मात्र चल्ने गरेको थियो । ‘बस सञ्चालन नहुँदा यात्रुले धेरै भाडा तिर्नुपरिरहेको थियो । बल्लतल्ल जिल्ला प्रशासन, नेपाली सेनासँग समन्वय गरी दरौँदी यातायात सेवा प्रालिलाई अनुरोध गरेर बससेवा सुरु गर्न सफल भइयो,’ उनले भने । जिल्ला प्रशासन कार्यालय गोरखा र नेपाली सेनाको सडक निर्माण कार्यदलसँग समन्वय गरी गोरखादेखि माछाखोलासम्मको ६८ किलोमिटर सडकमा बससेवा सुरु गरेको उनले बताए । 

बस सञ्चालन हुनुअघि सोतीदेखि माछाखोलाको १२ किलोमिटर सडकमा जिपले पाँच सय रुपैयाँ भाडा लिने गरेको थियो । अहिले माछाखोलादेखि सोतीसम्म जम्मा एक सय रुपैयाँमा सेवा सञ्चालन भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

त्यस्तै, गोरखा सदरमुकामदेखि माछाखोलासम्म बसको भाडा पाँच सय ५० रुपैयाँ कायम गरिएको छ । दरौँदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार डिलक्स बसमा भने योभन्दा २० प्रतिशत बढी तिर्नुपर्नेछ । उनका अनुसार बिहान माछाखोलादेखि गोरखा बजारसम्म गाडी छुट्नेछ भने दिउँसो माछाखोलादेखि आरुघाटसम्म गाडी छुट्नेछ । राति माछाखोला काठमाडाैँका लागि दुईवटा बस छुट्ने अध्यक्ष खत्रीले जानकारी दिए । केही दिनपछि रात्रिबस सेवा पनि सञ्चालनमा ल्याउने उनले बताए। माछाखोलासम्म बस सञ्चालन आएसँगै धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका स्थानीयहरू आउजाउ गर्नका साथै खाद्यान्न ढुवानीमा सहज हुने भएको छ। 
 

ad
ad