मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ फाल्गुण २ सोमबार ०६:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिर्दिवास खाद्य डिपोमा दुई हजार क्विन्टल चामल ढुवानी

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २ सोमबार ०६:१५:००

उत्तरी गोरखाको सिर्दिवास खाद्य डिपोमा दुई हजार क्विन्टल चामल ढुवानी भएको छ । कम्पनीमा यस वर्ष दुईपटकको बोलपत्र आह्वान रद्द भएर तेस्रोपटक पुसमा ठेक्का लागेको भए पनि त्यसपछि भने समयमै चामल ढुवानी भएको छ ।  आव ०७८/७९ का लागि स्वीकृत दुई हजार क्विन्टल खाद्यान्न ढुवानी भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सूचना अधिकारी शिव सुनारले बताए । उनले भने, ‘सिर्दिवासका लागि यस वर्ष गोरखा शाखाबाट दुई हजार क्विन्टल र विमलनगर डिपोबाट १५ सय क्विन्टल गरी जम्मा तीन हजार पाँच सय क्विन्टल कोटा स्वीकृत भएको थियो । यसमध्ये हाम्रो कार्यालयबाट सबै चामल पुगिसक्यो । विमलनगरबाट पनि एक–दुई दिनमै चामल ढुवानी काम सुरु हुन्छ ।’ 

सोना मन्सुली चामल एक हजार ९१ क्विन्टल ६० केजी, स्टिम जिरा मसिनो चामल ६ सय ३० क्विन्टल, अरुवा मध्यम चामल ४२ क्विन्टल ९० केजी, अरुवा मकवानपुर दुई सय ३५ क्विन्टल ५० केजी गरी जम्मा दुई हजार क्विन्टल खाद्यान्न सिर्दिवास डिपोमा पुर्‍याइसकिएको कम्पनीका सूचना अधिकारी सुनारले जानकारी दिए । गोरखा शाखा र विमलनगर दुवैबाट ढुवानीका लागि सुशान्ति निर्माण सेवाले ठेक्का पाएको थियो । विमलनगरबाट पनि ढुवानी कार्य छिट्टै सुरु हुने कम्पनीका शाखा प्रमुख नवीन बस्नेतले बताए । 

त्यस्तै, डिपोमा पुगेका चामल पनि धमाधम बिक्री भइरहेको छ । उनले भने, ‘सिर्दिवास डिपोबाट हालसम्म पाँच सय ५४ क्विन्टल ५० केजी खाद्यान्न बिक्री भइसकेको छ । अब डिपोमा एक हजार चार सय ४५ क्विन्टल ५० केजी खाद्यान्न मौज्दात रहेको छ ।’ कम्पनीले डिपोमा सोना मन्सुली चामल प्रतिकेजी ५२ रुपैयाँ, अरुवा मध्यम प्रतिकेजी ५२ रुपैयाँ, अरुवा मकवानपुर प्रतिकेजी ५० रुपैयाँ, स्टिम जिरा मसिनो चामल प्रतिकेजी ६६ रुपैयाँमा बिक्री गरिरहेको उनले बताए ।

पुस २५ मा सम्झौता भए पनि यति छिटो खाद्यान्न ढुवानी सम्पन्न हुनुमा ठेकेदार कम्पनीको ठूलो भूमिका रहेको कम्पनीका शाखा प्रमुख बस्नेतले बताए ।