मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ २८ शुक्रबार
  • Thursday, 27 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २८ शुक्रबार १३:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१८ वर्ष पूरा भएका सबैलाई बुस्टर डोज खोप दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार १३:३३:oo

सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष पूरा भएका सबैलाई बुस्टर डोज दिइने बताए।

०७८ माघ २७ गतेदेखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज खोप प्रदान गर्ने निर्णय भइसकेको उल्लेख गर्दै उनले फागुन १ बाट दोस्रो डोज भ्याक्सिन लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताए।  मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकालाई खोप दिने कार्य सुरु गरिएको पनि जानकारी दिए। 

विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा हाल सबै गर्भवती महिलालाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको उनले स्पष्ट पारे। उनले पाँचदेखि ११ वर्ष उमेर समूहको बालबालिकालाई समेत कोभिड– १९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चित भइसकेको बताए। सार्वजनिक सेवा प्राप्तिका लागि कोभिड– १९ विरुद्धको खोप अनिवार्य रूपमा लिनुपर्ने कानुनी प्रावधान लागू गर्नुका साथै खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र स्थानीय तहबाट उपलब्ध गराउन सुरु गरिएको पनि उनले उल्लेख गरे।

हालसम्म चार करोड ६५ लाख ७० हजार सात सय २० खोप प्राप्त भइसकेको र तीन करोड ४८ लाख २५ हजार ६ सय एक मात्रा खोप लगाइसकिएको मन्त्री खतिवडाले जानकारी दिए। कोभिड– १९ परीक्षणको मूल्य निजी अस्पताल प्रयोगशालामा दुई हजार रुपैयाँबाट घटाई एक हजार पाँच सय रुपैयाँ र सरकारी स्वास्थ्य संस्थामा  एक हजार रुपैयाँबाट घटाई आठ सय रुपैयाँ कायम गरिएको पनि उनले उल्लेख गरे। त्यस्तै कपिलवस्तुमा फैलिएको हैजाको प्रकोपलाई समयमै नियन्त्रण गरी, हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको पनि उनले जानकारी गराए।