१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा अध्यक्ष लिङ्देनले भने– थापाको बहिर्गमन अनपेक्षित र असामान्य 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:o३:oo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाको पार्टी बहिर्गमनसम्बन्धी निर्णय अनपेक्षित र असामान्य रहेको प्रतिक्रिया दिएका छन्। थापाले हेटौँडाबाट पार्टी परित्याग गरेको घोषणा गरेपछि नयाँ पत्रिकासँग कुरा गर्दै अध्यक्ष लिङ्देनले थापालाई ‘फेस सेभिङ’ हुने गरी उनको माग सम्बोधनका लागि मध्यमार्गी बाटो खोजिरहेका वेला पार्टी छाडेको भन्दै आफू आश्चर्यमा परेको बताए। 

‘म उहाँसँग समझदारी निर्माणका लागि प्रयासरत थिएँ, उहाँलाई थाहा थियो। तर, अचानक पार्टी त्याग गर्नुभएको जानकारी सञ्चारमाध्यमबाट पाएँ,’ अध्यक्ष लिङ्देनले भने, ‘ म देशभरिका राप्रपाका कार्यकर्तालाई नआत्तिन, धैर्य गर्न आग्रह गर्दछु। पार्टी आफ्नो मूल्य र मान्यतासहित आफ्नो गतिमा अघि बढ्छ। उहाँ अलग हुनु राम्रो होइन, तर यसले पार्टीलाई ठूलो असर गर्दैन। यसलाई पार्टी फुटका रूपमा लिनुहुँदैन।’ राप्रपालाई थापाको परित्यागले क्षति नगर्नेसमेत उनको भनाइ थियो।  

उहाँको आग्रहमा फेस सेभिङकाे मध्यमार्गी मोडालिटी तयार भइरहेका वेला पार्टी त्याग गरेको थाहा पाएर म आश्चर्यचकित भएँ।  

‘म उहाँ (कमल थापा) सँग हिजोसम्म सम्पर्कमा थिएँ। हेटौँडाबाट आज (मंगलबार) काठमाडौं फर्केपछि भेट गर्ने भन्ने कुरा थियो। उहाँलाई पार्टीमा सक्रिय हुने अवस्था सिर्जना गर्न म संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द र पार्टीका अन्य वरिष्ठ नेता, पदाधिकारीसँग छलफलमै थिएँ,’ लिङ्देनले भने, ‘उहाँसँग शनिबार बसेर लामो कुराकानी भएको र उहाँका माग सम्बोधन गर्ने उपाय निकाल्ने मेरो प्रयत्न भइरहँदा पार्टी परित्याग गर्नुभएको छ। पार्टीमा नरहे पनि उहाँ हाम्रा नेताका रूपमा रहनुहुनेछ भन्ने मेरो विश्वास छ।’

यो पनि :  कमल थापाद्वारा राप्रपा परित्याग

लिङ्देनलाई थापाले मंगलबार साँझ भेटवार्ता गर्ने वचन दिएका थिए। मंगलबार ३ बजे थापा काठमाडौं आएपछि छलफल हुने अपेक्षामा लिङ्देन बसेका थिए। थापाकै मागलाई मध्यमार्गी बाटोबाट सम्बोधन गर्न अध्यक्ष लिङ्देनले पूर्वप्रधानमन्त्री चन्दसँग कुराकानी गरिरहेका वेला थापाले पार्टी त्यागेको घोषणा हेटौँडाबाट गरेका थिए। थापाले पनि सोमबार साँझ हेटौँडा जानुअघि चन्दसँगै भेटवार्ता गरेका थिए।

शनिबार थापानिवास बुढानीलकण्ठ पुगेर लिङ्देनले पार्टी महाधिवेशनपछि पहिलोपटक थापालाई भेटेका थिए। ‘उहाँले मेरो फेस सेभ हुने गरी पार्टीले कुनै कदम चालोस्, म सक्रिय हुन्छु भन्नुभएको थियो। म मध्यमार्गी उपाय निकाल्छु भन्ने वचन दिएर हिँडेको थिएँ,’ लिङ्देनले भने, ‘पार्टीको बृहत्तर हितका लागि म विष पिउन पनि तयार छु भनेको थिएँ। म समझदारी बनाउन प्रयास गरिरहेको थिएँ, उहाँलाई फेस सेभिङका लागि मोडालिटी तयार गरेको थिएँ र पार्टीभित्र सहमति निर्माणमा सक्रिय थिएँ। तर, उहाँले अनपेक्षित रूपमा अर्को निर्णय गर्नुभयो।’ उनले थापाको माग सम्बोधन गर्ने मोडालिटी भने खुलाएनन्। 

शनिबार भएको भेटवार्तामा थापाले अलग पार्टी गठन गर्ने संकेत नदिएको, तर पार्टी अलग भए पनि नेताहरूबीच सम्बन्ध सुमधुर हुनुपर्ने धारणा राखेका थिए। विगतमा पार्टी नेता सूर्यबहादुर थापासँग आफू अलग पार्टीमा रहे पनि सुमधुर सम्बन्ध रहेको उदाहरण थापाले लिङ्देनलाई दिएका थिए। 

०२२/६३ पछि थापाको नेतृत्वमा गठित राप्रपा नेपालमा अध्यक्ष लिङ्देनले थापालाई साथ दिँदै आएका थिए। पछिल्लो महाधिवेशनमा पुस्तान्तरणको मुद्दा उठाएर उनी थापासँग चुनाव लडेका थिए। लिङ्देन निर्वाचित भएपछि बधाई दिएका थापाले आफ्नो पराजयलाई निर्मलनिवासको हस्तक्षेपको परिणाम भन्दै आएका थिए। थापाले निर्मलनिवासबाट आफूविरुद्ध भएको हस्तक्षेपको छानबिनका लागि माग गर्दै २७ मंसिर र १६ माघमा अध्यक्ष लिङ्देनलाई चिठी लेखेका थिए। यद्यपि, थापा र लिङ्देनबीच प्रत्यक्ष भेटवार्ता र संवाद भएको थिएन। थापा पार्टीको कुनै पनि कार्यक्रममा सहभागी भएका थिएनन् भने पार्टी कार्यालयसमेत टेकेका थिएनन्। तर, लिङ्देनले भने धुम्बाराहीस्थित थापाले प्रयोग गरेको अध्यक्षको कार्यकक्ष थापाकै लागि छाडिदिएका थिए।  
 

ad
ad