मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ माघ २२ शनिबार १५:५६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङमा २७ सयभन्दा बढीले लगाए बुस्टर डोज 

Read Time : > 1 मिनेट
२०७८ माघ २२ शनिबार १५:५६:००

बाग्लुङमा हाल सम्म दुई हजार सात सय १३ नागरिकले बुस्टर डोज लगाएका छन् । अग्रपंक्तिमा खटिने र ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकहरूले कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाएका हुन् । खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा खटिने र ज्येष्ठ नागरिकलाई बुस्टर डोज प्रदान गरिएको हो । जिल्लामा झन्डै ८ हजार नागरिकलाई बुस्टर डोज लगाउने लक्ष्य रहे पनि अहिलेसम्म दुई हजार सात १३ जनालाई मात्र प्रदान गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । जिल्लामा झन्डै तीन हजार पाँच सय जेष्ठ नागरिक र अन्य अग्रपंक्तिमा खटिने कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकार रहेका छन् । 

दुई साता पहिलेदेखि सुरु गरिएको बुस्टर डोज लगाउने अभियानअन्तर्गत अहिले पनि जिल्लाका हरेक स्थानीय तहमा सातामा दुईपटक खोप सेवा सञ्चालन भइरहेको छ । जिल्लाका १० वटै स्थानीय तहमा दोस्रो मात्राको खोप लगाएको ६ महिना पुगेका जेष्ठ नागरिक तथा अग्रपंक्तिमा खटिने नागरिकले बुस्टर मात्रा लगाउन पाउने खत्रीले बताए । 

६० वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने भनिए पनि दुवै मात्रा खोप लगाएर ६ महिना पुगेका ६२–६४ वर्ष उमेर समूहलाई पहिलो चरणमा खोप दिन लागिएको छ । खत्रीले भने,‘सरकारी नीतिअनुरूप नै जिल्लामा खोपको उपलब्धता हेरेर सबै ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइनेछ ।’ यसअघि महामारीका वेला अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायत गरी करिब तीन हजारलाई बुस्टर डोज दिइएको थियो । पहिले जुनसुकै खोप लगाएको भए पनि अहिले कोभिसिल्डकै बुस्टर मात्रा दिन मिल्ने गरी नयाँ खोप वितरण नीति तय भएको सुपरभाइजर खत्रीले बताए । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् ।  भने पूर्ण खोप ७८ प्रतिशतले पुरा गरेका छन् । 

पहिलो मात्रा खोप लगाउने एक लाख ६५ हजार ८८१ छन् भने दुवै मात्रा लगाउनेको संख्या एक लाख ३० हजार ३८ रहेको छ । १२ देखि १७ वर्षभित्रका झण्डै २७ हजार बालबालिका र किशोरकिशोरीलाई पनि मोडर्ना र फाइजर खोप दिन सुरु गरिएको छ । अहिले सम्म २३ हजार पाँच सय पाँचजना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।  

जिल्लाको दुई लाख ५० हजार जनसंख्या मध्ये एक लाख ६५ हजार नागरिक १८ वर्षमाथिका छन् । जसमा १२ वर्षदेखि १८ वर्ष सम्मका २७ हजार पाँच सय नागरिकलाई खोप लगाउनुपर्नेमा हाल सम्म २३ हजार बालबालिकालाई खोप लगाइएको छ ।  जिल्लामा कुल जनसंख्याको ६८ प्रतिशत नागरिकले पहिलो मात्रा खोप प्राप्त गरेका छन् भने ५२ प्रतिशत नागरिकले पूर्ण खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ । १२ वर्षमुनिका बालबालिकाका लागि भने अहिलेसम्म खोप आइसकेको छैन । सरकारले आउँदो चैतभित्रमा सबै नेपालीलाई खोपको पहुँचमा ल्याउने लक्ष्य राखेको छ । सबै उमेर समूहलाई लक्ष्य गरी खोप अभियान चलेमा यहाँका दुई लाख ५० हजार ५४४ जनालाई खोप दिनुपर्नेछ ।

हाल जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या चार सय ३३ रहको छ । पछिल्ला दिनमा भने संक्रमितको संख्या घट्दै गएको छ ।