१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार ०७:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माओवादी पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक : प्रचण्डलाई संगठन र जनपरिचालनको जिम्मा

महाधिवेशनमा दुई सय ३७ सदस्य चयन भए पनि माओवादीको केन्द्रीय कमिटीले अझै पूर्णता पाएको छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार ०७:३१:००

माओवादी केन्द्रले कोरोना महामारी कम नभएसम्म संगठन र जनपरिचालनका कामको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले संगठन र जनपरिचालनको अधिकार प्रचण्डलाई दिएको हो । 

पार्टीको आठौँ महाधिवेशनपछि पनि माओवादी केन्द्रले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो नबनाएका कारण प्रचण्डलाई संगठन र जनपरिचालनको जिम्मा दिएको हो । बैठकले बाँकी रहेका संगठनात्मक काम टुंग्याउने जिम्मा पनि अध्यक्ष प्रचण्डलाई दिने निर्णय भएको पार्टी नेता कृष्णबहादुर महराले जानकारी दिए ।

महाधिवेशनमा दुई सय ३७ सदस्य चयन भए पनि माओवादीको केन्द्रीय कमिटीले अझै पूर्णता पाएको छैन । महाधिवेशनबाट दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुने र उक्त कमिटीले १५ प्रतिशत मनोनीत गर्ने माओवादीको विधानमा व्यवस्था छ । आवश्यक गृहकार्य सकेर केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी भएको पूर्वस्थायी कमिटीका एक सदस्यले बताए । 

पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो चयनका लागि यसअघि बोलाइएका दुई केन्द्रीय कमिटीका दुईवटा बैठक स्थगित भइसकेका छन् । पछिल्लोपटक माओवादी केन्द्रले ८ माघका लागि केन्द्रीय कमिटी बैठक बोलाएको थियो । तर, कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै माओवादीले बैठक स्थगन गरेको थियो । त्यसअघि २५ पुसमा बोलाइएको बैठक पनि कोरोना महामारीको बढ्दो संक्रमणको कारण स्थगित भएको थियो । यसबीचमा पार्टी अध्यक्ष प्रचण्डसहितका दर्जनौँ नेतामा कोरोना पुष्टि भएको थियो । 

त्यसैबीच, माओवादी बैठकले एमसिसीबारे गठबन्धनले बनाएको कार्यदलको प्रतिवेदनको विषयमा कार्यदल बनाएको छ । कार्यदलको सुझावपछि मात्रै परिमार्जनसहित अघि बढ्ने विषयमा छलफल भएको नेता महराले जानकारी दिए । बैठकमा तीनै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको महराले जानकारी दिए ।