मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ माघ ५ बुधबार १२:५१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाका उम्मेदवार भोट माग्न जिल्ला दौडाहामा

Read Time : > 1 मिनेट
२०७८ माघ ५ बुधबार १२:५१:००

निर्वाचन आयोगले आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको छ । रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि गत पुस २० गते मनोनयन दर्ता भइसकेको छ । गण्डकी प्रदेशमा पनि तीन रिक्त पदका लागि पाँचदलीय गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै मनोनय दर्ता गरी विभिन्न जिल्लामा भेटघाटका कामलाई तीव्रता दिएका छन् । तीन पदको निर्वाचनका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तागठबन्धनबाट नेपाली कांग्रेसका कमला पन्त, माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गरेका हुन् । यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट पुण्यप्रसाद पौडेल, लीला थनेत र अर्जुनकुमार सुनामले उम्मेदवारी दर्ता गरेका छन् । दुवै पक्षका उम्मेदवारले आफ्नो पक्षमा मत माग्नका लागि जिल्ला दौडाहाका कार्यक्रम तय गरेर विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्यहरूसँग  भेटघाटका कार्यक्रम अगाडि बढाएका छन् । 
    

निर्वाचनलाई  नै लक्षित गरी संयुक्त गठबन्धनका उम्मेदवारहरूले मंगलबार बाग्लुङ र म्याग्दीमा मतदातालाई भेटेका छन् । बाग्लुङमा भेटघाटका क्रममा संयुक्त गठबन्धनका तीनैजना उम्मेदवार पन्त, आले र सुनारले आफूहरूको उम्मेदवार प्रतिगमनको विरुद्ध रहेको बताए । उनीहरूले जनताको प्रतिनिधित्व गरेर जनताको काम गर्ने उद्देश्यका साथ राष्ट्रिय सभाको उम्मेदवार बनेको बताए । तीनजनामध्ये पन्त र सुनार गोरखाका हुन् भने आले मगर तनहुँका हुन् । 

बाग्लुङका १० स्थानीय तहबाट १३ जना प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गठबन्धन पक्षका रहेका छन् । जसको कुल मतभार तीन सय ३४ हुनेछ । त्यसैगरी गठबन्धनतर्फ नै गण्डकी प्रदेश सभा सदस्यमा बाग्लुङबाट ६ जना प्रदेश सभा सदस्य रहेका छन् । कांग्रेसबाट मणिभद्र शर्मा कँडेल र कोपिला बोहोरा, माओवादी केन्द्रबाट चन्द्रबहादुर बुढा सागर र दिलमाया रोका, राष्ट्रिय जनमोर्चाबाट खिमविक्रम शाही र प्यारी थापा रहेका छन् । उनीहरूको मतभार नाै सय हुनेछ । जिल्लाबाट १० स्थानीय तहका २० जना र आठजना प्रदेश सभा सदस्य गरी कुल मतभार एक हजार पाँच सय ६० हुन्छ । जसमा गठबन्धनको एक हजार एक सय ३४ छ भने नेकपा एमालेको चार सय आठ मतभार र राप्रपाको १८ मतभार रहेको तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढाले बताए । जिल्लाबाट गठबन्धनका लागि बहुमत रहेको बुढाले जानकारी दिए ।  गठबन्धनका तर्फबाट जैमिनी नगरपालिका प्रमुख, काठेखोला गाउँपालिका उपाध्यक्ष र बडिगाड गाउँपालिका उपाध्यक्ष गठबन्धनका हुन् । त्यसबाहेक तमानखोला, निसीखोला गलकोट नगरपालिका, ताराखोला र बरेङ गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पनि गठबन्धनका रहेका छन् ।

गण्डकीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दीनानाथ शर्मा, खिमबहादुर विक र शान्ति अधिकारीको आउँदो असारमा पदावधि सकिने भएसँगै त्यही सिटका लागि चुनाव हुन लागेको हो । शर्मा र विक माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै सदस्य बनेका थिए । तत्कालीन एमालेबाट सदस्य बनेकी शान्ति अधिकारी यतिवेला नेकपा एकीकृत समाजवादीमा छन् ।