१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित तीन नम्बर पुलबाट त्रिशूलीमा खसेको स्कार्पियो
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o८:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

तनहुँ, धनकुटा, सिराहा र दाङमा दुर्घटना : आठको मृत्यु, १७ घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:१८:oo

तनहुँ, धनकुटा, सिराहा र दाङमा शुक्रबार भएका दुर्घटनामा आठजनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । तनहुँको बन्दीपुरमा शुक्रबार साँझ जिप पल्टिँदा चारजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । बाफेबाट धरमपानीतर्फ आउँदै गरेको ग.१ज ६५५५ नम्बरको बोलेरो जिप बन्दीपुर गाउँपालिका– ६ हटियामा सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो । 

मृत्यु हुनेमा बन्दीपुर– ६ धरमपानीका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने र ९ महिनाकी बालिका आरुबी थापा छन् । चारैजनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए । दुर्घटनाको खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको थियो । तर, रातिको समयमा दुर्घटना भएकाले उद्धार गर्न केही समस्या भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उद्धार गरी तत्कालै बन्दीपुर अस्पताल पठाइएको खड्काले जानकारी दिए ।

कोसी राजमार्गको धनकुटा सिधुवा सडकखण्डअन्तर्गत गुराँसेनजिक शुक्रबार ट्रिपर दुर्घटना हुँदा दुईजनाले ज्यान गुमाएका छन् । बालुवा बोकेर धनकुटाबाट तेह्रथुमको वसन्तपुर जाँदै गरेको बा.प्र.३–००१ क ०५४९ नम्बरको ट्रिपर दुर्घटना भएको हो । दुर्घटनामा प्युठान माण्डवी गाउँपालिका–१ घर भएका २८ वर्षीय चालक भुवन थ्रेडी मगर र दाङको बबई गाउँपालिका–३ घर भएका २१ वर्षीय सहचालक नवीन विश्वकर्माको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले दुवैको घटनास्थलमै ज्यान गएको जानकारी दिए । धनकुटा नगरपालिका–२ नागढुंगा गुराँसेनजिक पल्टिएको टिपरले चालक र सहचालकलाई किचेको थियो । शव निकाल्न क्रेनको प्रयोग गरिएको प्रहरीले जनाएको छ । 

सिरहाको गोलबजारस्थित दुर्गा मन्दिरनजिकै दुईवटा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार–६ का ४२ वर्षीय कृष्णदेव यादव छन् । इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार यादव चढेको प्रदेश २–०१–००१ प ५७५४ नम्बरको मोटरसाइकलले बा.९४ प ४६७२ नम्बरको अर्को मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । अर्को मोटरसाइकलमा रहेका गोलबजार–७ का सागर श्रेष्ठको अवस्था सामान्य छ । दुर्घटनामा गम्भीर घाइते भएका यादवको अस्पताल लैजाने क्रममा बोटोमै मृत्यु भएको गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिए ।

यस्तै, दाङको हेकुलीचोकमा ट्र्याक्टरमा अटो रिक्सा ठोक्किँदा एकजनाको ज्यान गएको छ । मेलमिलाप केन्द्र हेकुलीका ५० वर्षीय दीपक बुढाथोकीका ज्यान गएको इप्रका तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । अर्यालका अनुसार रोकिराखेको रा १ त २८२२ नम्बरको ट्र्याक्टरमा रा १ ह २९६६ नम्बरको अटो रिक्सा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको डिएसपी अर्यालले बताए । दुर्घटनामा दंगीशरण–३ हेकुली बस्ने २७ वर्षीय अटोचालक मनीष चौधरी घाइते भएका छन् । उनको कोहलपुरमा उपचार भइरहेको छ । ट्र्याक्टरचालक फरार रहेको प्रहरीले जनाएको छ । 

त्रिशूली नदीमा स्कार्पिओ खस्दा सात घाइते 
भरतपुर/ चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित तीन नम्बर पुलबाट स्कार्पियो जिप त्रिशूलीमा खस्दा सातजना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङ जाँदै गरेको बा.१३च ४३६५ नम्बरको स्कार्पियो अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेर नदीमा पुगेको हो । जिल्ला प्रहरी कार्यालय चितवन प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार घाइतेहरूको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भएको छ । घाइतेहरूको अनुहार, ढाड, हात, मुखमा चोट लागेको छ । घाइते हुनेमा काठमाडौंका जोशी बैदवार, सुमनलाल श्रेष्ठ, कैलालीका सुरेश चौधरी, अनिल चौधरी, ललितपुरका निकेश श्रेष्ठ, कञ्चनपुरका प्रकाशनाथ मध्यम र स्कार्पियोचालक सिन्धुलीका उमेशकुमार राई छन् ।

ad
ad