१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कैलालीको नेतृत्व चयन गर्न धनगढीमा सम्पन्न अधिवेशन । फाइल तस्बिर
तेजराज भट्ट सुदूरपश्चिम
२०७८ पौष ३० शुक्रबार ०९:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले जिल्ला अधिवेशन : सुदूरपश्चिमका जिल्लामा पूर्वमाओवादीकाअधिकांश नेता नेतृत्वबाट बाहिर

Read Time : > 1 मिनेट
तेजराज भट्ट, सुदूरपश्चिम
२०७८ पौष ३० शुक्रबार ०९:३०:००

एमालेको जिल्ला नेतृत्व चयन गर्न सुदूरपश्चिमका जिल्लामा भएका निर्वाचनमा पदाधिकारीका उम्मेदवार बनेका पूर्वमाओवादी नेताहरू पराजित भएका छन् । कैलाली, कञ्चनपुर र अछाममा पदाधिकारीमा पूर्वमाओवादी नेताहरू ‘क्लिन स्विप’ भए । सहमतिका आधारमा कमिटी चयन भएका जिल्लामा पनि पूर्वमाओवादीको प्रतिनिधित्व न्यून देखिएको छ ।

सहमति र निर्वाचन दुवै प्रक्रियाबाट आएका परिणामले सुदूरपश्चिममा माओवादीबाट एमालेमा पुगेका नेता लेखराज भट्टलाई कमजोर देखाएको छ । एमालेको हालै सम्पन्न महाधिवेशनबाट भट्ट एमालेको केन्द्रीय सचिव बनेका छन् । साथै, उनी सुदूरपश्चिम प्रदेशका इन्चार्जसमेत हुन् । तर, निर्वाचनमा आफूले समर्थन गरेका नेताहरू पदाधिकारीमा पराजित भएपछि भट्टलाई गृहक्षेत्रमा ‘धक्का लागेको’ एमाले वृत्तमै चर्चा हुन थालेको छ । भट्ट गृहजिल्ला कैलालीमा समेत कमजोर देखिएका छन् । आफूसँगै आएका र आफैँले समर्थन गरेका उम्मेदवारहरू पराजित भएपछि भट्ट पार्टी कमिटीमा कमजोर देखिएका छन् । 

एमाले बनेका पूर्वमाओवादी नेताहरू भट्टकै समर्थनमा विभिन्न जिल्लामा पदाधिकारीका उम्मेदवार बनेका थिए । केही जिल्लामा अध्यक्षसहित प्यानलका अधिकांश उम्मेदवार निर्वाचित हुँदा माओवादीबाट गएका नेताहरू पराजित भएका छन् ।

एमाले कञ्चनपुरको अध्यक्षमा पूर्वमाओवादी नेता वीरबहादुर थापा पातललाई हराउँदै सुरेन्द्र विष्ट प्यानलसहित विजयी भए । विष्ट दुई सय ८१ मत ल्याएर विजयी हुँदा थापाले एक सय ८३ मत पाए । 

नेकपा हुँदा अध्यक्ष रहेका थापा नेकपा खारेजपछि एमाले बन्दासमेत जिल्ला अध्यक्ष थिए । भट्टले आफूसँगै एमालेमा गएका थापालाई जिल्ला अध्यक्ष बनाउन चाहेका थिए । थापाको प्यानललाई पूर्वमाओवादी नेताहरूसँगै ओली पक्षकै केही नेता र एमालेमा १० बुँदे सहमतिका पक्षधर नेताहरूको समर्थन थियो । तर, थापा पार्टी अध्यक्ष केपी ओलीनिकट विष्टसँग पराजित भए । 

भट्टको गृहजिल्ला कैलालीमा पनि एमाले बनेका पूर्वमाओवादी नेताहरू पदाधिकारीमा पराजित भएका छन् । भट्टकै समर्थनको प्यानलबाट अध्यक्ष र उपाध्यक्षले चुनाव जित्दा सचिवका उम्मेदवार दानबहादुर विक र उपसचिवका उम्मेदवार प्रेमबहादुर डगौरा भने पराजित भए । दुवैजना माओवादी त्यागेर एमाले बनेका हुन् । 

अध्यक्षमा निर्वाचित रतनबहादुर थापाको प्यानललाई प्रदेश इन्चार्ज भट्टसँगै सहइन्चार्ज कर्ण थापाको समर्थन थियो । यही प्यानलबाट पदाधिकारीका उम्मेदवार विक र डगौरा पराजित हुँदा भट्टका स्वकीय सचिव हितेश ओझासहित केही पूर्वमाओवादी नेताहरू भने जिल्ला कमिटी सदस्यमा निर्वाचित भए । 

अछाममा पनि पूर्वमाओवादीबाट गएका एमाले नेताले पदाधिकारीमा हार व्यहोर्नुपरेको छ । जिल्ला अध्यक्षमा भट्टको समर्थन रहेका चन्द्र बोहरा विजयी हुँदा उनकै प्यानलबाट सचिवमा उम्मेदवारी दिएका पूर्वमाओवादी आदर्श साउद फराकिलो मतान्तरले पराजित भए । साउद प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराका स्वकीय सचिव थिए ।

प्रदेश इन्चार्ज भट्टनिकट बोहरा नेकपा विवाद हुँदा मन्त्री पदबाट राजीनामा दिएर ओली पक्षमा लागेका थिए । उनी अहिले अछामको जिल्ला इन्चार्ज छन् । अछाममा ओली र भीम रावलनिकट दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो । माओवादीबाट गएका एमाले नेताहरूले ओली प्यानलबाट उम्मेदवारी दिएका थिए । अध्यक्षमा हारे पनि पदाधिकारीमा रावलनिकट प्यानलका उम्मेदवार विजयी भए ।