१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

धरानमा फोहोर प्रशोधन केन्द्र, प्रधानमन्त्री देउवाले गरे उद्‍घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:१३:oo

फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रकाे मंगलबार उद्‍घाटन गरिएको  छ। गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोनाको कारण केही काम हुन बाँकी थियो। सम्पूर्ण काम पूरा भएपछि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रको उद्‍घाटन गरेका हुन्। अब धरानबाट निस्कने फोहोर जंगलमा नफाली सीधै उद्योगमा जानेछ। उद्योगले फोहाेरबाट ग्यास उत्पादन गर्नेछ।  

भेन्चर वेस्ट टू इनर्जीले धरान उपमहानगरपालिकाको वडा नम्बर ६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो। धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर उक्त केन्द्र निर्माण गरिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले जानकारी दिए। २० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी ५० मेट्रिन टन क्षमताको प्रशोधन केन्द्र निर्माण भएको छ। यसमा उपमहानगरको कुनै पनि लगानी छैन।

प्रशोधनका लागि प्लान्ट एउटै भए पनि चेम्बर फरक फरक छन्। १० टनमा तीनवटा चेम्बर राखिएको छ। जम्मा १५ वटा चेम्बर बनाइएको छ। प्रशोधन केन्द्रबाट उत्पादन भएको ग्यास धरानमा चलिरहेका टेम्पोहरूमा प्रयोग हुने बताइएको छ। प्रशोधन केन्द्रले दैनिक २ हजार केजी ग्यास उत्पादन गर्ने क्षमता रहेको सञ्चालकले जनाएका छन्। दैनिकजसो ४ सयदेखि ५ सय टेम्पोलाई ग्यास उपलब्ध गराउन सक्ने क्षमता रहेको छ। 

कम्पनीले पानवारीमा १ बिघा २ कट्ठा जमिन खरिद गरेर प्लान्ट स्थापना गरेको हो। सम्झौताअनुसार प्रालिले २० वर्षपछि प्रशोधन केन्द्रको सम्पूर्ण सम्पत्ति उपमहानगरलाई हस्तान्तरण गर्नुपर्नेछ। यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन हुने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए। 

ad
ad