मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष २० मंगलबार
  • Friday, 28 August, 2026
२o७८ पौष २० मंगलबार १३:oo:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

सुडानको हिंसाको राष्ट्रसंघद्वारा निन्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २० मंगलबार १३:oo:oo

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिंसाको निन्दा गरेका छन्। उनले सुडानमा निरन्तर रूपमा बढ्दै गएको प्रदर्शनकारीमाथिको हिंसाको निन्दा गरेका हुन्। यहाँ सरकारका विरुद्धमा विगत लामो समयदेखि प्रदर्शन जारी छ। प्रदर्शन दबाउन यहाँका प्रहरीले प्रदर्शनकारीमाथि आक्रमण गरिरहेका छन्।

सुडानमा आन्दोलनका क्रममा भएको हिंसाको विरोध गर्दै महासचिव गुटर्रेसले प्रहरीलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले भने, ‘यो प्रदर्शनका क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ, प्रहरीले नागरिकको शान्तिपूर्ण रूपमा भेला हुने र आफ्ना असहमतिका विषयमा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने अधिकारको सुरक्षा गर्नुपर्छ।’

महासचिवका प्रवक्ता स्टेफन डुजारिकले यस्तो अवस्थामा सुडानमा शान्तिपूर्ण रूपमा राजनीतिक निकासको खोजी गर्न आग्रह गरेका छन्। यहाँको राजनीति निकै संकटपूर्ण अवस्थामा पुगेको बताइएको छ। साथै महासचिव गुटर्रेसले यहाँका सबै राजनीतिक शक्ति र पार्टीहरूलाई शान्तिपूर्ण वार्ताको टेबुलमा बसेर निकास खोज्ने काममा लाग्न पनि आग्रह गरेका छन्।

सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले गत आइतबार आफ्नो पदबाट राजीनामा दिएका थिए। सुडानमा पछिल्लो समय राजनीतिक संकट गहिरिँदै गएको छ। यहाँ प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचनको प्रयास भने जारी छ। राजनीतिक संकट थप बढ्दै गएका वेला उनले आफ्नो पदबाट राजीनामा दिएका समाचारमा जनाइएको छ। नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिएका हुन्।

सुडान एक ‘खतरनाक मोड’मा रहेको बताउँदै उनले संक्रमणकालीन अवधिको बाँकी काम पूरा गर्न मद्दत गर्ने बताए। गत अक्टोबर महिनामा सेनाले ‘कु’ गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो। त्यसपछि केही हप्ताअगाडि मात्रै उनलाई सेनाले प्रधानमन्त्रीमा पुनर्वहाली गरेको थियो। तर, सेनासँग सम्झौता गरी प्रधानमन्त्री बनेको भन्दै उनको विरोध हुँदै आएको थियो। सुडानका नागरिकहरूले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका छन्। उक्त प्रदर्शनको क्रममा दुईजनाको मृत्यु भएको थियो।  रासस/सिन्ह्वा