बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै
आगामी पाँच वर्षका लागि कांग्रेसको नेतृत्व छान्न देशभित्र र प्रवासबाट चुनिएका चार हजार सात सय ४३ प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान गराउने तयारी छ । सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धा गर्दै छन् । देउवा–कृष्ण सिटौला समूह पहिलो चरणबाटै विजयी हुनेमा आशावादी देखिन्छ भने छुट्टाछुट्टै समूह बनाएर निर्वाचनमा होमिएका कोइराला, सिंह र निधिले निर्वाचन दोस्रो चरणमा पुर्याउने रणनीति अख्तियार गरेका छन् । त्यसो हुँदा सबै एक ठाउँ उभिएर देउवामाथि दबाब बनाउन सकिने उनीहरूको बुझाइ छ । गुरुङ प्यानलविना सभापतिमा एक्लै भिडिरहेका छन् ।
सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यसहित एक सय ३४ पदका लागि भइरहेको निर्वाचनमा चार सय ८६ प्रतिस्पर्धामा छन् । दुई उपसभापतिका लागि सातजना, दुई महामन्त्रीका लािग ६ र आठ सहमहामन्त्रीका लागि १९ नेताले उम्मेदवारी दिएका छन् । त्यस्तै, एक सय २१ सदस्यका लागि चार सय ४९ जना चुनावी मैदानमा छन् । सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपाने र सहमहामन्त्रीमा मनोनयन गरेका सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् ।
कांग्रेस विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुन्छ । त्यसैले मतदानलगत्तै सुरुमा सभापतिको मतगणना गर्ने कार्यसूची निर्वाचन समितिले बनाएको छ ।
देउवा–सिटौला समूह पहिलो चरणमै जित निकाल्ने रणनीतिमा छ । त्यसका लािग प्रदेशअनुसार प्रतिनिधिलाई मनाउन नेताहरू खटिएका छन् । कोइराला, सिंह र निधिले भने प्रतिस्पर्धा दोस्रो चरणमा प्रवेश गराउने रणनीति अवलम्बन गरेका छन् । कांग्रेस विधानको दफा १६ मा केन्द्रीय सभापतिको निर्वाचनबारे व्यवस्था छ । दफा १६ (ख)ले ‘सभापतिमा निर्वाचित हुनका लागि खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुने’ व्यवस्था गरेको छ । दफा १६ (ग)मा पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजनाबीच पुनः मतदान गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, दफा १६ (घ)मा ‘पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुने’ उल्लेख छ । तर, पहिलोपटक नै दुईजना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।
सर्वसम्मत सभापतिको उम्मेदवार चयन गर्ने प्रयास सफन नएभपछि संस्थापनइतर समूह विभाजित भएको छ । १३औँ महाधिवेशनमा एकैठाउँ रहेका कोइराला परिवारका सदस्यहरू पनि १४औँ महाधिवेशनमा फरक फकर खेमामा पुगेका छन् । यसको लाभ उठाउने देउवाको योजना छ ।सभापतिका उम्मेदवार देउवाले कांग्रेसलाई बलियो बनाउन आफूले सभापतिमा जित्नैपर्ने बताएका छन् । ‘सभापति जिते सरकारलाई पनि हाँकेर लैजान सकिन्छ । सभापति हार्दा प्रधानमन्त्री कमजोर हुन्छ भनेर आलोचना हुन्छ । नेपालको इतिहासले पनि प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भएको खण्डमा स्थायित्व हुन्छ भन्ने छ,’ आइतबार आफूनिकट प्रतिनिधिलाई सम्बोधन गर्दै देउवाले भने, ‘म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ, आफूले सभापतिमा हारेको खण्डमा नैतिक रूपमा बसिरहन मिल्दैन भनेर सबैले हल्ला गर्नेवाला छन्, त्यसैले पनि अहिलेको परिस्थितिमा सभापति जित्नुपर्ने आवश्यकता मैले देखेको छु ।’
सभापतिका अर्का उम्मेदवादर कोइरालाले आफूले जितेमा कांग्रेसलाई सुदृढ बनाउने बताए । ‘हामी अनुभव र ऊर्जासहितको सुदृढ र गतिशील कांग्रेस बनाउन गइरहेका छौँ । नयाँ कार्यक्रम, नयाँ विचारसाथ अगाडि आउनेछौँ । भ्रातृ संस्था र शुभेच्छुक संस्थालाई जिम्मेवार बनाएर लाने प्रण गरेका छौँ । कुनै गुट–उपगुटमा नलागी कांग्रेसलाई सुदृढ बनाउँछौँ,’ आइतबार गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘कांंग्रेसमा नेतृत्व परिवर्तन भएरै छाड्छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको आशीर्वाद प्राप्त भएको छ । देउवाले उद्घाटनमा एउटा व्यक्तिका कारण अधिनायकवाद आउँछ भन्नुभयो, वास्तवमा त्यो सोचाइ नै अधिनायकवाद हो ।’
नेता सिंहले आफूमाथि प्रतिनिधिहरूले न्याय गर्नेमा विश्वस्त रहेको बताए । ‘आमकार्यकर्ताको भावनाअनुसार हाम्रो विचार समूहको उम्मेदवारी हो । पार्टी सुधारको पक्षमा सबैलाई राजनीतिक न्याय दिलाउनु र कांग्रेस शुद्धीकरणका लागि १३औँ महाधिवेशनपछि जिम्मेवारीअनुसार काम भएन । पार्टीभित्रको आन्तरिक लोकतन्त्र बचाउन हाम्रो विचार समूहको उम्मेदवारी हो । मलाई पूरा विश्वास छ– मतदाताबाट लेखाजोखा हुनेछ,’ उनले भने ।
महाधिवेशनस्थल प्रदर्शनीमार्गमा पत्रकारहरूसँग कुरा गर्दै अर्का उम्मेदवार निधिले पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत कसैले नल्याउने र कसैले दोस्रो चरणमा देउवाइतर सबै उम्मेदवार एक हुने बताए । ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन । दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ । त्यसवेला देउवाइतर रहेका हामी सबै एक हुन्छौँ । म, प्रकाशमान र शेखरमध्ये जसको बढी मत आउँछ, सबैले उसैलाई सघाउँछौँ,’ उनको भनाइ छ ।
देउवासँग तालमेल गरेका नेता कृष्ण सिटौलाले सभापति जितेमा देउवाले पार्टीलाई नयाँ उत्साहसाथ एकताबद्ध बनाएर लैजाने दाबी गरे । ‘सिंगो पार्टीलाई एकढिक्का बनाएर देशलाई उच्च मनोबलका साथ हामी निर्वाचनामा जानुपर्छ । त्यसका लागि देउवाको निरन्तरता किन नदिने ?’ उनको भनाइ छ, ‘सभापतिमा निरन्तरता दिनु कांग्रेसमा बाध्यात्मक अवस्था हो । देउवाजस्तो नेता र प्रदीप पौडेलजस्तो युवाहरू बोकेको कांग्रेस महाधिवेशनपछि परिपक्व बन्छ । देउवाले पार्टीलाई नयाँ उत्साह र उमंगका साथ एकताबद्ध बनाएर लैजानुहुन्छ ।’

आज मतदान, ४७४३ मतदाता, ३ मतदान केन्द्र र ११ सय बुथ, २९ प्रकारका मतपत्र
भावी नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिका रूपमा चार हजार सात सय ४३ मतदाता छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार एक सय ६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट महाधिवेशन प्रतिनिधि आएका छन् । निर्वाचनमा २९ प्रकारका मतपत्र व्यवस्था गरिएको छ । मतदानलगत्तै सुरुमा सभापतिको मतगणनाको कार्यसूची निर्वाचन समितिले बनाएको छ । तीन स्थानमा मतदान केन्द्र र एक हजार एक सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदानका लागि राष्ट्रिय सभागृहमा दुई सय ९३, भृकुटीमण्डप प्रांगणमा दुई सय ९३ र भृकुटीमण्डपको हलमा पाँच सय १४ बुथ रहनेछन् ।
महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ÷शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् । भृकुटीमण्डपको प्रांगणमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले मतदान गर्नेछन् । भृकुटीमण्डपको हलमा प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ । बहुपक्षीय प्रतिस्पर्धामा पहिलो चरणमा सभापतिको कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए विधानअनुसार दोस्रो चरणको निर्वाचन गर्नुपर्ने कांग्रेस विधानमा व्यवस्था छ ।
उम्मेदवारको अन्तिम नामावली : १३ पदाधिकारीका लागि ३७ जना मैदानमा
कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याणकुमार गुरुङ गरी पाँचजनाबीच प्रतिस्पर्धा हुनेछ । दुईजना उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्येश्वरी शाह गरी सातजनाको उम्मेदवारी कायमै छ । दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । महामन्त्रीमा डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा. राजाराम कार्कीको उम्मेदवारी यथावत् छ ।
विभिन्न क्लस्टरबाट आउने आठ महामन्त्रीका लागि १९ जनाको उम्मेदवार परेको छ ।एक महिला सहमहामन्त्री पदमा कमला पन्त र डिना महालक्ष्मी उपाध्याय, दलित एक सहमहामन्त्री पदमा मानबहादुर विश्वकर्मा, जीवन परियार र गंगा सुनारको उम्मेदवारी परेको छ । आदिवासी–जनजातितर्फ एक सहमहामन्त्री पदका लागि विकास लामा र भीष्मराज आङदेम्बेको उम्मेदवारी कायमै छ । खस–आर्यतर्फ एक सहमहामन्त्री पदका लागि देवराज चालिसे र किशोरसिंह राठौर प्रतिस्पर्धा गर्दै छन् ।
उम्मेदवारको अन्तिम नामावलीमा मधेसीतर्फ एक सहमहामन्त्री पदमा रञ्जित कर्ण, रामकृष्ण यादव र महेन्द्र यादवको तथा मुस्लिमतर्फ एक सहमहामन्त्री पदका लागि फरमुल्लाह मन्सुर र शेख वकिलको नाम छ । कर्णले आइतबार सा“झ विज्ञप्ति निकालेर आफू चुनावी मैदानबाट बाहिरिएको बताएका छन् । थारूतर्फ एक सहमहामन्त्री पदका लागि तेजुलाल चौधरी र उमाकान्त चौधरीको उम्मेदवारी छ । पिछडिएको क्षेत्रबाट निर्वाचित हुने एक सहमहामन्त्री पदका लागि बद्रीप्रसाद पाण्डे, जीवनबहादुर शाही र चेतराज बजालको उम्मेदवारी कायमै रहेको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कुल एक सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ ।
५७ उम्मेदवारको उम्मेदवारी फिर्ता
१४औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रियामा ५७ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आइतबार दिउँसो १ बजेसम्म निर्धारण गरेको थियो । फिर्ता लिनेमध्ये सभापति पदका उम्मेदवार युवराज न्यौपाने, सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलगायत सदस्यका उम्मेदवार छन् ।
सदस्यहरूमा जंगीलाल राय, सञ्जयकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा, सीताराम महतो, जुनाकुमारी दानी, दीपक अधिकारी, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल, विना पौडेल, भक्तबहादुर बलायर, माया राना, गोपीलाल विक, मीनाकुमारी थापा, विष्णु पौडेल, अनु गुरुङ, शकुन्तला थापा, महेशकुमार कोर्मोचा, सिंहबहादुर राना र संगीता मण्डलले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय सदस्यका उम्मेदवार सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत, माधवप्रसाद आचार्य, केशवबहादुर चन्द, विमल धमला, नीरबहादुर विक, राजुराज जोशी, गजेन्द्रबहादुर हमाल, रवीन्द्रमान श्रेष्ठ, दामोदर भुसाल, हरिमोहन भण्डारी, गणेशबहादुर खत्री, लोकप्रसाद संग्रौला, महेश नेपाली, बाला अधिकारी र मुरारीप्रसाद आचार्यले उम्मेदवारी मनोनयनपत्र फिर्ता लिएका छन् । यसबाहेक डा. खगेन्द्र पाण्डव अधिकारी, देवराज भट्टराई, टेकनारायण महतो, राजेन्द्र जैसवाल, पार्वती शाह, इस्तियाक मोहमद खाँ, वीरबल राई, केशव थापा, माया क्षेत्री बराल कार्की, भूमिप्रसाद राजवंशी, प्रकाश महर्जन, रोहित विश्वकर्मा, टेकनारायण पाण्डे, देवीप्रसाद चौधरी, उत्तमप्रसाद चापागाईं, युवराज गुरुङ, तिलप्रसाद सुब्बा र राजु गोर्खालीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
दुई केन्द्रीय सदस्य देउवा समूहबाट निर्विरोध
महाधिवेशनअन्र्तगत सुरु भएको निर्वाचन प्रक्रियामा केन्द्रीय सदस्यमा दुईजना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश २ बाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुंगाना निर्विरोध निर्वाचित भएका हुन् । उनीहरू दुवैले सभापतिका उम्मेदवार शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिएका थिए । प्रदेशमा एक महिलासहित तीन केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ ।
जसले ह्विलचेयर गुडाउँदै भोट मागे

आइतबार भृकुटीमण्डपमा कांग्रेस उम्मेदवार भोट माग्दै थिए । आफू पक्षधरलाई जिताउन समर्थक पनि नाराबाजीसहित प्रचारमा थिए । यही भिडमा ह्विलचेयर गुडाउँदै भोट मागिरहेका थिए वसन्तबहादुर भुजेल । अपांगतातर्फ केन्द्रीय सदस्यका उम्मेदवार भुजेलले केही सहयोगीका साथ दिनभर राष्ट्रिय सभागृहदेखि भृकुटीमण्डपसम्म ओहोरदोहोर गर्दै महाधिवेशन प्रतिनिधिसँग भोट मागे । ‘मलाई जिताउनुस्, म त्यहाँ पुगेपछि परिवर्तनको पक्षमा काम गर्छु । म कायापलट गरेर देखाइदिन्छु,’ उनी भन्दै थिए । तर, उनको आवाज सुन्ने कमै भेटिन्थे । भुजेल गुल्मी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि बनेर आएका हुन् ।
रामचन्द्र पौडेलले मतदानमा भाग नलिने
संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने योजना सफल नभएपछि सबै तहका प्रतिस्पर्धाबाट बाहिरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने भएका छन् । ‘उहाँ (पौडेल) मतदानका लागि जानुहुन्न । नजाने निर्णय गरिसक्नुभएको छ,’ उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले नयाँ पत्रिकासँग भने ।
पौडेलले प्रतिनिधिहरूलाई विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् । यसअघि आफूलाई सहयोग गर्न आग्रह गर्दै पौडेलनिवास पुगेका सभापतिका उम्मेदवार शेरबहादुर देउवासँगको भेटमा पनि पौडेलले तटस्थ बस्ने बताएका थिए । शनिबार साँझको भेटमा देउवाले आफूलाई सघाउन आग्रह गरेका थिए । तर, पौडेलले निर्वाचनमा आफू कुनै पनि पक्षमा नरेहेको बताएका थिए । ‘तपाईंको खाँचो राष्ट्रलाई छ । महाधिवेशनको समयमा पनि तपाईं चुप बस्न मिल्दैन,’ भेटमा देउवाले राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् ।’
तर, पौडेलले महाधिवेशनका क्रममा भएका कतिपय गतिविधिले आफूलाई खिन्न बनाएको बताएका थिए । ‘म तपाईंलाई सहयोग गर्न सक्छु भन्ने अवस्थामा छैन, निर्वाचनका क्रममा जति पनि गतिविधि भए त्यसमा म सन्तुष्ट हुन सकेको छैन,’ पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘साथीहरूले आफ्नै विवेक प्रयोग गरेर मतदान गर्नुहुन्छ ।’ तत्पश्चात् देउवाले आफ्नो स्वास्थ्यको ख्याल राख्न भन्दै बाहिरिएका थिए ।
निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन मैले सभापति जित्नुपर्छ
शेरबहादुर देउवा
प्रजातन्त्रलाई बचाउनुपर्नेछ, त्यसैले अहिले पार्टी सभापतिमा जिते भोलि कांग्रेसलाई सबै ठाउँमा जिताउनेछु । सभापति जिते सरकारलाई पनि हाँकेर लैजान सकिन्छ । सभापति हार्दा प्रधानमन्त्री कमजोर हुन्छ भनेर आलोचना हुन्छ । नेपालको इतिहासले पनि प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भएको खण्डमा स्थायित्व हुन्छ भन्ने छ । विगतमा पार्टी सभापति एउटा र प्रधानमन्त्री अर्को हुँदा तालमेल मिलेन, त्यसैले विगतबाट पाठ सिकेर कांग्रेसको सभापति र प्रधानमन्त्री एउटै बनाउनुपर्छ । यसका लागि अहिले मौका आएको छ । यो शेरबहादुरका लागि मात्र होइन, राष्ट्र र प्रजातन्त्रको कुरा हो । पार्टी बलियो नभए प्रजातन्त्र कमजोर हुन्छ । म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ र कांग्रेसलाई म बलियो बनाउँछु ।
मतदाताबाट लेखाजोखा हुनेछ भन्ने विश्वास छ
प्रकाशमान सिंह
आमकार्यकर्ताको भावनाअनुसार हाम्रो विचार समूहको उम्मेदवारी हो । पार्टी सुधारको पक्षमा सबैलाई राजनीतिक न्याय दिलाउनु र कांग्रेस शुद्धीकरणका लागि १३औँ महाधिवेशनपछि जिम्मेवारीअनुसार काम भएन । पार्टीभित्रको आन्तरिक लोकतन्त्र बचाउन हाम्रो विचार समूहको उम्मेदवारी हो । मलाई पूरा विश्वास छ– मतदाताबाट लेखाजोखा हुनेछ ।
दोस्रो चरणमा देउवाइतर सबै एक हुन्छौँ
विमलेन्द्र निधि
पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन । दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ । त्यसवेला देउवाइतर रहेका हामी सबै एक हुन्छौँ । म, प्रकाशमान र शेखरमध्ये जसको बढी मत आउँछ, सबैले उसैलाई सघाउँछौँ ।
देउवाजस्तो नेता र प्रदीपजस्तो युवाले बोकेको कांग्रेस परिपक्व
कृष्ण सिटौला
सिंगो पार्टीलाई एकढिक्का बनाएर उच्च मनोबलका साथ हामी निर्वाचनमा जानुपर्छ । त्यसका लागि देउवाजीलाई निरन्तरता किन नदिने ? सभापतिमा निरन्तरता दिनु कांग्रेसमा बाध्यात्मक अवस्था हो । देउवाजस्तो नेता र प्रदीप पौडेलजस्तो युवाहरू बोकेको कांग्रेस महाधिवेशनपछि परिपक्व बन्छ ।
