
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानकै बीच लमजुङमा बलात्कारको घटना सार्वजनिक भएको छ । लैंगिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ ।
यही अभियानकै क्रममा लमजुङमा फरक क्षमता भएकी २५ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको आरोपमा सोमबार राति बेँसीसहर नगरपालिका– १० का ४१ वर्षीय हरिबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार राइनास क्षेत्रमा सामान्य ठेक्कापट्टा गर्दै आएका गुरुङले जबरजस्ती करणी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर थप अनुसन्धान थालिएको छ ।
उनले जिल्ला अदालतबाट मंगलबार म्याद थप गरी अनुसन्धान थालिएको बताए । जिल्ला प्रहरी कार्यालय लमजुङमा चालू आवको साउनदेखि मंसिर २१ सम्म १२ वटा बलत्कारका घटना दर्ता भएका छन् । प्रहरीका अनुसार पीडितहरू अधिकांश कम उमेरका छन् ।