१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २१ मंगलबार १४:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा मुस्लिम समुदायको अवस्थाबारे राष्ट्रसंघको चासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २१ मंगलबार १४:१०:००

संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ। मंगलबार मुस्लिम आयोगका पदाधिकारीहरूलाई आयोगको कार्यालयमा भेट गरी राष्ट्रसंघको एक प्रतिनिधिमण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरूको सम्बन्धमा चासो व्यक्त गरेको हो। 

राष्ट्रसंघको चरम गरिबी र मानवअधिकार हेर्ने विशेष टोलीका संयोजक ओलिभर डे स्कटरको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले आयोगले गरिरहेको काम, मुस्लिम समुदायको शिक्षाको अवस्था, भूगोलअनुसार बसोवासको अवस्थालगायतको विषयमा जिज्ञासा राखेको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए

भेटका क्रममा अन्सारीले आयोगले गरिरहेको काम र मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा जानकारी गराएका थिए। ‘मुस्लिम आयोगले मुस्लिम समुदायको उत्थान र विकासको, त्यसको सशक्तिकरणका बारेमा जुन हाम्रो टिओआर छ, त्योभित्र रहेर हामीले विभिन्न रिसर्च गर्ने काम गरिरहेका छौँ। बढीभन्दा बढी शिक्षा क्षेत्रमा मुस्लिम समुदायलाई सामेल गराउनका लागि शिक्षाबाट वञ्चित भएका महिला, बालबालिकालाई बढीभन्दा बढी स्कुल मदरसामा हामीले पढाउनका लागि जुन प्रयास, कोसिस गरिरहेका छौँ यीलगायतका विषयमा कुरा उठ्यो, उनले भने, २०७८ सालको जनगणनामा बढीभन्दा बढी मुस्लिम समुदायलाई सहभागी हुन हामीले अपिल गरेका थियौँ। विभिन्न जिल्लामा कार्यक्रम गरेको थियौँ। यी सबै कामका बारेमा हामीले जानकारी गरायौँ।’

प्रतिनिधिमण्डलले नेपालको मुस्लिम समुदायको अवस्थाका सम्बन्धमा सन् २०२२ मा जेनेभामा हुने सम्मेलनमा रिपोर्ट पेस गर्ने बताएको अन्सारीले जानकारी दिए।