अस्पतालको तेस्रो तलाबाट हाम फालेर बिरामीले गरे आत्महत्या

शनिबार, ११ मंसिर, २०७८
डिजिटल संस्करण

बिल तिर्न नसकेपछि अस्पतालले बन्धक बनाएका कारण आत्महत्या गरेको आफन्तको दाबी

उपचार गरेको बिल तिर्न नसकेपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा एक बिरामीले तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । धनपालथान गाउँपालिका– १ का शिवकुमार मण्डलले मृत्यु रोजेका हुन् । अस्पताल प्रशासनले भने घटनामा आफूहरूको कुनै गल्ती नभएको दाबी गरेको छ । 

छारेरोगको उपचारका लागि मण्डल ४ मंसिरमा अस्पताल भर्ना भएकोमा ७ गते अस्पतालले डिस्चार्ज गर्ने निर्णय गरेको थियो । तर, अस्पतालमा उनको बिल तिर्न बाँकी थियो । करिब ३६ हजार खर्च भएकोमा १९ हजार तिर्न नसकेपछि अस्पतालले बन्धक बनाएको र सोही कारण मण्डलले आत्महत्याको बाटो रोजेको मृतकका आफन्त कृष्ण मण्डलको दाबी छ । मृतकको आर्थिक अवस्था निकै कमजोर रहेको उनले बताए ।

बिहान ६ बजे उनले अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । उपचारको क्रममा चार घन्टापछि उनलाई मृत घोषणा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान भइरहेको बताएको छ । 

‘परिवारले बिल तिर्न बाँकी थियो, अस्पतालको लापरबाहीका कारण आत्महत्या गरेको बताएको छ, अस्पताल प्रशासनले आफ्नो कुनै गल्ती नभएको दाबी गरेको छ । हामी घटनाको अनुसन्धान गर्दै छौँ,’ मोरङका एसपी जनार्दन बिसीले भने । ७ मंसिरमै डिस्चार्ज भए पनि तीन दिनसम्म अस्पतालमै रहनुले बिरामीको परिवारले पैसा तिर्न नसकेको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । उपचार खर्च तिर्न नसक्दा तथा अन्य कारणले नेपालका अस्पतालमा पटक–पटक बिरामीले आत्महत्या गरेका छन् । 

सुझावित समाचार