१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ९ बिहीबार १६:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले महाधिवेशनमा आठ विदेशी पार्टीका १५ जना अतिथि आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १६:४५:oo

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी आठवटा विदेशी पार्टीका १५ जना पाहुना उपस्थित हुने निश्चित भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार नेकपा (एमाले) विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट आठवटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित हुने निश्चित भएको बताएको हो। 

यसका साथसाथै २५ वटा देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले जानकारी दिए। 

विदेशी पाहुनालाई काठमाडौंमा रहँदा होटेल सोल्टीमा बसोवासको व्यवस्था गरिएको र मंसिर ९ गते (बिहीबार) साँझ एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले रात्रिभोजको आयोजना गरेको जनाइएको छ। 

विदेशी पाहुनाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथि सत्कार समितिले जानकारी दिएको छ। पार्टी अध्यक्ष केपी ओलीले विदेशी पाहुनालाई मंसिर १२ गते बिहान चितवनमा संयुक्त ब्रेकफास्ट मिटिङ गर्ने कार्यसूची रहेको छ। अतिथि सत्कार समितिको अनुसार चितवनमा रहँदा पाहुनाहरूलाई ग्रिन मेनसन जंगल रिसोर्टमा बसोवासको व्यवस्था मिलाइएको छ। 

त्यसैगरी स्थानीय पर्यटकीय क्षेत्रको भ्रमण गराउनुका साथै जिप सफारी र थारू सांस्कृतिक प्रदर्शनीको अवलोकनसमेत गराइने भएको छ। महाधिवेशनमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई निमन्त्रणा गरिएको भए पनि हालसम्म प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रममा सहभागी हुने जानकारी गराएको एमाले दशौँ राष्ट्रिय महाधिवेशन अतिथि सत्कार समितिले जानकारी दिएको छ।