मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Monday, 31 August, 2026
२o७८ मङ्सिर ९ बिहीबार १३:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बोक्सी आरोपमा देवर–भाउजूलाई मलमूत्र खुवाउनेलाई धरौटीमा छाड्न अदालतको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १३:o७:oo

बोक्सी आरोपमा देवर–भाउजूलाई मलमूत्र खुवाई कुटपिट गर्ने आरोपीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत महोत्तरीको ३ नं. बेन्चका न्यायाधीश ध्रुवराज त्रिपाठीले चार लाख धरौटीमा आरोपी औरही नगरपालिका– ९ अगलेसराकी ३५ वर्षीया रामशिला देवीलाई छाड्न बुधबार आदेश दिएका हुन्। यता अदालतमा आरोपीले धरौटी रकम तत्काल बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको छ। 

गत असोज २८ गते बिहीबार नवमीको साँझ औरही नगरपालिका– ९ अगलेसराका ५५ वर्षीय झवसी ठाकुर (लोहार) र उनकी भाउजू ५६ वर्षीया सुनैनादेवी ठाकुरलाई स्थानीय राम कलेवर मण्डलकी श्रीमती ३५ वर्षीया रामशिलादेवी मण्डललगायतका केही व्यक्तिले घरमै मलमूत्र खुवाई कुटपिट र लुटपाट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बोक्सी, कुटपिट र लुटपिट कसुर शीर्षकमा किटानी जाहेरी दिएका थिए। प्रहरीले देवर–भाउजूलाई कुटपिट गरिएको भोलिपल्टै आरोपीमध्येको रामशिला देवीलाई नियन्त्रणमा लिएको थियो। 

पीडित पक्षबाट नाैजनामाथि किटानी जाहेरी दिइए पनि प्रहरीले थप आरोपीलाई नियन्त्रणमा लिन नसकी एकजना अभियुक्तसहित नै मुद्दा अदालतमा पेस गरेको थियो। महोत्तरीमा गत असोजमा बोक्सी आरोपमा भएका तीन घटनामध्ये एकमा महिलाको हत्या नै गरिएको थियो भने थप दुई घटनामा तीनजना पीडितलाई मलमूत्र खुवाइएको, कुटपिट गरिएको र चारपाटे मुण्डनसमेत गरिएको थियो। जिल्ला अदालतले तीनै मुद्दामध्ये महिला हत्या गरिएको र मलमूत्र खुवाई कुटपिट गरिएको मुद्दामा आरोपीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने बुधबार बोक्सीकै आरोपमा मलमूत्र खुवाई कुटपिटसमेत गरिएको मुद्दामा धरौटीमा छाड्ने आदेश दिएको हो।