१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Tuesday, 01 July, 2025
२o७८ मङ्सिर ८ बुधबार १८:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले पार्टी होइन प्रालि, गैँडालाई झन्डा कम्युनिस्टकै बेइज्जत  : माधव नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार १८:२७:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारमा सहकार्य गरिरहेको पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । एकीकृत समाजवादी जिल्ला कमिटी सिराहाले बुधबार लहानमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले संसद् विघटनविरुद्धको आन्दोलन हुँदै पछिल्लो राष्ट्रिय सभाको निर्वाचन र वर्तमान सरकार सञ्चालनमा पाँच दलको सहकार्य र गठबन्धन जारी रहने बताएका हुन् ।

‘केपी ओलीको नेतृत्वमा लोसपा र राजावादीहरूको सरकारलाई च्यूत गर्न बनेको गठबन्धन जनताको चाहना भावनाअनुसार संयुक्त सरकारसम्म आइपुगेको छ, आगामी निर्वाचनसम्म जान्छ,’ नेपालले भने । 

एमाले पार्टी होइन, प्रालि
केपी ओलीले विचार, नीति, सिद्धान्त, पद्धतिलाई तिलाञ्जली दिएर प्राइभेट कम्पनीजस्तो बनाएको आरोप लगाउँदै नेपालले, त्यसैले विद्रोह गरी नयाँ पार्टी गठन गर्नुपरेको उल्लेख गरे । ‘ओलीले एमालेलाई दक्षिणपन्थी भासमा पुर्याएर दास, भजनमण्डलीहरूलाई मात्र काखी च्यापे’ उनले भने ‘हामी जनताको सेवक एमाले बनाउन जीवन लगायौँ, परिवर्तनको झण्डालाई सधैँभरि बोक्दै आयौँ, ओलीको दासत्व स्विकार्न नसकेर विद्रोह गर्न बाध्य भयौँ ।’
    
ओलीसँग टक्करभन्दा पनि विचारको लडाइँ लडेको चर्चा गर्दै उनले भने ‘विधि, पद्धति, विचार, नीति र व्यवहार नै अलग भएपछि एउटै पार्टीमा बस्नुको अर्थ नभएकाले न्याय, समानता, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउन नेकपा एकीकृत समाजवादी गठन गरिएको हो ।’ 

गैँडालाई झन्डा, कम्युनिस्टकै बेइज्जत 
चितवनमा हुन गइरहेको एमालेको महाधिवेशनको सन्दर्भमा उनले सर्वहारा, किसान, मजदुरले बोक्नुपर्ने कम्युनिस्टको झन्डा एमालेले गैँडालाई बोक्न लगाएर कम्युनिस्टकै बेइज्जत गरेको उल्लेख गरे । ‘एमालेमा कम्युनिस्टको झन्डा बोक्न अब किसान, मजदुर छैनन्, योपल्ट गैँडाले बोक्यो, अर्कोपल्ट बाँदरको हातमा पुग्छ,’ उनले भने, ‘एमालेमा वैचारिक विचलन र भड्कावको नमुना हो, गैँडाले कम्युनिस्टको झन्डा बोक्नु ।’ 
    
सत्ता र शक्तिको चरम दुरुपयोग गर्ने ओली नेतृत्वको एमाले पार्टी आगामी चुनावसम्म पत्तासाफ हुने उनको दाबी थियो । ‘राष्ट्रिय सभाको पछिल्लो निर्वाचनबाट नै ओलीको पत्तासाफ सुरु भइसकेको छ,’ उनले भने, ‘प्रदेश २ बाहेक अन्य प्रदेशमा रहेको सरकार पनि च्यूत भएर गठबन्धनको प्रदेश सरकार बनेको छ ।’ कार्यक्रममा अध्यक्ष नेपालले कांग्रेस, एमाले, जसपा र माओवादी केन्द्रबाट करिब एक हजारजनालाई प्रवेश गराएको एकीकृत समाजवादीले जनाएको छ ।