१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७८ मङ्सिर ८ बुधबार ११:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

छुईगोठमुक्त गर्ने अभियानमा जुम्लाको तिला गाउँपालिका

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ८ बुधबार ११:२१:००

छुई अर्थात् छाउपडी प्रथा विशेषगरी कर्णाली र सुदूरपश्चिममा मान्ने चलन छ । यो प्रथाले सदियौँदेखि समाजमा जरा गाडेर बसेको छ । छुई (महिनावारी) र सुत्केरी भएको अवस्थामा महिलालाई गोठ वा छुट्टै छुईखुल्लो बनाएर बस्ने चलन छ । महिनावारी वा सुत्केरी भएको अवस्थामा गोठ वा छुईखुल्लोमा बसाल्दा महिला असुरक्षित हुने र ज्यानसमेत गुमाउने गरेका छन्। गोठमा बस्दा बलात्कारजस्तो जघन्य आपराधिक घटना घट्नेदेखि पाठेघर खस्ने रोग लाग्ने गरेको छ। यी र यस्तै समस्याबाट जोगाउनका लागि जुम्लाको तिला गाउँपालिका र सर्वाेदय विकासका लागि अभियान (सर्वाेदय नेपाल) जुम्लाले छुईगोठमुक्त गर्ने अभियान तीन वर्षअघिदेखि सुरु गरेको हो ।  महिला, पुरुष र धामीझाँक्रीलाई सचेतीकरण गर्दै छुईगोठमुक्त गर्ने अभियान सुरु गरिएको हो । 

पालिका नै छुईगोठमुक्त गर्ने उद्देश्यका साथ गाउँपालिकाले गाउँ, बस्ती र वडा छुईगोठ मुक्त घोषण गर्दै आएको छ । गाउँपालिकाले राँसा, मालापानी, ढिपु, खाोप्री, सुडी, जुम्लाकोट, घोडेसिन, तुही, पोख्री, पुरु, रारालिही, नुवाकोट, रावतवाडा, सापुल्ली, लर्मी, दानीबाडा कठायतवाडा, ढिम्कोट चुलाकोट, खोलीगाउँसहित ३० वटा गाउँबस्ती छुईगोठमुक्त घोषणा गरिसकेको छ । निकट भविष्यमा पालिका नै छुईगोठमुक्त घोषणा गर्ने योजना रहेको तिला गाउँपालिकाले जनाएको छ ।  

छुईगोठमुक्त अभियानमा स्थानीय सरकारसहित जुम्लामा क्रियाशील सामाजिक संघसंस्था सर्वाेदय नेपाल, एक्सन वर्क्स नेपाल, क्याड जुम्ला, फोरएस जुम्लालगायतका संस्थाले  महिला, पुरुष र धामीझाँक्रीलाई छुई प्रथा (महिनावारी)का विषयमा लामो समयदेखि सचेतीकरण गर्दै आएको छ । महिनावारी भएको वेला महिलालाई गोठमा होइन, घरमै बस्न सचेतना जगाएको हो जुन अभियान अहिले सार्थक बनिरहेको छ । अभियानले महिनावारी हुँदा गोठमा होइन घरको सुरक्षित कोठामा बस्न धेरैलाई सहयोग गरेको छ । अभियानले स्थानीय महिला आफ्नो स्वास्थ्य सुरक्षाका लागि छुईगोठ छोडेर घरको सुरक्षित कोठामा बस्न राजी भएका छन् । यहाँका महिनावारी हुने उमेर समूहका महिला महिनावारी भएको अवस्थामा घरभित्रै बसेपछि पालिका नै छुइगोठमुक्त घोषणा हुने अन्तिम चरणमा पुगेको सर्वाेदय नेपाल जुम्लाका निर्देशक कमलराज खत्रीले बताए । 

महिनावारी भएको अवस्थामा छुईगोठमा नबस्ने भन्दै सामूहिक रूपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी विभिन्न गाउँबस्ती छुईगोठमुक्त घोषणा भएका छन् । यो अभियान कुनै धामीझाँक्रीविरुद्ध नभई महिलालाई स्वास्थ्य र सुरक्षित बनाउनका लागि गरिएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले बताइन् । उनले भनिन्, छुईगोठमुक्त घोषणा गर्दा पनि कुनै महिला छुईगोठमा बसेको अवस्थामा स्थानीय सरकार र विभिन्न सामाजिक संघसंस्थाबाट प्रदान गरिने सबै किसिमका सार्वजनिक सेवासुविधाबाट वञ्चित गरिनेसमेत चेतवानी दिइएको छ ।’

यसअघि नेपाल सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा छुईगोठ भत्काउने अभियानसमेत सञ्चालन गरेको थियो ।