१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मर्स्याङ्दी –काठमाडौं प्रसारणलाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा

दुई आयोजना उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– देश विकासको युगमा अघि बढेको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:o९:oo

मर्स्याङ्दी नदी जलाधार क्षेत्रको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं दुई सय २० केभी डबल सर्किट प्रसारणलाइन तथा दुई सय २० केभी मातातीर्थ सबस्टेसन सञ्चालनमा आएको छ । २२०/१३२ केभी, तीन सय २० एमभिए क्षमताको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हो ।

आइतबार काठमाडौंको चन्द्रागिरिमा निर्माण गरिएको सबस्टेसन उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत्को विकासमा गुणात्मक फड्को मारिरहेको तथ्यांकले नै पुष्टि गरिरहेको बताए । उनले देश विकासको युगतर्फ प्रवेश गरेकाले यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्ने बताए । 

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले प्रसारणलाइनलगायत विकास आयोजनामा वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको समस्या समाधान गरी आयोजनाहरू अगाडि बढाउन विकासको साधक बन्न सम्बन्धित निकायलाई निर्देशन दिए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत तीनै तहका सरकार र आम नेपालको लगानीमा जलविद्युत् आयोजना निर्माण अगाडि बढाउन लागिएको बताए । 

नेपालका लागि नर्वेली राजदूत टोरुन ड्रामडालले विद्युत् प्रसारण र वितरण लाइन निर्माणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको बताए । यस्ता पूर्वाधार निर्माणले खाना पकाउन प्रयोग हुने ग्यासको आयातलाई विस्थापित गरी उपभोक्तालाई सस्तो विद्युत् उपभोग गर्न प्रोत्साहित गर्ने उनले बताए । एसियाली विकास बैंकका उपाध्यक्ष यिङमिङ याङले प्रसारणलाइन तथा सबस्टेसन निर्माण ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण कोसेढुंगा भएको बताउँदै ऊर्जा क्षेत्रको विकासमा सहयोग गर्न सधैँ तयार रहेको बताए । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन कटानी तथा जग्गा प्राप्तीसम्बन्धी कार्यलाई सहज एवं छिटो–छरितो नबनाएसम्म विकास आयोजना पूर्वनिर्धारित समय र लागतभित्र सम्पन्न गर्न सम्भव नदेखिएको बताए । 

 करिब आठ अर्ब लागत
नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी –काठमाडौं प्रसारणलाइन आयोजना सुरु गरिएको हो । आयोजनाको लागत करिब आठ अर्ब रुपैयाँ रहेको छ । मस्र्याङ्दी–काठमाडौं प्रसारणलाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्टसँग १६ असार ०७३ मा ठेक्का सम्झौता भई भदौ ०७३ बाट निर्माण सुरु भएको थियो । 

काठमाडौंमा विद्युत् आपूर्तिको मेरुदण्ड
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्किचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी –काठमाडौं दुई सय २० केभी डबल सर्किट प्रसारणलाइन निर्माण गरिएको हो ।

तनहुँ, गोरखा, चितवन धादिङ र काठमाडौंमा निर्माण गरिएका प्रसारणलाइनको लम्बाइ ८२ किलोमिटर छ । प्रसारणलाइनमा दुई सय ३३ वटा टावर निर्माण गरिएको छ । प्रसारणलाइनलाई हाल एक सय ३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । 

मर्स्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारणलाइनबाट आएको करिब एक–एक हजार मेगावाट विद्युत् बाडभन्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब दुई हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारणलाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ ।मर्स्याङ्दी र त्रिशूली नदी बेसिनमा उत्पादित विद्युत् प्रवाह हुने भएकाले काठमाडौं उपत्यकाको भविष्यको विद्युत् मागलाई सम्बोधन गर्न र देशको समग्र विद्युत् प्रणाली सुधार गर्न प्रसारणलाइन तथा मातातीर्थ सबस्टेसन मेरुदण्ड हुने प्राधिकरणले जनाएको छ ।

ad
ad