गुल्मीको दुई नगर र १० गाउँपालिका गरेर १२ स्थानीय सरकार छन् । पछिल्लो १० महिनामा मात्रै जिल्लाका एक सय ७७ विपद्का घटनामध्ये एक सय १२ आगलागीका छन् । इस्मा,मदाने र मुसिकोटमा जंगलको आगो गाउँ पसेपछि ठूलो भौतिक क्षति भएको छ । करिब १२ सय हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । तर, जिल्लामा रेसुंगा नगरपालिकाले ०७२ सालमा खरिद गरेको दमकल मात्रै छ ।
दमकल सार्वजनिक सवारी साधन जस्तै दैनिक आवश्यक हुँदैन् । तर, आगलागीको विपद्मा सवैभन्दा बढि उपयोगी साधन हो । दमकल सवै ठाउँमा पुग्दैन् । किनकी बस्ती पुगेका सडकहरु साँघुरा छन् । तर, मुख्य सडक र छिर्न मिल्ने ठाउँसम्म दमकल पुगेर ठूलो क्षतिबाट जोगाएका कैयन उदाहरण छन् । ७ र ८ बैशाखकै आगलागीको कारण जिल्लामा ८९ घरगोठ र ८३ पशुचौपाय जलेर नष्ट भएका छन् ।
दमकल आवश्यक भएपनि ग्रामिण बस्तीहरुमा स्तरीय बाटो नहुँदा आफुहरुले टयांकरमार्फत काम गरिरहेको रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए । उनले दुई/तीन वटा पालिका मिलेर दमकल खरिद गर्ने र सडक पहुँच भएको ठाउँमा प्रयोग गर्नुनै उत्तम हुने बताए । उनले सवै ठाउँमा लिफ्ट खानेपानीको पाइप लाइनमा गेडवल र पाइप राखेर विपदको बेला प्रयोग गर्न मिल्ने गरेर सात ठाउँमा काम गर्दै गरेको बताए ।
निर्णय हुन्छन् : कार्यान्वय हुँदैनन्
जिल्लामा आगलागीका घटनाहरु वृद्धि भएपछि ३० चैत ०७७ मा तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले स्थानीय तह र समितिका आवद्ध निकायले आगलागी नियन्त्रणका लागि आवश्यक उपकरणहरु खरिद गर्ने निर्णय गरेको थियो । प्रत्येक स्थानीय तह वा भुगोलको आधारमा दुई वा तीन स्थानीय तह मिलेर दमकल तथा आवश्यक थप सामग्री खरिद गर्ने गरेर सर्वपक्षीय छलफल भएपनि वर्षात् सुरु भएपछि निर्णय कार्यान्वयन भएन् ।
सरकार र सरकारका निकायहरु विपद्पछि छटपटी गर्छन् । तर, पुर्व तयारीका बिषयमा संवेदनशिल छैनन् । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले सुरक्षा निकायसहित स्थानीय तहहरुलाई पनि अहिले दमकलको अत्यन्तै महसुस भएकाले भुगोल र दुरी हेरेर खरिद गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘रेसुंगा नगरपालिकाको एउटा दमकल १० ठाउँमा कसरी पु¥याउने । तरपनि कैयन बस्ती र मानवीय क्षतिबाट जोगाएको छ,’उनले भने,‘स्थानीय तहले भुगोल र दुरी हेरेर खरिद गर्दा राम्रो हुन्थ्यो ।’
वर्षेनी आगलागीबाट ठूलो क्षति
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष ०८०/०८१ को १० महिनामा एक सय ७७ विपद्का घटना भएका छन् । जसमा सबैभन्दा बढि आगलागीका एक सय २४ घटना भएका छन् । त्यस्तै चट्याङका पाँच, बाढी डुवानका तीन, पहिरो २६, अविरल बर्षा ११ र हावाहुरीका आठ घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए । ती घटनामा दुई महिला, तीन पुरुष र एक बालक गरेर छ जना मानिस र ८५ पशुचौपायको ज्यान गएको छ ।
३९/३९ जना मानिस र पशुचौपाय घटनामा घाइते छन् । मानवीय बाहेक करिब ४३ करोड रुपैयाँ क्षती भएको छ । प्रहरी कार्यालयका प्रवक्ता पोख्रेलका अनुसार आर्थिक वर्षमा दुई सय तीन विपद्का घटना भएका थिए । ती मध्ये एक सय २६ आगलागीका छन् । चट्याङका आठ, बाढी डुवान सात, पहिरो सात, अविरल वर्षा १६ र हावाहुरीका सात रहेका छन् । गत वर्ष पनि आगलागीबाट छ जना मानिस र २१ पशुचौपायले ज्यान गुमाएका छन् । आगलागीसहितका विपद्का घटनाबाट भने १४ जना मानिसले ज्यान गुमाएका छन् ।
दमकल चालकका दुख : जोखिम छ, बिमा छैन
रेसुंगा नगरपालिका–१ का ३१ वर्षीय कमल पन्थी दमकल चालक हुन् । उनले सात वर्षदेखि दमकल चलाउँछन् । गुल्मीमा एउटा मात्र दमकल छ । आगलागीका घटना धेरै छन । लगातार ४८ घण्टा काम गरेको अनुभव कमलसँग छ । गत वर्ष मात्रै एक सय ५६ ठाउँ आगो नियन्त्रण गर्न पुगे । अहिलेको दौडधुप पनि कम छैन । दमकका कारण कैंयन ठुला जोखिम टरेका छन् । यो पेशामा बिदा भन्ने हुँदैन ।
मोबाइल सिरानीमा राखेर सुत्ने हो । खाना छोडेर हिँडेका कैयौं पल छन् । तर, दमकल चालककै दुःख कसैले सोध्दैन । दमकलमा १२ जना जनशक्ति हुनपर्छ । दुई जना चालक र १० जना सहयोगी हुँदा दुई सिफ्टमा २४ सै घण्टा सेवा दिन सकिन्छ । तर, अहिले एक चालक र एक सहयोगीको भरमा दमकल दौडिएको छ । उनीहरु आफैँ जोखिममा छन् । जोखिम बिमा छैन । फायर सेफ्टी ड्रेस पनि छैन । तालिम पनि सुरुको वर्ष बाहेक पाएनन् । अहिले मासिक २९ हजार पारिश्रमिक छ । कमलले जीवनमा ठुलो आशा देखाएनन् । आफ्नै ठाउँमा परिवारसँग काम गर्न पाएकोमा खुशी छन् ।
तर, खाइपाइ आएको खाना खाजासहितको भत्ता काटिएकोमा भने मन दुखाएका छन । उनी रेसुंगासहित इस्मा, गुल्मीदरवार, रुरु, छत्रकोट र अर्घाखाँचीको छत्रदेबसम्म पुगेर आगो नियन्त्रण गरेका छन् । अर्को स्थानीय तहमा जाँदा चालकलाई भत्ता र एक पटकको न्युनतम ५० लिटर डिजल दिनुपर्ने सहमति छ । तर, त्यही पनि कार्यान्वयनमा छैन । गत वर्ष चार पटक छत्रकोट पुग्दा न भत्ता न डिजल दिएको कमलले गुनासो गरे ।
उनले लुम्छा बजार जोखिममा पर्दा लगातार ४८ घण्टासम्म काम गरेको स्मरण गरे । ०७१ सालबाट रेसुंगा नगरपालिकामा नियुक्ति पाए । नियुक्ती पाउँदा साढे ११ हजार पारिश्रमिक पाउँथे । एक वर्ष कार्यालयको गाडी चलाए । ०७२ सालमा दमकल आयो । पन्थी हलुवा सवारी चालकबाट हेबीमा बढुवा भएपछि ०७३ सालबाट दमकल चलाउन थाले । त्यो बेला साढे १२ हजार मासिक कमाई थियो ।