१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बुधबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पीडा सुनाउँदै मुगुका अग्निपीडित । सोमबार राति भएको आगलागीले गमगढी बजारका २१ घर पूर्ण रूपले नष्ट भएका छन्, कठ्यांग्रिँदो जाडोमा पीडितहरू खुला आकाशमुनि पुगेका छन् । तस्बिर : अच्युतराज भण्डारी
२०७८ मङ्सिर २ बिहीबार ०६:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मुगुका अग्निपीडितले मुख्यमन्त्रीसँग भक्कानिँदै भने-  तपाईंहरूले दिएको राहत राख्ने  ठाउँसमेत छैन, ओत लाग्न वास चाहियो 

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर २ बिहीबार ०६:२६:००

‘पकाउने भाँडाकुँडा छैन, सुस्ताउने बिछ्यौना छैन । आङ ढाक्ने कपडासमेत मागेर लगाउनुपरेको छ । कतिसम्म भने तपाईंहरूले दिएको राहत राख्ने ठाउँसम्म छैन ।’ राहत बाँड्न पुगेका मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष गमगढीकी अग्निपीडित झोबा लामाले सुनाएको विवशता हो यो । सोमबार मध्यरातिबाट लागेको भीषण आगलागीले गमगढीस्थित तल्लो बजारका २१ घर जलेर खरानी भएपछि मुख्यमन्त्री शाही नेपाली सेनाको हेलिकोप्टर चढेर बुधबार घटनास्थल पुगेका थिए ।

अग्निपीडितहरूले शाही र उनीसँगै गएका प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीलाई रुँदै आफ्ना दुःख सुनाए । ‘पतिको मृत्युपछि जसोतसो गरी टुहुरा बच्चा यही घरमा पालेकी थिएँ । अनेक दुःख गरेर बनाएको घर एकछिनमै खरानी भयो । अब टुहुरा बच्चा लिएर म कहाँ जाउँ ?’ झोबाले रुँदै मुख्यमन्त्रीसमक्ष दुःख बिसाइन् । उनीजस्तै घरबारविहीन भएका अरू पीडितले पनि तत्कालै वासस्थानको व्यवस्था गर्न प्रदेश सरकारका अगुवासमक्ष गुहार लगाए । 

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष रुँदै पीडा सुनाउँदै गमगढीस्थित तल्लोबजारका अग्निपीडित ।    तस्बिर : नयाँ पत्रिका

पीडित छिरिङ लामाले प्रदेश सरकारसमक्ष वासस्थानकै माग गरे । ‘ऋण सापट गरेर बनाएको घर, पसल, लत्ताकपडा, खाद्यान्न एकछिनमै खरानी भयो । ढुंगामाटो पन्छाउँदा लगाउन मास्कसमेत उधारो मागेका छौँ,’ मुख्यमन्त्री शाहीसमक्ष आँशु चुहाउँदै उनले याचना गरे, ‘हामीले हाम्रो वासस्थान गुमाएका छौँ । शीर लुकाउने छत छैन । त्यसैले चाँडोभन्दा चाँडो वासको व्यवस्था गरिदिनुस् ।’ अर्का पीडित ठिल्ले लामाले पनि टेन्ट हालेर बस्ने ठाउँसमेत नभएको सुनाए ।

घर बनाइदिने मुख्यमन्त्रीको वाचा
आगो नियन्त्रणमा आएको ३० घन्टाभन्दा बढी समयपछि पुगेका मुख्यमन्त्रीले हेलिकोप्टरमा पीडितका लागि कम्मल, त्रिपाल र ज्याकेट लिएर गएका थिए । राहत वितरण र पीडितका गुनासा सुनेपछि मन्त्री शाहीले प्रदेश सरकारले तत्काल गास र वासको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । ‘स्थानीय, प्रदेश र संघ गरी तीनवटा त सरकार नै छन् । तपाईंहरूका दुःखकष्ट हेरेर बस्न सक्दैनौँ,’ मुख्यमन्त्री शाहीले भने, ‘गाँस र पुनर्वासको व्यवस्था गर्छौं । अब दुःखका आँशु सुखमा बदल्नुस् । धनसम्पत्ति जलेर खरानी भए पनि तपाईंहरूको जीवन बाँचेको छ । सरकारले अब तपाईंहरूको संरक्षण गर्छ ।’ मुख्यमन्त्रीले अग्निपीडितहरूका लागि संकलन हुने राहत जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्न निर्देशन दिए । 

गमगढीस्थित तल्लोबजारका अग्निपीडितका लागि आर्थिक सहयोग जुटाउँदै स्थानीय ।

आगलागीबाट ३५ करोड ५५ लाखको क्षति
आगलागीमा ३५ करोड ५५ लाखबराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै, २१ घरका २५ र बहालमा बसेका ५५ गरी ८० घर परिवार विस्थापित भएको प्रहरीले तथ्यांक सार्वजनिक गरेको छ । प्रहरीले संकलन गरेको विवरणअनुसार घरधनीको २१ करोड २५ लाख तथा होटेल, पसल र भाडामा बस्ने परिवारको गरी १२ करोड ३० लाखबराबरको धनमाल पूर्ण रूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चित्रबहादुर भट्टराईले विस्थापित परिवारले दिएको निवेदनका आधारमा क्षतिको विवरण संकलन गरिएको जानकारी दिए ।

यसैबीच, मारवाडी सेवा समिति काठमाडौंको सहयोग र विष्णु–मेघा फाउन्डेसनको समन्वयमा पीडितहरूका लागि दुई लाख रुपैयाँबराबरको ७० थान न्यानो कम्बल वितरण भएको छ । यस्तै, अग्निपीडितका लागि उद्योग वाणिज्य संघ मुगुले बजारका व्यापारी, बटुवा र अन्य व्यक्तिसँग गरी चार लाख ८० हजार नगद राहत संकलन गरी बुझाएको छ ।