१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ कार्तिक २९ सोमबार ०७:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

६ लेनको सडक बन्यो, तर फुटपाथ बनेन

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २९ सोमबार ०७:१९:००

सम्झौताअनुसार दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने धनगढी–मोहना पुल–अत्तरिया ६ लेन सडक साढे चार वर्षमा पनि सकिएको छैन । सडक कालोपत्रे भए पनि फुटपाथ र सर्भिस लेन नबन्दा यात्रु मर्कामा परेका छन् । रेलिङ लगाउने, रंगरोगन गर्ने, ट्राफिक संकेतहरू राख्नेलगायतका काम पूरा भएका छैनन् ।सडक निर्माणको काम अझै करिब १० प्रतिशत काम बाँकी रहेको धनगढी मोहना पुल–अत्तरिया सडक आयोजना कार्यालयले जनाएको छ । सडक कालोपत्रे भएपछि अन्य कामले गति लिन सकेको छैन । केही समययता त निर्माण कार्य ठप्प नै भएको छ । १४.२ किलोमिटर यो सडकलाई तीन खण्डमा छुट्याएर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७४ जेठमा ठेक्का लगाइएको थियो ।

ब्लकसहितको फुटपाथ बनाउने र सर्भिस लेन ग्राभेल गर्नेलगायतका काम बाँकी रहेको आयोजना कार्यालयका सबइन्जिनियर एवं सूचना अधिकारी भुवन खड्काले जानकारी दिए । डेढ मिटर फुटपाथ र तीनदेखि साढे चार मिटरसम्म सर्भिस लेन रहने उनले बताए । ‘पहिलो खण्डमा फुटपाथमा ब्लक राख्ने काम भइरहेको छ । दसैँ–तिहारका वेला कामदारको अभावमा दुई खण्डमा अहिले काम रोकिएको छ,’ उनले भने । 

 ट्राफिक व्यवस्थापनमा समस्या
सडक निर्माणले पूर्णता नपाउँदा यातायातका साधन व्यवस्थित रूपमा सञ्चालन हुन सकेका छैनन् । ट्राफिक चिह्न, संकेत राख्ने, डिभाइडरहरू राख्नेलगायतका काम पुरा नभएकाले यातायातका साधनलाई लेन अनुशासनको पालना गराउन समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ । मोहना पुलदेखि बोराडाँडीसम्म साढे चार किलोमिटर, दोस्रो खण्ड बोराडाँडी–गेटा साढे चार किलोमिटर र तेस्रो खण्ड गेटा–अत्तरिया छुट्टाछुट्टै ठेक्कामार्फत काम भइरहेको खड्काले बताए । ६ लेनमा भने १० सेन्टीमिटर मोटाइको कालोपत्रे सडक बनेको छ । कोरोनामा लकडाउनको कारण देखाएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेका छन् ।

कोरोनाले प्रभाव पारेको भन्दै चौथोपटक थपियो म्याद
समयमै काम सम्पन्न नभएपछि अहिले चौथोपटक म्याद थप भएको छ । सरकारले कोरोनाले प्रभावित आयोजनाहरूको म्याद थप गर्ने निर्णयअनुसार ६ लेन सडकको अवधि आगामी चैत मसान्तसम्म थप गरेको सूचना अधिकारी खड्काले बताए । सम्झौता भएपछि केही महिनासम्म सडकको क्षेत्राधिकार खाली नहुँदा काम रोकिएको थियो ।पहिलो खण्डमा शर्मा–अमर–नागार्जुन जेभी, दोस्रो खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफे तथा तेस्रो खण्डमा लामा–राजेन्द्र–डाँफेले काम गरिरहेका छन् । एक अर्ब ६५ करोडको लागतको आयोजनाअन्तर्गत निर्माण कम्पनीहरूले भौतिक प्रगतिअनुसार करिब ९० प्रतिशत भुक्तानी लगिसकेका आयोजनाले जनाएको छ ।

लकडाउन तथा कोरोना संक्रमणका वेला निर्माण साग्रमीको अभाव, कामदार नपाउने समस्याले काम प्रभावित भए पनि थपिएको अवधि आगामी चैत मसान्तसम्म पूरा गर्ने निर्माण कम्पनीहरूको भनाइ छ । मुख्य काम सम्पन्न भइसकेको र ससानो काम मात्र बाँकी रहेकाले केही महिनाभित्रै निर्माण सम्पन्न हुने । दुईवटा खण्डमा काम गरिरहेको राजेन्द्र निर्माण सेवाका कार्यकारी निर्देशक रोशन भट्टले बताएका छन् । पूर्व–पश्चिम राजमार्गको अत्तरियादेखि भारतीय नाका गौरीफन्टा जोड्ने भएकाले पूर्वाधार विकास र रणनीतिक रूपमा यो सडक यहाँको महŒवपूर्ण आयोजना हो ।