मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक २७ शनिबार ०९:०९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा दुई सय ६४ जना गणक खटिए : जनगणनामा पहिचान खुल्ने तथ्यांक लेखाउन आग्रह

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २७ शनिबार ०९:०९:००

मेरो जनगणना मेरो सहभागिता भन्ने नारासहित बिहीबारदेखि सुरु भएको जनगणना ०७८ लाई सार्थक बनाउन आग्रह गरिएको छ । संघीय व्यवस्थामा पहिलोपटक भइरहेको जनगणनामा सही विवरण लेखाई आफ्नो सहभागिता जनाउन जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले आग्रह गरेका छन् । उनले  घरघरमा आएका गणकलाई सही तथ्यांक टिपाउन आग्रह गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले आगामी १० वर्षका लागि राज्यले बनाउने नीतिका लागि तथ्यांक महत्त्वपूर्ण हुने भन्दै यथार्थ तथ्यांक लेखाउन अपिल गरेका छन् । जिल्ला जनगणना अधिकारी नारायण रिजालले देशव्यापी रूपमा सुरु भएको जनगणना कार्यअन्तर्गत लमजुङमा दुई सय ६४ जना गणक खटिएको बताए । आवश्यक गणनाका विभिन्न सामग्री लिएर गणकहरू जिल्लाभर खटिएको जनगणना अधिकारी रिजालले बताए । कोही नछुटून् कोही नदोहोरिउन् भन्ने नाराका साथ सुरु भएको जनगणना कार्यका लागि लमजुङमा तीनवटा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । सुपरीवेक्षकले तयार पारेको सूचीकरणबाट आएको डाटाअनुसार लमजुङभर ५६ हजार सात सय ७२ घर छन् ।

३९ हजार चार सय ३४ जनगणना घर र ४४ हजार पाँच सय ९० जनगणना परिवार रहेको जनगणना कार्यालयले जनाएको छ । बेँसीसहरस्थित स्थानीय जनगणना कार्यालयअन्तर्गत बेँसीसहर नगरपालिका, दोर्दी गाउँपालिका र मर्स्याङ्दी  गाउँपालिकामा २५ हजार तीन सय ३३ घर छन् । १७ हजार दुई सय ७७ जनगणना घर छन् । जनगणना परिवारको संख्या २० हजार तीन सय ७९ छन् । मध्य नेपालस्थित स्थानीय जनगणना कार्यालयअन्तर्गत मध्यनेपाल नगरपालिका र क्व्होलासोंथर गाउँपालिकामा घर संख्या १० हजार पाँच सय ९१ छन् । जनगणना घर आठ हजार एक सय २८ र जनगणना परिवार ८ हजार ६ सय ५७ रहेको कार्यालयले जनाएको छ । 

सुन्दरबजारस्थित स्थानीय जनगणना कार्यालयअन्तर्गत दूधपोखरी गाउँपालिका, राइनास नगरपालिका र सुन्दरबजार नगरपालिकामा घर २१ हजार ४८ छन् । यसमा जनगणना घर १४ हजार २९ र जनगणना परिवार १५ हजार पाँच सय ५४ छन् । नेपालले हरेक १०/१० वर्षमा लिँदै आएको जनगणना यस वर्ष १२औँ जनगणना हो । जनगणना कार्यालयले गत भदौ ३० देखि असोज १८ सम्म २० दिन ६९ जना सुपरीवेक्षकलाई खटाएर घरपरिवार सूचीकरण गरेको थियो ।