१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ कार्तिक २३ मंगलबार ०८:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वोच्च अदालतमाथि ओलीको आक्रोश– सेटिङ गरेर सर्वोच्चले प्रधानमन्त्री बन्न रोक्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ कार्तिक २३ मंगलबार ०८:५८:००

एमाले अध्यक्ष केपी ओलीले यथास्थितिवादीहरूसँग सेटिङ गरेर सर्वोच्च अदालतले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बन्न वञ्चित गरेको बताएका छन् । एमाले मोरङले विराटनगरमा गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अमर्यादित, अशोभनीय र लोकतन्त्रविरोधी फैसला गरी सर्वोच्चले आफूलाई रोकेको बताए ।

‘सर्वोच्च अदालतको काम संविधानको व्याख्या गर्ने हो संविधान नै फेर्ने होइन,’ उनले भने, ‘तर, सर्वोच्चले यथास्थितिवादीहरूसँग सेटिङ गरेर मैले प्रधानमन्त्रीमा उम्मेदवारी हाल्न नपाउने फैसला गर्‍याे । उक्त फैसला अमर्यादित र अशोभनीय मात्र होइन, लोकतन्त्रविरोधी पनि हो ।’

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्रीबाट पदमुक्त भएका ओलीले सम्बोधनको क्रममा अधिकांश समय सर्वोच्चविरुद्ध आक्रोश पोखे । ‘दुईतिहाइ जनमत पाएको पार्टीको अध्यक्षले प्रधानमन्त्रीमा उम्मेदवारी नै हाल्न नपाउने भनेर जागिर खानेहरूले फैसला गरे । त्योचाहिँ अग्रगमन हुने अनि जनमतका लागि जनतामा जाने कुराचाहिँ प्रतिगमन हुने ? यस्तो पनि हुन्छ ?’ ओलीले भने ।  उनले आफू र आफ्नो पार्टीविरुद्ध अदालतमा भएका सेटिङहरू बिस्तारै खुल्दै गएको र बाँकी अदृश्य सेटिङहरू पनि खुल्दै जाने दाबी गरे । 

आगामी निर्वाचनमा कांग्रेससँग प्रतिस्पर्धा
अध्यक्ष ओलीले आगामी निर्वाचनमा कांग्रेससँग मात्र एमालेको प्रतिस्पर्धा हुने जिकिर गरे । कांग्रेसबाहेकका पार्टीको जमाना जफत हुने उनको भनाइ थियो । ‘अबको चुनावमा हाम्रो प्रतिस्पर्धा अलि–अलि कांग्रेससँग मात्र हुन्छ, अरूले त जमानत जोगाए भने धन्य,’ ओलीले भने, ‘पाँचदलीय गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी भनेका हुक्के र ढोकेहरू हुन् । कांग्रेसको औँला समाउन पाएनन् भने उनीहरू उठ्न पनि सक्दैनन् ।’ उनले पाँचदलीय गठबन्धनलाई पाँचतिर फर्किएका पञ्चमुखीको संज्ञा दिए । उनले एमाले टुक्रिएर माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी आगामी निर्वाचनपछि सुकेको कागतीजत्रै हुने दाबी गरे ।