बाबुराम भट्टराईको प्रस्ताव– संविधान संशोधन गरौँ

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

जसपा नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान संविधान संशोधन गरी नयाँ ढंगले संघीय व्यवस्था स्थापना गर्नुपर्ने बताएका छन् ।

सिराहाको गोलबजार– ९ डण्डाटोलमा जसपाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा डा. भट्टराईले वर्तमान संविधानले सबै वर्ग, क्षेत्र, समुदाय र लिंगलाई समेट्न नसकेकोले संशोधन गर्न जरुरी भएको बताएका हुन् ।

देशका सबै पार्टीहरूको संयुक्त प्रयासमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सही रूपमा लोकतन्त्र स्थापना हुन अझै नसकेको उनले बताए । 

निश्चित भाषा, जाति त्यसमा पनि हुनेखाने, दलाल, सामन्तहरूकै बोलवाला भएकोले यो अवस्था फेर्न संविधान संशोधनमार्फत समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्न जरुरी भएको उनले बताए । 

आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै उनले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउन संगठन विस्तार, सुदृढीकरणमा जोड दिनुपर्ने बताए ।

सुझावित समाचार