१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ कार्तिक १४ आइतबार १४:३१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मेयरको घरअगाडि फोहाेर फालेर वडाध्यक्षहरूले गरे प्रदर्शन

Read Time : > 1 मिनेट
२०७८ कार्तिक १४ आइतबार १४:३१:००

जनकपुरमा वडाध्यक्षहरूले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन्। चाडपर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइमा ध्यान नदिएको भन्दै वडाध्यक्षहरूले मेयर लालकिशाेर साहको घरअगाडि  फोहोर फालेर विरोध गरेका हुन्। 

उनीहरूले मेयर साहलाई पटक–पटक फोहोर व्यवस्थापनका लागि आग्रह गर्दासमेत कुनै चासो नदिएको आरोप लगाएका छन्। दीपावली नजिकिँदै गर्दा फोहोर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरूले नगरप्रमुख साहलाई मोसो दल्ने चेतावनीसमेत दिएका छन्। वडा नम्बर– ७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापन गर्न मेयर साहले बेवास्ता गरेको भन्दै मेयर साहलाई मासो दल्ने चेतावनी दिए । वडा नम्बर– १ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर– ३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर– ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर– ७ का वडाध्यक्ष जानकीराम साहलगायतले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयअगाडि धर्नासमेत दिएका छन्।

वडाध्यक्ष साहले भने, ‘हामीले योभन्दा पहिला पनि धेरैपटक फोहोर व्यवस्थापन हुनुपर्छ भनेका थियौँ।  तर, मेयर साबले फोहोर व्यवस्थापनका लागि कुनै चासो नै देखाउनुभएन। जनताप्रति उहाँले बेवास्ता गर्नुभयो, उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साबले वास्ता नै गर्नुभएन, फोहोर व्यवस्थापन हुनुपर्छ भनेर ल्यान्डफिल्ड बनाउनुपर्छ भन्दै आएका छौँ। तपाईंले नसके हामी वडाध्यक्षहरूको समूह बनाएर काम गर्छौँ भन्दा पनि उहाँले मान्नुभएन। काम नगर्ने मेयर, गाली खाने हामी वडाध्यक्ष ? उहाँचाहिँ अहिले काठमाडौं घुम्न जाने चाडबाडको वेला, रमाइलो गर्ने ? अब हामी मोसो दल्नुपर्छ भने त्यो पनि दल्नेछौँ।’
 
 प्रहरीले नगरप्रमुख साहको घरअगाडि फोहोर फाल्न नदिएपछि उनीहरूले उपमहानगरपालिकाको कार्यालयअगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए। वडाध्यक्षहरूले फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरूलाई ट्याक्टरसमेत उपलब्ध नगराएको र जनताप्रति बेवास्ता गरेको र आफू भ्रष्टाचारमा मात्र केन्द्रित बनेको आरोप लगाएका छन्।

जनकपुरधाम उपमहानगरपालिकाभित्रका विभिन्न वडामा थुपारिएको फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै नगरप्रमुख साहप्रति जनप्रतिनिधिहरू पनि आक्रोशित बनेका छन्।