मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ असार १० शुक्रबार २१:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनकपुरधामको आगामी बजेट १ अर्ब ८० करोड 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ असार १० शुक्रबार २१:१८:००

जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार उपमहानगरले ८औँ सभामा आर्थिक वर्ष ०७९/८० को लागि कुल १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको अनुमानित बजेट र नीति  तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले आठौँ नगर सभामा बजेट प्रस्तुत गरेका हुन् । आगामी बजेटमा चालुतर्फ १ अर्ब ७ करोड ४१ लाख २७ हजार अर्थात ५९.४५ प्रतिशत र पुँजीगततर्फ ७३ करोड ३० लाख १८ हजार अर्थात् ४०.६ प्रतिशत रकम विनियोजन गरेको छ ।

आन्तरिक स्रोतबाट ८० करोड १ लाख ३८ हजार ९ सय, बाह्य स्रोतबाट १ अर्ब ७० लाख ६ हजार १ सय, आन्तरिक राजश्वबाट १४ करोड ३१ लाख १० हजार, संघ सरकारको राजस्व बाँडफाँडबाट ३१ करोड १४ लाख ८१ हजार र प्रदेश सरकारको राजस्व बाँडफाँडअन्तर्गत १ करोड ७१ लाख ६८ हजार ८ सय बजेट खर्च व्यहोर्नका लागि रकम असुलउपर गरिने उपप्रमुख साहले बताए ।

त्यस्तै, उपमहानगरले विभिन्न शीर्षकमा खर्च गर्नका लागि विभिन्न समितिहरू बनाएर बजेट विनियोजन गरेको छ । आर्थिक विकास समितिका लागि ४ करोड ५६ लाख, सामाजिक विकास समितिका लागि ६७ करोड ४२ लाख, पूर्वाधार विकास समितिका लागि ६४ करोड ६५ लाख १४ हजार, वन वातावरण तथा विपद् व्यवस्थापन विकास समितिका लागि ५ करोड र सुशासन तथा संस्थागत विकास समितिका लागि ४९ करोड ८ लाख ३१ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

जनकपुरधाम उपमहानगरले चालू आर्थिक वर्ष ०७८/७९ का लागि एक अर्ब ५३ करोड ८७ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । जुन पछि संशोधित भएर एक अर्ब ६३ करोड १३ लाख ९० हजार पुगेको थियो ।

 जनकपुरधामलाई धार्मिक पर्यटकको हब बनाउने : मेयर साह 
नगर सभालाई सम्बोधन गर्दै मेयर मनोजकुमार साहले जनकपुरधामलाई धार्मिक पर्यटकको रूपमा विकास गरिने बताए । धार्मिक तथा ऐतिहासिक सहर जनकपुरधामलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सरसफाइ, फोहोर व्यवस्थापन तथा सौन्दर्यीकरणमा जोड दिएको बताए । नीति  तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर साहले ‘सफा स्वच्छ, सुन्दर र सु–संस्कृत जनकपुरधाम उपमहानगरपालिका‘ बनाउने अभियानमा नगरवासीसहित सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताए । 

जनकपुरधामलाई हरित सहर बनाउने वृक्षारोपण, वातावरण प्रदूषण रोक्न प्रत्येक शुक्रबार सवारीको रूपमा साइकल चलाउन सर्वसाधारणलाई आग्रह गरिनेलगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ । एक वडा एक पोखरी सौन्दर्यकरण योजनालाई अगाडि बढाउने उनले बताए ।