१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
हदिश खुद्दार नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा एमाले र लोसपाबीच तालमेल

Read Time : > 1 मिनेट
हदिश खुद्दार, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:१o:oo

राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि मधेस प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादीले तालमेल गरेका छन् । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त दुई सदस्य चयन गर्न १२ माघमा हुने मतदानका लागि एमाले र लोसपाले तालमेल गरेका हुन् । 

बिहीबार जनकपुधारममा दुई पार्टीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरी तालमेल घोषणा गरे । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार दुई सदस्यमध्ये अन्यतर्फ एमालेका उसमान अन्सारी र महिलातर्फ रुपा यादव दुई दलीय गठबन्धको साझा उम्मेदवार बनेका छन् । महिलातर्फ नै एमालेबाट उम्मेदवारी दर्ता गरेकी बिनादेवी साहले यादवलाई समर्थन गरेको घोषणा गरिन् । ‘पार्टी केन्द्रले नै लोसपासँग गठबन्धन बनाएर जाने निर्णय गरेकाले मेरो उम्मेदवारी अब कायम रहेन । मैले लोसपाबाट उम्मेदवारी दर्ता गराउनुभएकी रुपा यादवलाई समर्थन गरेको छु,’ पत्रकार सम्मेलनमा साहले भनिन् । 

सचिव रघुवीर महासेठले तत्काल राष्ट्रिय सभा निर्वाचनका लागि भएको गठबन्धन अन्य निर्वाचनसम्म पनि जान सक्ने बताए । राष्ट्रियताको सवालमा एमाले र लोसपाबीच समनाता रहेको र विचारहरू मिल्दै गएको चर्चा गर्दै महासेठले दुई पार्टीको गठबन्धन लामो समयसम्म चल्ने धारणा व्यक्त गरे । 

लोसपाका प्रदेश अध्यक्ष तथा मधेस संसदीय दलका नेता जीतेन्द्र सोनलले मधेसका सवालमा एमाले अन्य राष्ट्रिय पार्टीभन्दा स्पष्ट र प्रगतिशील रहेको दाबी गरे । ‘मधेश आन्दोलनकारीमाथि लागेको मुद्धा फिर्ता, जन्मसिद्ध नागरिकका सन्तानका लागि नागरिकता, संविधान संशोधन लगायतका विषयमा एमाले सकारात्मक छ,’ सोनलले भने, ‘त्यसैले पनि तत्कालीन समयमा लोसपाले प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन गरेको थियो ।’ गठबन्धन घोषणा कार्यक्रममा एमाले नेता लीलानाथ श्रेष्ठ, जुली महतो, लोसपा सांसदहरू परमेशर साह, जयनुल राइन, रानी शर्मा तिवारीलगायत सहभागी थिए । आगामी २० फागुनबाट मधेश प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका शशिकला दाहाल र समनराज प्याकुरेलको कार्यकाल सकिने भएकाले १२ माघमा मतदान हुन लागेको हो । 

मधेस प्रदेशमा एमाले र लोसपाका अलावा, सत्ता गठबन्धनका तर्फबाट महिलातर्फ माओवादीकी उर्मिला अर्याल र खुलातर्फ जसपाका महमद खालिद उम्मेदवार छन् । नौ हजार आठ सय १६ मतभार रहेको मधेसमा प्रदेश सभा सदस्य एक सय चारजना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख दुई सय ६८ जना छन् । प्रदेश सांसद र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष मतदाता हुन् । प्रदेश सांसदको ४८ र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १८–१८ हुन्छ ।

ad
ad