मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जीवन बस्नेत काठमाडाैं
२०७८ कार्तिक ८ सोमबार ०७:३२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाढीपहिरोले सडक र पुलमा मात्र साढे तीन अर्ब क्षति

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडाैं
२०७८ कार्तिक ८ सोमबार ०७:३२:००

२५ जेठयता परेको वर्षाका कारण आएको बाढीपहिरोलगायतले सडक र पुलमा मात्रै तीन अर्ब ४० करोड क्षति पुगेको छ । सडक विभागले सार्वजनिक गरेको विवरणअनुसार जेठदेखि भदौसम्ममा दुई अर्ब ३५ करोड रुपैयाँको क्षति पुगेको हो । ‘कात्तिकदेखि सुरु भएको बेमौसमी वर्षाले एक अर्ब पाँच करोड रुपैयाँको क्षति पुगेको प्रारम्भिक अनुमान छ’ विभागका महानिर्देशक अर्जुनजंग थापाले भने । देशभर १० किलोमिटरभन्दा बढी सडकमा क्षति पुगेको छ । 

यो वर्ष मात्र अहिलेसम्म दुई सय ४४ ठाउँमा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । त्यसमध्ये ९९ ठाउँमा दुवैतर्फ सञ्चालनमा आएका छन् भने एक सय ३९ ठाउँमा एकतर्फी मात्र सञ्चालनमा रहेको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिए । अहिले पनि देशभर ६ ठाउँमा राजमार्ग अवरुद्ध रहेका छन् । अहिले सार्वजनिक गरिएको क्षतिको विवरण प्रारम्भिक मात्र भएकाले यो बढ्न सक्ने सडक विभागका अधिकारीहरूको भनाइ छ । 

 मध्यपहाडी राजमार्ग तोकिएको समयमा सम्पन्न नहुने
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग तोकिएको समयमा सम्पन्न नहुने जानकारी दिएको छ । पछिल्लो समय आर्थिक वर्ष  २०७९÷८० भित्रमा सक्ने लक्ष्य राखिएको छ । तर, आइतबार संसद्को विकास तथा प्रविधि समितिमा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले तोकिएको समयमा सम्पन्न नहुने निश्चितजस्तै रहेको बताए । उनले सम्पन्न नहुने मुख्य कारण भने बजेटको अभाव रहेको तर्क गरे । ‘थोरै बजेट हुन्छ, काम धरै गर्नुपर्छ’ उनले भने । सचिव श्रेष्ठले बजेट अभाव रहेको बताए पनि सरकारले गौरवका आयोजनामा बजेटको अभाव हुन नदिने नीतिगत निर्णय धेरै पहिले नै गरेको थियो । आव २०६४/६५ देखि निर्माण थालिएको यो आयोजना आव २०७२÷७३ मा सम्पन्न गर्ने लक्ष्य थियो । कुल एक हजार ८७९ किलोमिटरमध्ये अझै २३६ किलोमिटर सडकको ठेक्का लगाउन नै बाँकी रहेको छ । 

यसबाहेक सडक समयमा नै सम्पन्न हुन नसक्ने अन्य कारणमा सडकसीमा निर्धारण नहुनु रहेको छ । सीमा निर्धारण नभएकाले जग्गा अधिग्रहण हुन नसकेको र सडकसीमाको जग्गाको स्वामित्व जनताकै नाममा रहँदा समस्या भइरहेको आयोजना निर्देशक अर्जुनप्रसाद अर्यालले बताए । ‘मध्यपहाडीकै वैदेशिक सहायताका सडकमा मुआब्जा दिने र सरकारले निर्माण गरेका सडक खण्डमा मुआब्जा नदिने हुँदा समस्या भइरहेको छ’ उनले भने । लम्जुङ जिल्लाको सुन्दरबजार, भोर्लेटार र रामबजार, कास्की जिल्लाको भैँसे बाझपाटन याम्दी सडकमा यस्ता समस्या रहेका छन् ।

 मध्यमहाडी राजमार्ग सम्पन्न हुने समयसीमा तोक : विकास समिति
संसद्को विकास तथा प्रविधि समितिले मध्यपहाडी राजमार्ग तोकिएको समयमा सम्पन्न नहुने हो भने कहिले सम्पन्न हुने हो अध्ययन गरी समयसीमा तोक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । एउटा समयसीमा तोक्ने र त्यसमा सम्पन्न नहुने अनि अर्को समयसीमा तोक्ने क्रम बन्द गरिनुपर्ने समितिकी सभापति कल्याणी खड्काले बताइन् । त्यस्तै, बाढीपहिरोले पीडित भएका जनतालाई राहत उपलब्ध गराउन पनि समितिले सरकारलाई भनेको छ । यसबाहेक मध्यपहाडीलगायत सबै राजमार्गको सीमा निर्धारण गर्न निर्देशन दिएको छ । 

 दु्रतगतिमा काम गर्ने कार्ययोजना आवश्यक : मन्त्री यादव
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयसँग दु्रतगतिमा काम गर्ने कार्ययोजना नभएको र त्यस्तो योजना बनाउने तयारीमा रहेको बताइन् । संसदीय समितिमा उनले कार्ययोजनाअनुसार काम गर्ने हो भने सडकको हालत नबिग्रिने दाबी गरिन् । ‘ऐन–कानुनमा भएका त्रुटिका कारण पनि काममा समस्या आएको छ’ उनले भनिन् । त्यस्तै, सार्वजनिक खरिद ऐन संशोधन गर्ने काम उच्च प्राथमिकतामा रहेको जानकारी दिइन् ।