१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
इन्द्रकुमार श्रेष्ठ
२o८१ बैशाख २४ सोमबार o९:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

खोइ राजनीतिले बाटो देखाएको ?

Read Time : > 2 मिनेट
इन्द्रकुमार श्रेष्ठ
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:१४:oo

हाम्रो पुख्यौली  गौरव अविस्मरणीय र राष्ट्रवादी भावनाले भरिभराउ छ । देश त झन् क्षेत्रफलमा सानो भए पनि हिमाल, पहाड, तराई, खोँच, भित्री मधेस, बेँसी, उपत्यका, टार मिलेर बनेको, सयौँ नदीनाला र पर्याप्त वनजंगलले हराभरा स्वर्गको एक टुक्रा नै भइहाल्यो । विश्व समुदायले हामी नेपालीबाट धार्मिक सहिष्णुता, जातीय प्रेम र सामाजिक मेलमिलापको पाठ पढ्न र सिक्दै आएका छन् । तर, असल र इमानदार जनता बस्ने यो सुन्दर, शान्त र स्वर्गसरिको हाम्रो प्यारो देश हाम्रै सन्दर्भमा चाहिँ, ‘माल पाएर पनि चाल नपाए’ जस्तो अवस्थामा छ । 

कुराले मात्र केही नहुने रहेछ ! राष्ट्र र राष्ट्रप्रेमबारे पढ्न, सिक्न, भन्न र बताउन केही बाँकी राखिएको छैन । थुप्रै कवि, लेखकले राष्ट्रिय महिमा गीत, कविता, खण्डकाव्य र महाकाव्य नै लेखिसकेका छन् । रेडियो–टिभीबाट ‘स्वदेश गान’ निरन्तर बजिरहन्छ । कुनै कालखण्डमा राष्ट्रिय हित र लोकतन्त्रका लागि जेलनेलको यातना भोग्ने र जीवन उत्सर्ग गर्ने योद्धाहरूका दर्दनाक कथा–व्यथा पढ्न बाँकी राखिएको छैन ।

विभिन्न तहका पाठ्यपुस्तकमा राखिएका राष्ट्रमहिमा र पुर्खाका बलिदानका कथा विद्यालयमा वर्षैभरि पढाइन्छन् । तैपनि यी सबै खालि पढ्न, सुन्न र सुनाउनकै लागि मात्र भएजस्तो लाग्छ । पढेअनुसार बुझेको, बुझेअनुसार जानेको र जानेअनुसार व्यवहारमा पनि लागू गरेको भए देशको अवस्था पक्कै पनि यस्तो हुने थिएन । देशमा यसरी भ्रष्टाचार बढ्ने पनि थिएन । देश यसरी परनिर्भर हुनुपर्ने थिएन । गणतन्त्र र संघीयताका नाममा देशलाई यति धेरै टुक्रा गरी राजाहरू खडा गरिनुपर्ने पनि थिएन । 

प्रत्येक राष्ट्रवासीले पढ्नुपर्ने, जान्नुपर्ने र बुझ्नुपर्ने सबभन्दा पहिलो पाठ ‘राष्ट्रप्रेम’ नै हो । यो पाठ पढ्नसम्म पढेर र बुझ्नसम्म बुझेर पनि एकरत्ति वास्ता गरिएको छैन । परिणामतः स्वदेशमा रोजगारी सिर्जना नगरी नयाँ–नयाँ देशसँग ‘श्रम सम्झौता’ गर्नुलाई ‘राष्ट्रिय उपलब्धि’ ठानिएको छ । ‘फ्री भिसा, फ्री टिकट’को अवधारणालाई ‘जनमुखी विचार’ मानेर ताली बजाइँदै छ । छिमेकीको स्वार्थअनुरूप सन्धि–सम्झौता गरिएका छन् । भारतले मिचेर आफ्नो बनाएको भूमि समेटेर कागजी नक्सा जारी गर्नुलाई ‘साहसिक काम’ भनेर प्रचार गरिएको छ । 

देशविकासका लागि युवा र दक्ष जनशक्तिको आवश्यकता पर्छ । तर, हाम्रा युवालाई स्वदेशमा टिकाउने होइन, वैदेशिक रोजगारीमा पठाउने वातावरण तयार गरिएको छ । त्यसैले त साक्षर/शिक्षित सबै युवा विदेशतिरै भासिएका छन् । साक्षर युवा त केही वर्ष त्यता काम गरेर पैसा कमाए पनि नकमाए पनि स्वदेश फर्कलान् । मेधावी र शिक्षित युवा भने विदेशी छात्रवृत्तिमा छानिएर/तानिएर उतै पढेर, उतै जागिर खाएर र उतैको ‘ग्रिन कार्ड’ पाएर उतै बसोवास गर्न थाल्छन् । त्यसरी नेपाल छाड्नुलाई ठूलो इज्जत, सान र भाग्यका रूपमा व्याख्या गरिन्छ । विदेशबाट पैसा आउने भएपछि स्वदेशमा बस्नेहरू पनि, विदेशकै उत्पादन खाएर र विदेशमै बनेको लाएर रमाउँदै छन् ।

मुलुकको समृद्धि, विकास र सुशासनका पक्षमा सबैलाई बाटो देखाउनुपर्ने राजनीति आफैँ गुट, उपगुट र व्यक्तिगत स्वार्थमा अल्झिरहेको छ
 

रैथाने ज्ञान, स्थानीय प्रविधि, स्थानीय जडीबुटीको प्रयोग र संरक्षण हराइसकेको छ । नेपाली परम्परा, नेपाली लोकसंस्कृति, नेपाली भाषा, नेपाली भेषभूषा सबैलाई एकातिर मिल्काएर त्यसका ठाउँमा यत्रतत्र विदेशी परम्परा, विदेशी संस्कृति, विदेशी भाषा र विदेशी भेषभूषालाई सत्कार गर्न थालिएको छ । हामीलाई हरेक कुरामा आफ्नै औषधिभन्दा पराईको विष प्यारो लाग्न थालेको छ । 

आफ्नो भन्नासाथ नाक खुम्च्याउने र विदेशको भन्नासाथ अनुहारमा मुस्कान ल्याउने बानी बस्न थालेको छ । यो अवस्थामा सुधार गरी सम्पूर्ण नेपालीमा राष्ट्रप्रेमको भावना जगाएर रोजगारी, विकास, सुशासनका पक्षमा काम गर्नुपर्ने हो । त्यसका लागि ‘राजनीति’ले बाटो देखाउनुपर्ने हो । तर, यस्तो राष्ट्रिय महत्वको गम्भीर विषयमा पनि राजनीति आफैँ गुट, उपगुट र व्यक्तिगत स्वार्थमा अल्झिरहेको छ ।

देश र जनतालाई केन्द्रमा राखेर गरिने राजनीतिमा युवालाई परिचालन गरिएको हुन्छ । तर, यहाँ न त राजनीतिमा ‘राष्ट्रप्रेम’ले स्थान पाएर देशको सर्वतोमुखी हितका लागि युवावर्गले नेतृत्व गर्न पाएका छन् । न त त्यस्तो वातावरण नै छ । बरु, स्वदेशमै बाँकी रहेका अधिकांश युवा पनि काम न काजका नेता र तिनका राजनीतिक दलका ‘आज्ञाकारी कार्यकर्ता’ बनेर समय बिताउँदै छन् । तिनीहरू आफ्ना खराब नेताको बचाउ गर्न र कुनै वेला भिड देखाउने काममा प्रयोग भइरहेका छन् । परिणामतः समृद्धिका गफ दिने साराका करेसाबारी बाँझै छन् ।

सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको स्थिति क्रमशः बिग्रिँदै गएको छ । हाम्रा आफ्नै परराष्ट्र नीतिका मार्गदर्शक सिद्धान्त र सञ्चालनका आधार हुँदाहुँदै त्यसलाई पूरै बेवास्ता गरिँदै छ । यसअघि एकपछि अर्को गरी धेरै नदीनाला बेचिसकिएका छन् । पछिल्लो समयमा एमसिसी सम्झौताको विषयले राष्ट्र नै तरंगित भइरहेको छ । एमसिसी सम्झौता गलत हो भन्ने सामान्य नेपालीले पनि बुझिसकेको अवस्थामा, केही कथित ठूलाबडा नेताहरू यसको समर्थनमा कुर्लिंदै छन् । पहिला एमसिसीको विरोध गर्ने कतिपय नेताहरू पनि मन्त्री हुन पाएपछि मौन भइसकेका छन् । यसरी त कसरी बन्ला र यो देश ?

ad
ad