१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
झापाको दमक नगरपालिका– ७ पशुहाटस्थित सुकुमबासी बस्ती कटान गर्दै रतुवा खोला । बस्तीका सात घर बाढीले बगाइसकेको छ भने १७ घर उच्च जोखिममा छन् । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७८ कार्तिक ४ बिहीबार १०:०३:००
Read Time : > 8 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाढीपहिरोमा मृत्यु हुनेको संख्या ९२ पुग्यो, ३६ बेपत्ता

Read Time : > 8 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७८ कार्तिक ४ बिहीबार १०:०३:००

आइतबार सुदूरपश्चिमबाट सुरु भएको बेमौसमी वर्षा पूर्वी नेपालसम्म पुग्दा ठूलो मानवीय क्षति, कृषिबाली र अन्य भौतिक नोक्सानीको लेखाजोखा नै छैन 

चार दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर बुधबार रातिसम्म ९२ जनाको मृत्यु भएको छ । २२ घाइते भएका छन् भने ३६ जना बेपत्ता छन् । 

सुदूरपश्चिमदेखि पूर्वसम्मका १७ जिल्लामा बाढीपहिरोले मानवीय क्षति निम्त्याएको छ । मंगलबारसम्म पश्चिमका जिल्ला बढी प्रभावित भएकामा बुधबार पूर्वमा बढी क्षति भएको छ । प्रदेश १ का ६ जिल्लामा मात्रै ५२ जनाको मृत्यु भएको छ ।

पाँचथरमा सबैभन्दा धेरै २४ जनाको मृत्यु भएको छ । आठ बेपत्ता छन् भने ६ जना घाइते छन् । उनीहरू सबै बुधबार पहिरोमा परेका हुन् । डोटीमा पहिरोमै पुरिएर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । मंगलबार नौको मृत्यु भएकोमा बुधबार ६ जना थपिएका हुन् । पाँचजना घाइते छन् । त्यस्तै, इलाममा पहिरोमा परेर १३ को मृत्यु भएको छ । तीनजना बेपत्ता छन् भने दुईजना घाइते भएका छन् । 

बझाङ र हुम्लामा पहिरोमा परी सात–सातजनाको मृत्यु भएको छ । बझाङमा थप २१ बेपत्ता छन् । पहिरोमै परेर धनकुटामा ६ जनाको ज्यान गएको छ भने पाँच घाइते छन् । त्यस्तै, सुनसरीमा बाढीपहिरोमा पाँच र बैतडीमा पहिरोमा चारजनाको मृत्यु भएको छ । बैतडीमा दुईजना घाइते छन् ।

उदयपुर र डडेल्धुरामा दुई–दुईजनाको मृत्यु भएको छ । उदयपुरमा बाढीले बगाएको हो भने डडेल्धुरामा पहिरोमा परेका हुन् । डडेल्धुरामा अर्का एक घाइते छन् । मोरङ, भोजपुर, कपिलवस्तु, कैलाली, कालिकोट, प्युठान र सोलुखुम्बुमा बाढीपहिरोमा एक–एकजनाको ज्यान गएको छ । कालिकोटमा एकजना घाइते छन् । त्यस्तै, प्युठानमा दुई तथा कपिलवस्तु र जुम्लामा एक–एकजना बेपत्ता छन् ।

डोटी : बाढीपहिरोका कारण डोटीमा बुधबार थप ६ जनाको ज्यान गएको छ । यससँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ । सायल गाउँपालिकामा पाँच र बोगटान फुड्सिल गाउँपालिकामा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए । 

प्रहरी निरीक्षक चन्दका अनुसार बुधबार सायल– ४ का उमेर नखुलेका जंगी विष्ट, वडा नं. ५ का ५८ वर्षीय लहरे लुहार, ५८ वर्षीय हिरूवा लुहार र ७५ वर्षीय देव डुम्रेलको पहिरोमा परेर मृत्यु भएको छ । एकजनाको पहिचान खुलेको छैन । बोगटान फुड्सिल गाउँपालिका– ५ का चन्द्रा नेपालीको पनि पहिरोमा परेर ज्यान गएको छ । 

बझाङ : बझाङका दुई ठाउँमा मंगलबार गएको पहिरोमा पुरिएका २८ मध्ये बुधबार सातजना मृत भेटिएका छन् । खप्तड छान्ना गाउँपालिकामा पाँच र थलारा गाउँपालिका डिख्लामा दुई शव भेटिएको हो । थलारा पहिरोमा परेका २१ जना अझै बेपत्ता छन् । बुधबार भेटिएका दुईको पनि सनाखत हुन सकेको छैन । छान्ना पहिरोमा मृत्यु भएका पाँचजनाको भने पहिचान खुलेको छ । छान्ना– ४ माझीगाउँका धर्मराज रोकाया, उनकी श्रीमती जयसरा, ५ कालुखेतीका वीरु गिरी, उनकी श्रीमती चन्द्रा र धनराज जोशीको शव एक्स्काभेटरको सहायताले निकालिएको स्थानीय वीरेन्द्रबहादुर सिंहले जानकारी दिए । बझाङका प्रहरी प्रमुख डिएसपी रूपक खड्काले सञ्चार सम्पर्क नभएकाले घटनाबारे ढिलो जानकारी आएको बताए । छान्ना पहिरोमा परेर तिखाढुंगाका रामबहादुर सिंह, मानबहादुर सिंह, मंगलबहादुर सिंह, दलबहादुर सिंह र हस्तबहादुर सिंहका परिवार विस्थापित भएका छन् । 

धनकुटा : चौबिसे गाउँपालिका– १ स्थित बुधबारे बजारमा पहिरोले घर पुर्दा ६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षका नाति विनोद, पाँच वर्षकी नातिनी निर्जला, पाहुना आएका दमक नगरपालिका– ११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षका दिप्सन श्रेष्ठ छन् । सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी दीपककुमार रायाले जानकारी दिए । सोही घरमा पुरिएर अन्य ६ जना घाइते भएका छन् । ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लीला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले जानकारी दिए । 

बैतडी : बैतडीको शिवनाथ गाउँपालिका– ६ बसेडीका रामी पार्कीको घर बगाउँदा दुई बुहारी र एक नातिको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षका सोम छन् । बैतडीकै सूर्नया गाउँपालिका– ५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षीया परुदेवी महराको पनि ज्यान गएको छ । कर्णाली नदीको बाढीमा परेर कैलालीको टीकापुर नगरपालिका– ८ कालिमाटीका करवीरे ढोलीको मृत्यु भएको छ । 

मोरङ : विराटनगर महानगरपालिकाको १, २, ७, ८, ११, १२, १५, १७, १८ नम्बर वडाका सयौँ घर डुबानमा परेका छन् । बुढीगंगा गाउँपालिका १ र २ का प्रायः सबै घरमा पानी छिरेको छ । रतुवा खोलाको तटबन्ध फुटेर गाउँमा बाढी पस्दा रतुवामाई नगरपालिका– ७ मा ३० घर डुबानमा परेका छन् । 

हुम्ला : खार्पुनाथ गाउँपालिका– ५ खर्पेल गाउँमा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनाको मृत्यु भएको छ । बुधबार उनीहरूको शव भेटिएको छ । ७० वर्षीय धनवीरे शाही, उनका ५५ वर्षीय ज्वाइँ कलबहादुर शाही, ४० वर्षीया छोरी आशा, तीन नातिहरू १३ वर्षीय अलिन्द, पाँच वर्षीय हुमेश र तीन वर्षका जसबहादुरको शव बुधबार भेटिएको हो ।

कालिकोट : कालिकोटको महावै गाउँपालिका– ७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा १८ वर्षीया छोरी स्मृतिको मृत्यु भएको छ । ११ वर्षीया युनिषाको खुट्टामा चोट लागेको छ । जुम्लाको हिमा गाउँपालिका– ६ बागबजारकी ३३ वर्षीया रन्ना शाहीलाई हिमा नदीले बगाएको छ । नदीले ल्याएको दाउरा निकाल्न जाने क्रममा उनी बगेकी हुन् । कालिकोटकै रासकोट नगरपालिका– ८ पलातीवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनका १३ वर्षका छोरा बाँचु न्यौपाने गोठबाट घरतर्फ फर्कने क्रममा घरनजिकै पहिरोमा परी घाइते भएका छन् । नन्दुको दुवै खुट्टामा चोट लागेको छ भने बाँचुको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । कालिकोट तिलागुपा नगरपालिका– ९ लुब्रैस्थित तिला नदीको किनारमा रहेको भेडीगोठमा रहेका नौ घरका एक सय ३० भेडा बगेका छन् ।

सुर्खेत : कर्णाली नदीमा आएको बाढीले सुर्खेत–कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मंलबारको बाढीले सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बगाएको हो । अनक कन्स्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको सो पुलका सामग्रीमा सरिया, ग्याभिनतार र मिक्चर मेसिन बाढीले बगाएको प्रहरीले जनाएको छ । बाढीले क्रेन डुबाएको छ । बाढीको जोखिम बढेपछि नदी किनारमा रहेको दैलेखको रामघाट बजारका २० घर स्थानान्तरण गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

पाँचथर : पहिरोमा परेर पाँचथरमा २४ जनाले ज्यान गुमाएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीन राईले जानकारी दिए । ज्यान गुमाउनेमा फिदिम– ४ की २२ वर्षीया ममता लिम्बू, उनका चार वर्षीय छोरा रोयन, मिक्लाजुङ– ५ का धनबहादुर लावती, चन्द्रकला राई, मनबहादुर राई, विमला श्रेष्ठ, विष्णु लावती, सविता लावती, अनिल राई, अनिता चोङबाङ, प्रताप चोङबाङ, पदमसिंह चोङबाङ, सुरज चोङबाङ, हर्कमाया लावती, बबिन राई, अनिल राई र मगर साइल छन् । यस्तै, मिक्लाजुङ– १ का सन्तोष नेपाली, मिक्लाजुङ– २ का डम्बरकुमार शेर्मा, मनमति शेर्मा र नुशा शेर्मा, फाल्गुनन्द गाउँपालिका– १ का फुर्वा तामाङ, फाल्गुनन्द– ३ का योगेश तामाङ, फाल्गुनन्द– ४ की रामप्यारी तुम्बापोको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाम : इलाममा १३ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । मंगलबार राति गएको पहिरोमा परेर फाकफोकथुम– ३ सल्लेरीका एकै परिवारका चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रनजता कटुवाल, निशानी कटुवाल, निश्चित कटुवाल र नैनसिंह कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै, पहिरोमा परी फाकफोकथुम– १ की विना शर्मा, सूर्योदय– ३ की नारायणदेवी मोतेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सूर्योदय– ३ का आमाछोरा विष्णुमाया र विशाल तामाङ तथा माङसेबुङ– ६ की कविता राई र हरिप्रसाद राईले पनि पहिरोमा परेर ज्यान गुमाएका छन् । इलाममा माई नगरपालिका– ३ की तेजमाया राईको रूखको हाँगाले लागेर मृत्यु भएको छ । देउमाई– २ की सरिता आचार्यको खोलाले बगाएर मृत्यु भएको छ । प्राकृतिक विपत्तिमा परी इलाममा दुईजना बेपत्ता भएका छन् । उनीहरूको पहिचान नखुलेको एसपी श्रेष्ठले जानकारी दिए । 

सुनसरी : मंगलबार र बुधबार गरी सुनसरीमा पाँचजनाले ज्यान गुमाएका छन् । दुईजनाको पहिरोका कारण र तीनजनाको खोलामा बगेर मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीको धरान– १३ का मिसु राई र निहाङ राईको पहिरोले घर पुर्दा मृत्यु भएको छ । मंंगलबार दिउँसो पौने २ बजे घरमाथिबाट पहिरो झरी निसान राईको कच्ची घर पुर्दा उनका दुई छोराछोरीको ज्यान गएको हो । यस्तै, सुनसरी इटहरी– ५ का चन्द्रमणि काफ्ले, धरान–२० का झगेन्द्र राई र धरान– ६ का विष्णु सुनुवारको खोलामा बगेर मृत्यु भएको प्रहरीले जनाएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका– ६ का मानबहादुर राईको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मोरङ विराटनगर– १२ का इसान भुजेलको खोल्सीमा बगेर मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । 

उदयपुर : लगातारको वर्षापछि खोलाले बगाएर उदयपुरमा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उदयपुरको त्रियुगा नगरपालिकाका टुपबहादुर खड्का र उदयपुरगढी– ८ का कृष्णबहादुर खड्काको मृत्यु भएको हो । खोला तर्ने क्रममा दुवैलाई त्रियुगा खोलाले बगाएको हो । 

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरामा दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका– १ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी र गन्यापधुरा गाउँपालिका– ३ की ६५ वर्षीय नर्मदादेवी शाही छन् । 

कपिलवस्तु : बुद्धभूमि नगरपालिका– १० ढडिहवाकी ३२ वर्षीया सीता थारूको नालामा डुबेर मृत्यु भएको छ । उनीसँगै रहेकी सोही ठाउँकी १२ वर्षीया सिर्जना बेपत्ता भएकी छिन् । 

झापा : झापाको दमक नगरपालिका– ७ पशुहाटकी सुभद्रा श्रेष्ठलाई गत असारदेखि भदौसम्म रतुवा खोलाको कटानले घर बगाउला कि भन्ने चिन्ता थियो । तर, मध्य बर्खामा घर जोगिएपछि उनी खुसी भइन् । तर, सुभद्राको खुसी धेरै दिन टिकेन । मध्य बर्खामा जोगिएको घर बेमौसमी वर्षाले बगाइदियो । 

अन्यत्र एक चपरी माटो नभएकी सुकुमबासी सुभद्रालाई अब चारजनाको परिवारले कहाँ शिर लुकाउने भन्ने चिन्ता छ । ‘घर भएको जग्गामा अहिले रतुवा खोला बगिरहेको छ । दुःख गरेर जोडेका सामग्री पनि निकाल्न पाइएन । अब कहाँ जानु ?,’ उनले भनिन् । सोही ठाउँका कृष्णबहादुर श्रेष्ठको पनि घर बगायो । ०४७ सालदेखि रतुवा खोलाको डिलमा सुकुमबासी जीवन बिताइरहेका श्रेष्ठको पनि बिचल्ली भएको छ ।

बाढीले दुई सय मेगावाट विद्युत् अवरुद्ध

बाढी पहिरोले पूर्वमा मोरङ, सुनसरी र सुदूरपश्चिममा बझाङ, बाजुरा, डोटी, दार्जुलामा विद्युत् आपूर्ति बन्द, शुक्रबारसम्ममा सबै ठाउँमा विद्युत् सञ्चालमा आउने अनुमान

राष्ट्रिय राजमार्ग आठ ठाउँमा अवररुद्ध
बाढीले देशभर आठ ठाउँमा राजमार्ग अवररुद्ध गरेको छ, एक सय ३४ ठाउँमा एकतर्फी सडक सञ्चालन भइरहेको छ 

मुस्ताङ भ्रमणमा हिँडेका  पर्यटक बाटैमा अलपत्र
बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–३ को राहुघाट र अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरको पहिरो तथा मुस्ताङको मार्फा खोलामा आएको बाढीले सडक अवरुद्ध, पर्यटक अलपत्र ।

विराटनगर विमानस्थल डुबानमा, दुई दिनमा करिब एक सय उडान रद्द

अत्यधिक वर्षाले नजिकैको बस्ता खोला र माथिल्लो सतहबाट आएको बाढीले विराटनगर विमानस्थलको धावनमार्गसमेत डुबानमा परेको छ । विमानस्थल परिसरमा करिब तीन फिट जति पानी थियो । धावनमार्ग र परिसरमा बाढी पसेकाले बुधबार कुनै पनि उडान हुन सकेन । बिहान वर्षा रोकिए पनि अत्यधिक पानी रहेकाले बिहीबार पनि नियमित उडान भर्न कठिनाइ हुने विमानस्थल प्रमुख उत्सव पोखरेलले बताए । ‘पानी घटेपछि धावनमार्गमा जमेको हिलो सफा गरेपछि मात्र नियमित उडान भर्न सकिन्छ,’ उनले भने । विराटनगर विमानस्थलमा मंगलबार पनि उडान हुन सकेको थिएन ।  वर्षाकै कारण मंगलबार र बुधबार देशभरका करिब सय उडान रद्द भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

मृतकको परिवारलाई सरकारले दुई लाख राहत दिने, घाइतेको उपचार खर्च व्यहोर्ने 
आवास, खाद्यान्न बाली, जग्गाजमिन र व्यवसायमा क्षति व्यहोरेका परिवारलाई तत्काल १५ देखि २० हजार

सरकारले बाढीपहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही दुई लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ । एकभन्दा बढी सदस्य गुमाएका परिवारको हकमा भने प्रतिव्यक्ति थप एक लाखका दरले राहत दिने बुधबारको मन्त्रिपरिपषद् बैठकले निर्णय गरेको हो । 

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार दिनदेखिको वर्षाका कारण प्रभावितहरूलाई राहत, क्षतिपूर्ति र उपचार खर्च दिने निर्णय भएको बताए । उनका अनुसार विपत्बाट घरबार, आवास गुमाएका, खाद्यान्न बाली, जग्गाजमिन तथा व्यवसायमा क्षति व्यहोरेका परिवारहरूलाई तत्काल १५ देखि २० हजार नगद सहायता उपलब्ध गराउने निर्णय पनि भएको छ । यस्तो क्षति व्यहोरेका पाँचजनासम्म सदस्य भएका परिवारले १५ हजार र पाँचभन्दा बढी सदस्य भएका परिवारले २० हजारका दरले पाउनेछन् । सबैखाले राहत एकद्वार प्रणालीबाट वितरण गरिने प्रवक्ता कार्कीले बताए । 

मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट क्षति पुगेका सडक, पुल, दूरसञ्चार, विमानस्थलजस्ता महत्वपूर्ण संरचनाहरू मर्मतसम्भार गरी तत्काल सञ्चालनमा ल्याउने निर्णय पनि गरेको छ । विपत्बाट भएको सबैखाले क्षतिको आकलन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए । 

बाढी र पहिरोबाट ११ वर्षमा २१ सयको मृत्यु 
०६८ देखि ०७८ कात्तिक ३ सम्म बाढी र पहिरोका कारण मात्रै मुलुकभर दुई हजार एक सय ३२ जनाले ज्यान गुमाएका छन् । ११ वर्षको यो अवधिमा १९ अर्ब ९५ करोड रुपैयाँबराबरको धनमाल नष्ट भएको छ । 

गृह मन्त्रालयको तथ्यांकअनुसार यस अवधिमा ३७ हजार तीन सय ५२ घर क्षतिग्रस्त बनेका छन् । ०६८ मा बाढीपहिरोबाट दुई सय ३९ को मृत्यु भएको थियो । १२ सय ७७ घरमा क्षति पुगेको थियो । सो वर्ष ५५ करोड ७८ लाख रुपैयाँबराबरको भौतिक क्षति भएको थियो । 

०६९ मा ७७ को मृत्यु भएको, पाँच सय ८८ घरमा क्षति पुगेको र ४१ करोड ९७ लाख मूल्यबराबरको क्षति भएको गृहको तथ्यांक छ । ०७० मा बाढीपहिरोबाट दुई सय १० को मृत्यु, पाँच सय ६५ घरमा क्षति र १८ करोड ९४ लाखबराबरको क्षति भएको थियो ।

०७१ मा बाढीपहिरोबाट एक सय ४२ को मृत्यु, ११ हजार दुई सय नौ घरमा क्षति र १४ अर्ब ९४ करोडबराबरको भौतिक क्षति भएको गृहको तथ्यांकमा उल्लेख छ । त्यस्तै, ०७२ मा एक सय ३५ को मृत्यु, दुई सय ३५ घरमा क्षति र १७ करोड ४२ लाखबराबरको भौतिक क्षति भएको थियो । ०७३ मा दुई सय ४८ को मृत्यु, एक हजार पाँच सय ६२ घरमा क्षति र ८४ करोड १३ लाखबराबरको भौतिक क्षति भएको थियो ।

गृहका अनुसार ०७४ मा दुई सय ४१ को मृत्यु, १४ हजार तीन सय २९ घरमा क्षति र ८७ करोड ८५ लाखबराबरको भौतिक क्षति भएको थियो । त्यस्तै, ०७५ मा एक सय पाँचको मृत्यु, आठ सय ६२ घरमा क्षति, १६ करोड ८३ लाखबराबरको भौतिक क्षति भएको थियो । ०७६ मा एक सय ५६ को मृत्यु, पाँच हजार ७६ घरमा क्षति र एक अर्ब ४६ करोडबराबरको भौतिक क्षति भएको थियो । 

०७७ मा तीन सय ४३ को मृत्यु, ६ सय ६८ घरमा क्षति र ९९ करोड ७७ लाखबराबरको भौतिक क्षति भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । त्यस्तै, ०७८ को वैशाखदेखि ३ कात्तिकसम्म दुई सय ३६ को मृत्यु भएको छ भने ६९ बेपत्ता छन् । नौ सय १८ घर क्षतिग्रस्त बनेका छन् । २६ करोडबराबरको धनमालमा क्षति पुगेको छ ।