१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
बर्दियाको बाँसगढी नगरपालिका– ८ वनगौरी क्षेत्रमा भएको डुबान । तस्बिर : यज्ञप्रसाद सापकोटा/नयाँ पत्रिका
यम बम काठमाडौं
२०८० श्रावण २९ सोमबार ०७:२७:००
Read Time : > 4 मिनेट
समाचार प्रिन्ट संस्करण

बाढीपहिरोले दुई महिनामा ४६ को मृत्यु, २९ बेपत्ता

सोमबार पनि देशभर वर्षाको सम्भावना, सुदूरपश्चिम र कर्णालीमा भीषण वर्षा हुने आकलन

Read Time : > 4 मिनेट
२०८० श्रावण २९ सोमबार ०७:२७:००

बर्खाका झन्डै दुई महिनामा मुलुकभर बाढीपहिरोमा परी ४६ जनाले ज्यान गुमाएका छन् । २९ जना बेपत्ता र ५८ जना घाइते भएका छन् । गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार ३१ जेठदेखि २८ साउनसम्म बाढीपहिरोका ६ सय १४ घटना रेकर्ड भएकामा पाँच हजार ६ सय ६८ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले एक सय ५५ घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ६ सय ७९ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोले जलविद्युत् आयोजना, पुल, सडकसहितका भौतिक संरचनाबाहेकमा नौ करोड ८३ लाखको क्षति भएको छ । यस अवधिमा सबैभन्दा बढी प्रभावित ताप्लेजुङ, पाँचथर र संखुवासभा भएका छन् । 

असार पहिलो साताको बाढीपहिरोले तीनवटैै जिल्लामा तीन–तीनजनाको मृत्यु भएको छ । संखुवासभामा मात्र १९ जना बेपत्ता भएका छन् । ताप्लेजुङ र पाँचथरमा तीन–तीनजना बेपत्ता भएका छन् । संखुवासभामा ५३ घरपरिवार प्रभावित हुँदा १२ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ताप्लेजुङमा एक हजार चार सय ३२ घरपरिवार प्रभावित हुँदा ३६ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । पाँचथरमा दुई सय ६६ घर प्रभावित हुँदा २२ घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् ।

मानवीय क्षतिका हिसाबले सबैभन्दा बढी प्रभावित ओखलढुंगामा पहिरोमा परी चारको मृत्यु भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बाढीपहिरो पीडितको उद्धार र राहतको काम भइरहेको बताए । ‘उद्धारका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालित छन् । जिल्ला विपत् कोषमार्फत राहत बाँड्न हामीले एक अर्ब निकासा गरिसकेका छौँ,’ उनले भने, ‘तत्कालका लागि अस्थायी व्यवस्थापनको काम स्थानीय तहमार्फत भइरहेको छ । अस्थायी आवास निर्माणका लागि हामी बजेट निकासा गर्छाैँ ।’ 

दुई महिनामा पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । बाढीले १० जनाको ज्यान लिएको छ । पहिरोका चार सय दुई घटनामा नौजना बेपत्ता हुँदा ४० घाइते भएका छन् । एक हजार आठ सय ४२ घरपरिवार प्रभावित हुँदा एक सय ६० घर आंशिक र ६४ घर पूर्ण क्षतिग्रस्त बनेका छन् । पहिरोले मात्र चार करोडको क्षति भएको छ । यस अवधिमा बाढीका दुई सय १२ घटना भएकामा १० को मृत्यु भएको छ, २० बेपत्ता छन् । १८ जना घाइते भएका छन् । तीन हजार आठ सय २६ घरपरिवार प्रभावित भएकामा पाँच सय १५ घरमा आंशिक र ८५ घरमा पूर्ण क्षति भएको छ । बाढीले मात्र पाँच करोड ७७ लाखको क्षति भएको छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि देशका धेरैजसो क्षेत्रमा वर्षाको आकलन गरेको छ । आइतबारको भन्दा कम वर्षा हुने आकलन गरिए पनि मनसुनी प्रणाली सक्रिय रहेकाले वर्षा भने जारी नै रहने मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । सोमबार कर्णाली र सुदूरपश्चिमका (३०–५० प्रतिशत भूभाग)मा भीषण वर्षाको सम्भावना छ । सुदूरपश्चिमका एक–दुई स्थानमा आरीघोप्टे वर्षाको चेतावनी दिइएको छ । लुम्बिनी र गण्डकीको थोरै (३० प्रतिशतभन्दा कम भूभाग) र मधेस, कोसी र बागमती एक–दुई क्षेत्रमा भीषण (भारी) वर्षाको सम्भावना छ । तर, बागमती र कोसी प्रदेशका पूर्वी भूभागमा भने कम वर्षा हुने देखिन्छ । 

पछिल्लो २४ घन्टामा कैलालीको पूर्वी भेग, बर्दिया, बाँके, सुर्खेत, दाङलगायत क्षेत्रमा भीषण वर्षा भएको छ । यस अवधिमा बर्दियामा २११ मिलिमिटर पानी परेको छ । लमजुङ, दोलखा, गोरखा, मकवानपुर, बारामा पनि धेरै वर्षा भएको छ । काठमाडौंलगायत क्षेत्रमा सोमबार बिहानदेखि लगातार झरी परिरहेको छ । काठमाडौंमा सबैभन्दा धेरै पानी धाप ड्याम क्षेत्रमा ६३.२ मिलिमिटर परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा लगातार वर्षाका कारण मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा उत्तर (भारतको बिहार–उत्तर प्रदेश क्षेत्र)मा हुनुका साथै बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावा हो । तर, मंगलबारबाट भने मौसममा केही सुधार हुने संकेत देखिएको छ । मौसमविद् शाक्यका अनुसार अहिलेकै अवस्था (प्रणालीमा थप विकास नभए) मंगलबार सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मंगलबार राति कोसी, मधेस, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने देखिए पनि अहिलेको जस्तो झरीको सम्भावना कम छ ।

 निगुरो टिप्न गएका दोलखा  बिगुका दुईजना पहिरोमा पुरिए
निगुरो टिप्ने क्रममा माथिबाट आएको पहिरोले पुरिँदा दोलखाको बिगु गाउँपालिका– ७ मा एकजनाको मृत्यु भएको छ । अर्का एकजना बेपत्ता छन् । मृत्यु हुनेमा १२ वर्षीय पासाङ शेर्पा छन् । उनका ३५ वर्षीय  बाबु निम्दोर्जे शेर्पा बेपत्ता छन् । लगातार बर्सात भइरहेका वेला प्लास्टिक ओढेर निगुरो खोज्न हिँडेका निम्दोर्जे र पासाङलाई ठाडो खोलामा आएको भलसहितको पहिरोले बगाएको बिगु गाउँपालिका– ७ का वडाध्यक्ष दलबहादुर श्रेष्ठले जानकारी दिए । बाबुछोरा पहिरोमा पुरिएर बेपत्ता भएपछि प्रहरी चौकी चिलंखा र जनप्रतिनिधिको टोलीले खोजी गर्दा पासाङ शेर्पाको शवनजिकैको अम्बाटोल मूलखोलामा भेटिएको थियो । 

आइतबार निम्दोर्जे उनका छोरा पासाङ र अर्का एक युवा दिलबहादुर थामीसहित तीनपाटेनजिकैको जंगलस्थित ठाडो खोलामा निगुरो टिप्न गएका थिए । निगुरो टिपिरहेका वेला अनयासै आएको भलसहितको पहिरोले निम्दोर्जे र उनका छोरा पासाङलाई बगाएको थियो । दिलबहादुरले भने भागेर ज्यान बचाउन सफल भएका छन् । बेपत्ता भएका निम्दोर्जेको थोरै निगुरोसहितको कालो झोला पहिरोले सोरिएकै ठाउँमा भेटिएको र त्यसभन्दा केही तल एकथान गम्बुट भेटिएको थियो । बेपत्ता निम्दोर्जेको खोजीका लागि सोमबार बिहानदेखि नै नेपाली सेनाको टोली खटाइने दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । 

बर्दियामा बाढीबाट दुई सय ७३ घर डुबानमा, १८ घरपरिवार विस्थापित 
 बर्दियामा बाढीबाट दुई सय ७३ घर डुबानमा परेका छन् । त्यसमध्ये १८ घरपरिवार विस्थापित भएका छन् । भादालगायत खोलाको बाढीका कारण  बारबर्दिया नगरपालिका– ८ भगतपुरका आठ, दुधाका ४० र  वडा नम्बर ६ गुलराका १५ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाँसगढी नगरपालिका– ८  रेशमपुरका ६०, बनगौरीका ३० र वडा नम्बर ९ कुनैठीका एक सय २० घर डुबानमा परेका छन् । 

डुबानमा परेकामध्ये बारबर्दिया–८ का चार परिवारका २२ जनालाई सरस्वती आधारभूत विद्यालय भगतपुरमा, दुधाका तीन परिवारका १४ जनालाई युवक मावि दुधामा राखिएको बर्दिया प्रहरीका सुचना अधिकारी हिक्मतबहादुर बोहराले जानकारी दिए । बाँसगढी नगरपालिका–८ रेशमपुरका चार परिवारका २३ जनालाई रेशमपुर सामुदायिक भवन र बनगौरीका सात परिवारका २५ जनालाई बालविकास केन्द्र ककौरामा राखिएको छ ।

बाढीका कारण खाद्यान र लत्ताकपडा डुबेको छ । वर्षभर खानका लागि भण्डारण गरी राखिएको अन्न डुबाएको बारबर्दिया नगरपालिका–८ की हीरासिंह ठकुरीले बताइन् । आइतबार बिहानबाट बर्दियालगायत क्षेत्रमा अत्यधिक वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा बर्दियाको रानीजरुवामा १५१, रम्भापुरमा २११ र बबई चेपाङमा १७१ मिलिमि टर पानी परेको छ । लगातारको वर्षाले बबई नदीको जलस्तर बढ्दै गएको छ । जलमापन केन्द्र बबई चेपाङमा जल सतह सतर्कता तहभन्दा माथि ५.९ मिटर रहेको छ । भादा पुल जलमापन केन्द्रमा सतर्कता तहभन्दा माथि ७.८ मिटर रहेकामा जल सतह बढ्दो क्रममा छ । बबई नदीको तल्लो तटीय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन आग्रह गरिीएको छ ।  

 दाउरा टिप्न जाँदा गुलरियाका  तीनजना बेपत्ता
बबई नदीमा दाउरा निकाल्ने क्रममा बगेर तीनजना बेपत्ता भएका छन् ।  नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा गुलरिया नगरपालिका– १२ भैँसाहीका ३० वर्षीय बालकृष्ण थारू, वडा नम्बर ८ थपुवा गाउँका २७ वर्षीय अक्षय थारू र गुलरिया नगरपालिका– २ का २३ वर्षीय महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराका अनुसार बेपत्ता भएकाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले खोजी गरिरहेको छ । दाउरा तथा काठ निकाल्ने क्रममा तटीय क्षेत्रका स्थानीय नदीमा जाने क्रम बढेपछि स्थानीय प्रशासनले नदीमा नपस्न र नदी किनार नजान अनुरोध गरेको छ । 

भजनीका बाढीपीडित त्रिपालमै
 कैलालीको भजनीमा बाढीबाट विस्थापित भएका ६ दिनदेखि घर फर्कन सकेका छैनन् । उनीहरू हुलाकी राजमार्गको सडकमा त्रिपाल लगाएका बसेका छन् । बाढीका कारण भजनीमा गत साता करिब नौ सय परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये आधा परिवार घर फर्कन नसकेको भजनीका मेयर केवल चौधरीले बताए ।

कतिपय बस्तीमा अझै बाढी रहेको उनको भनाइ छ । ‘बाढीले घर हिलाम्य भएर बस्नलायक छैनन्, पुनः बाढी आउने जोखिम रहेकाले पनि मानिसहरू घर फर्कन सकेका छैनन्,’ उनले भने, ‘नदीहरूमा बाढीको सतह बढ्दै गएकाले पुनः डुबान हुने जोखिम छ ।’ सुदूरपश्चिमका केही भूभागमा उच्च वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले गरेको छ । वर्षा भए विस्थापितको संख्या अझै बढ्ने मेयर चौधरीले बताए ।

स्थानीय कान्द्रा, काढा, पथरैया र मोहना नदीमा बाढीको सतह बिस्तारै बढ्न थालेको उनको भनाइ छ । टीकापुर क्षेत्रमा कर्णाली नदीले कटान तीव्र बनाएको छ । टीकापुर उद्यान क्षेत्रमा तटबन्ध बनाएको ठाउँमा नदी कटान तीव्र भएपछि आसपासका बस्ती जोखिममा छन् । तटबन्ध भत्किएमा टीकापुरका वडा नम्बर ५ देखि ९ सम्मका बस्ती डुबानमा पर्ने सम्भावना रहेको स्थानीयले बताएका छन् ।