Skip This
कक्षा १२ को उत्तर पुस्तिका परीक्षणमा अनियमितता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २६ बुधबार o८:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कक्षा १२ को उत्तर पुस्तिका परीक्षणमा अनियमितता

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:३६:oo

परीक्षण अधिकृतको स्वीकृतिबेगर अंग्रेजी विषयको उत्तर पुस्तिका जाँच, जाँचकी शिक्षकले करिब एक सय उत्तरपुस्तिकामा ७५ देखि ९० अंकसम्म दिए

कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा अनियमितता भएको पाइएको छ । असोज दोस्रो साता सम्पन्न कक्षा १२ को परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्दा भएको अनियमिततामा राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका प्रमुख डम्बर बतासको संलग्नता देखिएको छ । उनले चलाखीपूर्वक ठूला निजी विद्यालयहरूसँग साँठगाँठ गरेको खुलेको छ ।

विराटनगरको बरगाछीस्थित गोग्राह उच्च माविमा उत्तर पुस्तिका जाँच परीक्षण केन्द्र तोकिएको थियो । १६ असोजदेखि सुरु भएको परीक्षण केन्द्रमा एउटै शिक्षकले अलग अलग विद्यालयको उत्तर पुस्तिकाको पोका सुटुक्क खोल्न लगाएर जाँच गरेको परीक्षण अधिकृत सीमा राईले भेटेपछि शिक्षकहरूसँग विवाद भएको थियो । त्यसपछि उत्तर पुस्तिका जाँच स्थगित भएको थियो । अब दसैँपछि मात्र परीक्षण सुरु हुने परीक्षा बोर्ड प्रदेश १ कार्यालयका सूचना अधिकारी दाया राईले बताए । ‘२१ असोजमा विवाद भएपछि जाँच कार्य स्थगित छ, अब बोर्डको निर्देशनअनुसार दसैँपछि जाँच सुरु हुन्छ,’ उनले भने । 

२१ असोजमा विराटनगरस्थित मेरिल्यान्ड माविका शिक्षक गणेश दहालले परीक्षण अधिकृतको स्वीकृतिबेगर धमाधम अंग्रेजी विषयको उत्तर पुस्तिका जाँच गरेका थिए । उनले जाँच गरेको करिब एक सय उत्तरपुस्तिका सबैमा ९० देखि ७५ सम्म अंक दिएका थिए । स्वीकृतिविनै उत्तरपुस्तिकाको पोका खोलेर जाँच गरेको पाइएपछि परीक्षण अधिकृत राईले शिक्षक दहाललाई सबै कापी फिर्ता गर्न चेतावनी दिएकी थिइन् । त्यसपछि उनीहरूबीच विवाद सुरु भएको थियो । त्यसपछि शिक्षक दहालले माफी माग्दै आफूलाई बोर्डका कर्मचारीले नै उत्तर पुस्तिकाको पोको खोलेर जाँच गर्न दिएको बताएका थिए । तर, उनले कुन कर्मचारीले पोको खालेर पुस्तिका दिएका हुन् भन्ने बताउन चाहेनन् । 

परीक्षण अधिकृत राईले आफ्नो अनुपस्थितिमा अलग्गै पोका खोलेर कपी जाँच गरेको पाइएपछि माथिल्लो तहमा जानकारी गराएर जाँच गरेका सबै उत्तरपुस्तिका नियन्त्रणमा लिएको र जाँच गर्न लागेको उत्तरपुस्तिका फिर्ता लिएको बताइन् । ‘मैले सबै कुरा बोर्ड प्रमुख र सदस्य सचिव दुर्ग अर्याललाई जानकारी गराइसकेको छु र जिल्ला प्रशासनलाई जानकारी गराएर सबै उत्तर पुस्तिका दराजमा राखेर तालाचाबी म आफैँले राखेकी छु, गलत को हो अनुसन्धानले प्रस्ट बनाउला,’ उनले भनिन् ।

हालसम्म परीक्षा बोर्ड कार्यालय विराटनगरले केही विद्यालयको अंग्रेजी र अर्थशास्त्रको केही उत्तरपुस्तिका मात्र जाँच गरेको छ । बाँकी उत्तरपुस्तिका जाँच गर्न बाँकी छ । उत्तरपुस्तिका जाँच गर्दा परीक्षा बोर्डले जाँचकी शिक्षकहरूलाई कोड नम्बर दिएर जाँच गराउने गर्दछ । सँगसँगै पालना गर्नुपर्ने निर्देशन टाँस गरेर, अनुशिक्षण गराएर, केन्द्रमा जानकारी गराउने गर्दछ । नियमअनुसार आफैँले पढाएको विद्यालयका विद्यार्थीको उत्तर पुस्तिका शिक्षकले जाँच गर्न पाउँदैनन् । 

कक्षा १२ को उत्तरपुस्तिका यो वर्ष परीक्षा बोर्ड आफैँले परीक्षण गर्ने योजनाअनुसार विराटनगरमा परीक्षण केन्द्र तोकेर १६ असोजदेखि उत्तर पुस्तिका परीक्षण गराउन थालेको थियो । तर, कार्यालय प्रमुख डम्बर बतासेले पूर्वतयारी नहुँदै परीक्षण अधिकृतसमेतको अनुपस्थितिमा उत्तरपुस्तिका परीक्षण सुरु गरेका थिए । उनले एकजना करारका कार्यालय सहयोगीलाई बिहान ५ बजे नै कार्यालयमा बोलाएर उत्तर पुस्तिका आफूलाई दिन निर्देशन दिएका थिए । उत्तरपुस्तिका परीक्षण विवादमा परेपछि कार्यालय प्रमुख बतासेले सबै जिम्मा परीक्षण अधिकृतले नै लिनुपर्ने बताउँदै आएका छन् । 
 

ad
ad