१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
अच्युतमान सिंह प्रधान ‘उत्सुक’
२o८१ बैशाख २४ सोमबार o८:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कोरोना कहरबीच आएको दसैँ

Read Time : > 2 मिनेट
अच्युतमान सिंह प्रधान ‘उत्सुक’
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४६:oo

चाडपर्व प्रत्येक वर्ष आउँछन् । निरोगी भई बाँच्न पाइयो भने यसपालि नभए आउँदो साल पनि मनाउन सकिन्छ । तर, ज्यान नै भएन भने चाडपर्वको के नै महत्व भयो र ?


नेपालीको महान् चाड बडादसँै घरआँगनमा आइसकेको छ । बजारमा दसैँका लागि आवश्यक सामग्री खरिद गर्नेहरूको चहलपहल पनि निकै बढेको छ । सडक, बजार जहाँतहीँ मानिसको भिड निकै बाक्लो छ । बजारमा पाइला टेक्ने र सार्ने ठाउँसम्म छैन । राजधानी छाडेर बाहिरिने यात्रुको पनि निकै चाप बढेको छ, बसपार्कहरूमा । यस्तो वेला केको भौतिक दूरी ? केको स्वास्थ्य मापदण्ड ? मास्क लगाउने नियमसमेत पालना भएको देखिन्न ।

दसैँको आगमनसँगै बढेको भिडभाड देख्दा मानिसमा कोरोनाको डर हराइसकेझैँ लाग्छ । कतिपयले कोभिड–१९ विरुद्धको खोप लगाए पनि कैयौँले अझै खोप पाएका छैनन् । १८ वर्षमुनिका बालबालिकालाई त खोप आएको पनि छैन । फेरि खोप लगाउँदैमा सबै सुरक्षित नै हुन्छन् भनेर ढुक्क हुन पनि सकिन्न । यस्तो अवस्थामा अझ निकै सतर्कता अपनाउनु अति जरुरी छ । 

कोभिड संक्रमणको दरमा खासै कमी आइनसकेको हुनाले हामी आफैँ सचेत हुनुको विकल्प छैन । त्यसैले, आवश्यक नपरेसम्म हामी घरबाहिर ननिस्कौँ । बजारमा किनमेल गर्न जाँदा आफ्ना बालबालिकालाई साथ नलगौँ । परिवारबाट सकभर कमभन्दा कम सदस्य मात्र बाहिर निस्कौँ । किनमेल गर्न जाँदा पनि सकभर धेरै पसल चहार्नुको साटो अत्यावश्यक सामग्री निश्चित पसलबाट किनेर फर्किनु बुद्धिमानी हुन्छ । 

चाडपर्वमा फुटपाथ बजार निकै फस्टाउने गरेका छन् । जसले गर्दा सामान्य पैदल यात्रु, ग्राहक र व्यापारीका कारण फुटपाथहरू अस्तव्यस्त देखिने गरेका छन् । यस्तो भिडभाड हुने स्थानमा पनि व्यक्ति स्वयंले आवश्यक सतर्कता अपाउनु जरुरी छ । भिडभाडमा यात्रा गरिरहनुपर्ने हुनाले हामीले अनिवार्य रूपमा स्तरीय मास्क लगाएर तथा स्यानिटाइजर बोकेर मात्र बाहिर निस्किनु बुद्धिमानी ठहन्छ । बजार या भिडभाडमा पुगेर फर्केपछि हात साबुनपानीले राम्रोसँग धुने र आफूले लगाएका लुगा फेरेर अलग्गै राख्नु पनि उत्तिकै जरुरी छ । यसका साथै बाहिरबाट खरिद गरी ल्याइएका सामग्रीमा पनि स्यानिटाइज गर्नु राम्रो हुन्छ । 

कतै बाहिरबाट घर पुग्नासाथ घरमा भएका परिवारका सदस्यसँग नजिक गएर बोल्ने, छुने गर्नुहुन्न । अझ प्रौढ तथा साना बालबालिका तथा बिरामी, दीर्घरोगी भएका परिवारमा थप सजगता अपनाउनुपर्छ । कति कुरो सामान्य जस्तो लागे पनि हामीले त्यसलाई व्यवहारमा लागू गर्दैनौँ, हेलचेक्र्याइँ गर्छौं, अनि समस्यामा पर्छौं । आजकल अनलाइन सपिङ व्यवसाय पनि फस्टाएको छ । अहिले सबैको हात–हातमा मोबाइल छ । इन्टरनेटबाट आफूलाई आवश्यक सामान घरमै बसीबसी मगाउन सकिन्छ । अर्डर गरेको केही समयमै सामान घरको ढोकामै आइपुग्छ । सामानको मूल्य पनि अनलाइनबाटै तिर्न सकिन्छ । त्यसैले, सहरबजारका लागि यो उपाय पनि एउटा भरपर्दो विकल्प बन्न सक्छ । 

अघिल्लो दसैँमा कोरोना संक्रमण दर उच्च भएको हुनाले आफ्नो घर जान नपाएकाहरू पनि यसपटक चाहिँ काठमाडौंबाट आफ्नो घर गइरहेका छन् । लामो दूरीको यात्रा गर्न विभिन्न जिल्लामा दसैँका लागि घर जाने बसको टिकट उहिल्यै बुकिङ सुरु भइसकेको थियो । अनलाइनबाटै टिकट खरिद गर्ने व्यवस्था मिलाइएको हुनाले यस वर्ष टिकट काउन्टरमा कमै भिड देखियो । यो निकै राम्रो संकेत हो । दूरी लामो होस् या छोटो, यात्रा गर्दा यात्रु तथा चालक र सहचालक सबैले सरकारद्वारा निर्देशित न्यूनतम स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउनु जरुरी छ । यात्रुहरूले पनि अनिवार्य मास्क लगाउने, भरसक पन्जा लगाउने, स्यानिटाइजर बोक्ने, कतै छोएपछि स्यानिटाइजर लगाउने जस्ता कार्यलाई निरन्तरता दिनु जरुरी छ । 

दसैँमा प्रायः सबैजसो शक्तिपीठमा पूजा गर्ने, दर्शन गर्ने, बलि दिने भक्तजनको भिड लाग्ने गर्छ । तर, यसपटक कोभिड–१९ का कारण सबै शक्तिपीठ पूर्ण रूपमा खुला नहुन पनि सक्छन् । शक्तिपीठहरू खुलेकै अवस्थामा पनि स्वास्थ्यको न्यूनतम मापदण्ड अपनाएर मात्र भक्तजनलाई दर्शन गराउने व्यवस्था सबैतिर गरिनुपर्छ । हामीले पनि मन्दिरमा भिड नगरी आफू सुरक्षित भई अरूलाई पनि सुरक्षित रहन सहयोग पुर्‍याउनुपर्छ । 

दसैँको टीकामा परिवारका सबैजना एकै स्थानमा जम्मा भएर टीकाटालो गर्ने चलन छ । यस्तो अवस्थामा परिवारकै सदस्य भए पनि फरक–फरक घर या परिवारमा बस्नेबीच न्यूनतम स्वास्थ्य मापदण्ड पालना हुनैपर्छ । आखिर एकैछिनको रमाइलो र निकटताले परिवारमा गम्भीर समस्या निम्त्याउन पनि त सक्छ । त्यसैले, दसैँमा मान्यजनहरूको हातबाट टीका थाप्दा, पिङ खेल्दा, साथीभाइ, आफन्त र नातेदारसँग भेटघाट गरी रमाइलोसँग दसैँ मनाउने रहर हुँदाहुँदै पनि हरदम सजग भई स्वास्थ्य मापदण्ड पालनामा खेलाँची गर्नु हुँदैन । चाडपर्वका नाममा आफन्त र साथीसँगीसँग रमाइलो गर्ने भन्दाभन्दै कतै हामीले कोरोना भाइरसलाई आफ्नो घरतर्फ ओसारिरहेका त छैनौँ ? यतातर्फ हामी निकै सजग हुनुपर्छ ।

चाडपर्व प्रत्येक वर्ष आउँछन् । निरोगी भई बाँच्न पाइयो भने यसपालि नभए आउँदो साल रमाइलोसँग चाडपर्व मनाउन सकिन्छ । तर, ज्यान नै भएन भने चाडपर्वको के नै महत्व भयो र ? त्यसैले, सचेत बनौँ र सुरक्षित भई दसैँ मनाऔँ । 

ad
ad