मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २४ आइतबार २२:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल र भारतबीच खुला संवाद गरौँ : कांग्रेस सहमहामन्त्री महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २४ आइतबार २२:०९:००

कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतबीच सबै तहमा खुला संवाद हुनुपर्ने बताएका छन् । आइतबार वाराणसीस्थित काशी हिन्दू विश्वविद्यालयको नेपाल अध्ययन केन्द्र र पण्डित दीनदयाल उपाध्याय अध्ययन केन्द्रद्वारा आयोजित कार्यक्रममा महतले नेपालको व्यापार घाटा, सीमा समस्या, बाँध, डुबानलगायत सबै विषयमा दुई देशले खुला संवाद गरेर समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् । 

भारतको औपचारिक भ्रमणमा रहेको कांग्रेस प्रतिनिधिमण्डलका नेता महत तथा कांग्रेस नेताहरू उदयशमशेर राणा, अजय चौरसिया पनि कार्यक्रममा सहभागी थिए । भारतीय समाजवादी नेता सुरेन्द्रप्रताप सिंहलगायतले पनि नेपाल–भारत सम्बन्धबारे कार्यक्रममा बोलेका थिए । भारतीय विदेशमन्त्री डा. एस जयशंकर, भाजपा अध्यक्ष जेपी नडडा, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतसँग भेटेर प्रतिनिधिमण्डल वाराणसी पुगेको नेपाल विद्यार्थी संघ भारतका महामन्त्री सूर्य न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा नेता महतले नेपालको भारतसँग बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै चीनसँग यसको तुलना नहुने र अर्को मुलुकसँगको सम्बन्ध प्रतिस्थापन नहुनेमा जोड दिएका थिए । नेपाल र भारतका राजनीतिक  दलहरूका बीचमा संवादको सुरुवात भएको भन्दै यसले सम्बन्ध सुदृढ गर्न थप योगदान पुग्ने विश्वास पनि व्यक्त गरे । 

समाजवादी नेता सुरेन्द्र प्रतापले नेपाल–भारत सम्बन्ध वाराणसीकेन्द्रित हुँदा राम्रो हुने गरेको तर दिल्लीकेन्द्रित हुन थालेपछि सम्बन्धमा उचारचढाब आएको चर्चा गरे । उनले नेपाली कांग्रेसको नेतृत्वमा नेपालले स्थिरता र समृद्धि हासिल गर्ने पनि विश्वास व्यक्त गरे । काशी हिन्दू विश्वविद्यालयका प्रोफेसरहरू मृत्युञ्जय मिश्र तथा के. के. मिश्रले पनि नेपाल–भारत सम्बन्ध विश्वका अन्य दुई मुलुकहरूको सम्बन्धको तुलनामा विशिष्ट र घनिष्ठ भएको चर्चा गरेका थिए । कांग्रेस प्रतिनिधिमण्डल सोमबार औपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किने कार्यक्रम छ ।