१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ असोज १८ सोमबार १३:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माथिल्लो मनाङ जोड्ने सडक तीन महिनापछि सञ्चालनमा

Read Time : < 1 मिनेट
२०७८ असोज १८ सोमबार १३:५०:००

बाढीपहिरोका कारण अवरुद्ध हिमाली जिल्ला मनाङ जोड्ने सडक तीन महिनापछि सञ्चालनमा आएको छ। चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालका जोड्ने भ्राताङ भिरको सडक मर्मतपश्चात् आइतबारदेखि सञ्चालनमा आएको हो।

भ्राताङ भिरको सडक मर्मत भएपछि मनाङको भ्राताङदेखि खाङसारसम्मको सडक सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। लामिछानेका अनुसार बेंसीसहर–चामे सडकखण्डको मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड ८–१० दिनमा खुल्ने गरी मर्मत भइरहेको छ। उक्त सडक मर्मत भएपछि बेंसीसहर–चामे सडक पूर्ण रूपमा सञ्चालन हुनेछ।

प्रजिअ लामिछानेका अनुसार दसैँअघि नै सडक सञ्चालन गर्ने गरी धमाधम निर्माणको काम भइरहेको छ। उनका अनुसार बाढीपहिरोले अवरुद्ध बेंसीसहर–चामे सडकखण्ड मंगलबारसम्म सञ्चालनमा आउनेछ। जिल्लाको मुख्य सडक सञ्चालनमा आएपछि अहिले साना गाडीहरू आउन सहज भएको छ। 

सडक मर्मत गर्न ९२ लाखभन्दा बढी खर्च भएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए। बाढीपहिरोले सडक तथा पुलमा क्षति पुऱ्याएपछि लामो समयसम्म मनाङ बाहिरी जिल्लासँग सडकसम्पर्क विच्छेद हुन पुगेको थियो। मनसुनको सुरुवातमै आएको बाढीपहिरोले मनाङमा भौतिक संरचनामा ठूलो क्षति पुऱ्याएको थियो। बाढीपहिरोले भौतिक क्षति पुऱ्याएपछि आवतजावतका साथै खाद्यान्न ढुवानीमा समेत हेलिकाेप्टरकै भर पर्नुपरेको थियो।