Skip This
मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार ११:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:५१:oo

वर्षायामभर अवरुद्ध रहेको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा आएको छ । 

अविरल वर्षाका कारण मैलुङदेखि स्याफ्रुबेसीसम्मको विभिन्न स्थानमा दैनिकजसो गएको पहिरोका कारण बन्द रहेको नाका जोड्ने छोटो दूरीको सडक बुधबारबाट सञ्चालनमा आएको हो । 

सडक सञ्चालनका लागि गरिएको एक महिला लामो प्रयासपछि मैलुङदेखि स्याफ्रुबेसीसम्मको १९ किलोमिटर सडक सञ्चालनमा ल्याउन सफल भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । 

‘मनसुन कम भएसँगै भदौ १५ गतेदेखि सडक सञ्चालनको काम सुरु गरेका थियने, दैनिक तीनवटा एक्स्काभेटर र एउटा टिपरमार्फत सडक सुचारु गराउन काम भएको थियो,’ उनले भने, ‘केही ठाउँमा सडक पूरै तलसम्म भासिएकाले सञ्चालन गर्न कठिन भयो, तैपनि कुनै पनि पर्वाह नगरी हामीले हाम्रो उपकरण प्रयोग गरी सञ्चालनमा ल्यायौँ,  अब जुनसुकै सवारी सञ्चालन गर्न पनि यो बाटो योग्य छ ।’

गएको असार मसान्तदेखि यो सडक अवरुद्ध भएको थियो । सडकमा यात्रा गर्न जोखिम भएको र वैकल्पिक सडक पनि भएका कारण उक्त सडक तत्काल सञ्चालन ल्याइएको थिएन । 

तीन महिनादेखि अवरुद्ध रहेको सडक सञ्चालनमा आएसँगै अहिले साना तथा ठूला सवारी यो सडक हुँदै आवतजावत गरिरहेका छन् । 

राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडकखण्डको लम्बाइ १७ किलोमिटर रहेको छ । 

नेपाली सेनाले निर्माण गरेको यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ । बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती–मैलुङ–स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । 

पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चेखण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन । काठमाडाैंदेखि गल्छी ४४ किलाेमिटर, गल्छीदेखि बट्टार २२ किलाेमिटर, बट्टारदेखि बेत्रावती ११ किलाेमिटर, बेत्रावतीदेखि मैलुङ १२ किलाेमिटर र मैलुङदेखि स्याफ्रु १७ किलाेमिटर दूरी रहेको छ । 

काठमाडाैंबाट बेत्रावती–धुन्चे–रसुवागढीको दूरी एक सय ४५ किलोमिटर रहेको छ भने काठमाडाैंबाट बेत्रावती–मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी एक सय २२ किलोमिटर मात्र हुनेछ । 

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्नुपर्दैन । 

यस्तै, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै बेत्रावती पुग्ने सडकभन्दा स्याफ्रुबाट मैलुङ हुँदै बेत्रावती निस्कन पेट्रोलियम पदार्थको खपत कम हुने हुँदा कन्टेनरचालकहरू यो सडकतर्फ आकर्षित हुँदै गएका थिए ।

ad
ad