Skip This
६ दिनदेखि अवरुद्ध रसुवागढी नाका जोड्ने सडक सञ्चालनमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार २o:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

६ दिनदेखि अवरुद्ध रसुवागढी नाका जोड्ने सडक सञ्चालनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार २o:३१:oo

६ दिनदेखि अवरुद्ध चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक सुचारु भएको छ । अविरल वर्षाका कारण ६ दिनदेखि अवरुद्ध बनेको धुन्चेदेखि टिमुरेसम्मको नाका जोड्ने सडक आइतबार दिउँसोबाट सुचारु भएको हो । 

लगातारको वर्षाका कारण गएको असार १ गतेदेखि धुन्चेदेखि टिमुरेसम्मको सडक अवरुद्ध बनेको थियो । ठाउँठाउँमा ढुंगा खस्ने, पहिरो जाने, लेदो बग्ने, खोलाले कटान गरी सडक भासिने, ग्याबिन वाल भासिई सडक अवरुद्ध बनेको थियो । सडकको भित्तामा ब्लास्टिङ गरी नयाँ ट्र्याक निर्माण तथा सडक माथिबाट खसेका ढुंगा तथा पहिरो लगातार पन्छाएसँगै अवरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए । 

सडक सुचारु भएसँगै साना तथा ठूला सबै सवारी सञ्चालनमा आएको उनको भनाइ छ । चीनबाट रसुवागढी नाका हुँदै आयात भएका सामग्री बोकेका मालबाहक कन्टेनर आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । पाण्डेले नयाँ पत्रिकासँग भने, ‘चीनबाट आएका सामान बोकेका २५ वटा कन्टेनर क्रस भइसकेका छन्, अर्को २० देखि २५ वटा पनि टिमुरेबाट क्रम हुँदै छन्, अवरुद्ध रहेको नाका जोड्ने बाटो पूर्ण रूपमा सञ्चालनमा आएको छ । 

लगातारको वर्षाको कारण सडकमाथिबाट खस्ने ढुंगा तथा पहिरो पन्छाए पनि पन्छाएको केही समयमै पुनः वर्षाका कारण छिनछिनमै सडक अवरुद्ध हुँदा सडक सञ्चालनमा समस्या भएको थियो । जिल्लाको स्याउबारीदेखि रसुवागढीसम्मको सडक जोखिममा रहेको छ । स्याउबारीदेखि रसुवागढीसम्मको सडकखण्डको मूलखर्क र ग्राङको बीच भाग, त्रिशूलीखोला, ठूलोभार्खु, सानुभार्खु, बाह्रघुम्ती, चिलिमे जलविद्युत् कम्पनीको छेउ, लिङलिङ, तातोपानीलगायतका स्थानमा सडकमाथिबाट ढुंगा खस्ने, खोलाले सडक कटान गरी सडक भासिने, पहिरो जाने गरेको छ । जसकारण सडक अवरुद्ध बन्ने गरेको छ । 

अवरुद्ध सडक सुचारु गराउन सडक डिभिजन कार्यालय नुवाकोटले सडक अवरुद्ध हुने विभिन्न स्थानमा एक्स्काभेटर र लोडर राखेको छ । ग्राङमा एउटा एक्स्काभेटर, धुन्चेमा एउटा लोडर, स्याफ्रुबेसीमा एक्स्काभेटर, दुईवटा टिपर र थप चारवटा प्राइभेट एक्स्काभेटर भाडामा लिई अवरुद्ध सडक सुचारु गराउन प्रयोग गरिएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख नारायणदत्त भण्डारीले बताए । 

त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत अवरुद्ध सडक सुचारु गराउन खटिएका छन् । उनीहरूलाई सडक सुचारु गर्न आवश्यक पर्ने घन, छिनो, गललगायतका सामग्रीहरू सडक डिभिजन कार्यालयमार्फत तत्काल उपलब्ध गराइने भण्डारीले बताए । 

जिल्लामा रहेका जलविद्युत् आयोजनाले भने अनुरोध गरेको वेला मात्र अवरुद्ध सडक सुचारु गराउन एक्स्काभेटरलगायतका उपकरण उपलब्ध गराउने गरेको पाइएको छ । रसुवागढी जलविद्युत् आयोजना र लाङटाङ भोटेकोसी जलविद्युत् आयोजनाले अवरुद्ध सडक सुचारु गराउन सहयोग गरेको बताइएको छ ।
 

ad
ad