१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १७ आइतबार ०८:१४:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

डा. कार्कीको पुस्तक ‘नेपालको अर्थतन्त्रका आयामहरू’ प्रकाशित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १७ आइतबार ०८:१४:००

अर्थशास्त्री डा. रेवतबहादुर कार्कीले लेखेको ‘नेपालको अर्थतन्त्रका आयामहरू’ पुस्तक प्रकाशित भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महतले पुस्तकको विमोचन गरेका हुन् । हाइडेल प्रेसले प्रकाशित गरेको पुस्तकको वितरणको जिम्मा एमके डिस्ट्रिब्युटर्सले लिएको छ । 

कार्यक्रमका डा. महतले उदार आर्थिक नीतिप्रति सर्वदलीय सहमति भई व्यावसायिकताका साथ कार्यान्वयन क्षमता वृद्धि गर्न सके मुलुकले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्ने बताए । पुस्तकमा मुलुकको अर्थतन्त्रको वास्तविक चित्र प्रस्तुत हुनुका साथै सार्वजनिक, वित्तीय र बाह्यलगायत सबै क्षेत्रहरूलाई समेटिएको पनि बताए । 

सो कार्यक्रममा वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेलले पुस्तकमा नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समालोचनात्मक प्रस्तुतिका साथै मुलुकको भूपरिवेष्ठितपन, क्षेत्रगत उपलब्धिको विवेचना गरिएको बताए । ‘पुस्तकको महत्व यस कारणले पनि बढेको छ, किनभने यसमा विश्वको वर्तमान चिन्ता र नेपालको अवस्थाको सही चित्रण व्यावसायिकतापूर्ण ढंगबाट गरिएको छ,’ उनले भने । 

प्रा.डा. प्याकुरेलले कोभिड–१९ को महामारीका कारण अहिले हामीसामु व्यक्तिको जीवनरक्षा र घाइते अर्थतन्त्रको उपचार तथा पुनरुत्थान प्रमुख समस्याका रूपमा देखापरेको पनि बताए । 

लेखक डा. कार्कीले विगत ४० वर्षदेखि नेपाल तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा आर्थिक, बैंकिङ–मौद्रिक, पुँजी बजार र बाह्य क्षेत्र–आयामसम्बन्धी काम गर्दाको अनुभवका आधारमा आफूले बुझेको नेपालको अर्थतन्त्र र यसका विभिन्न पक्षहरूको बारेमा विश्लेषण गर्ने जमर्को गरेको जानकारी दिए । यस पुस्तकमा अर्थतन्त्रका चारवटा मुख्य पाटो मानिने वास्तविक क्षेत्र, सार्वजनिक–सरकारी वित्त, वित्तीय (मौद्रिक र पुँजी बजार) क्षेत्र र बाह्य–वैदेशिक व्यापार तथा भुक्तानी गरी चार आयामका बारेमा चर्चा गरिएको छ ।