१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज १६ शनिबार २०:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् प्राधिकरणले तार काटेको भन्दै इन्टरनेट सेवाप्रदायक आन्दोलनमा

Read Time : < 1 मिनेट
२०७८ असोज १६ शनिबार २०:१२:००

नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट तथा केबुल टिभीका तारहरू काट्न थालेपछि सेवाप्रदायक आन्दोलित बनेका छन् । चितवनमा बिजुलीको पोलको भाडा नतिर्ने र भाडा सम्झौता पनि नगर्ने सेवाप्रदायक संस्थाहरूको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले शनिबारदेखि तार काट्न सुरु गरेको छ । 

प्राधिकरणले असोज १५ गतेभित्र पोलभाडा तिर्न र भाडा सम्झौता गर्न इन्टरनेट तथा केबुल सेवाप्रदायक संस्थालाई समय दिएको थियो । उक्त समय सीमाभित्र पनि इन्टरनेट र टिभीको सेवाप्रदायक संस्थाले अटेर गरेकाले उनीहरूको तार काट्न सुरु गरिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले जानकारी दिए ।

तार काटिएका तिनै इन्टरनेट तथा केबुल टिभीका सेवाग्राहीहरूले विद्युत् प्राधिकरण भरतपुरअगाडि धर्नासँगै नाराबाजी गरेका थिए । उनीहरूले विरोधस्वरूप ‘तार काट्न पाइँदैन’, ‘व्यवसायको सुरक्षा गर’, ‘कुलमान घिसिङ– मुर्दावाद’लगायतका नारा र ब्यानरसहित भरतपुर र नारायणगढ क्षेत्रमा र्यालीसमेत गरे । 

इन्टरनेट तथा केबुल टिभीका सेवाप्रदायक व्यवसायी एवं विरोध कार्यक्रम चितवनका संयोजक दीपक अधिकारीले प्राधिकरणले जथाभावी पोलभाडा बढाएर इन्टरनेट र केबुलको तार काटेको आरोप लगाए । ‘४ सय प्रतिशत भाडा बढेको अवस्थामा कि हामीले लिने सेवाशुल्क पनि उपभोक्तासँग बढाउन पाउनुपर्यो, कि  साबिकको पोलभाडा नै कायम गर्नुपर्यो भन्ने हाम्रो माग हो,’ उनले भने । केन्द्रमा ऊर्जामन्त्री पम्फा भुसाल, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतसँग वार्ता सकारात्मक भएका वेला मुख्य सर्भर काटेर दादागिरी देखाएको उनको आरोप छ ।

चितवनमा सञ्चालित ३० मध्ये ८ वटा इन्टरनेट सेवाप्रदायक संस्थाले मात्रै पोलभाडा तिरेका छन् भने जिल्लामा सञ्चालित दुई केबुल टिभीले पनि भाडा तिरेका छैनन् । ०७५ असारदेखि प्राधिकरणले पोलभाडा प्रतिकिलोमिटर चार हजार रुपैयाँबाट बढाएर ९ हजार पुर्याएपछि प्राधिकरण र सेवाप्रदायकबीच विवाद बढेको छ ।