१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ७ बिहीबार १७:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको १४औँ महाधिवेशनबारे अन्योल बढ्दै गयो : गगन थापा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ७ बिहीबार १७:५६:००

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४औँ महाधिवेशन समयमै हुनेमा अन्योल भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पार्टीको १४औँ महाधिवेशनको सम्बन्धमा अन्योल बढ्दै गएको बताएका हुन् । बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनको भनाइ छ ।  

मंसिरमा महाधिवेशन हुन्छ भन्नेमा ढुक्क हुन नसकिएको उनले बताए । पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र नेताहरूलाई दिएको जिम्मेवारी पूरा नगरी जबाफदेहिताविनाको राजनीति गरिएको उनको टिप्पणी छ । उनले भने, ‘महाधिवेशनबारेको जुन अन्योल छ, यो अन्योल थप बढ्दै गएको छ । १३ जिल्लाको सदस्यता टुंग्याउने कुरा तत्काल आजभोलि गरिएन र यो तिथिमिति सार्दै जाने, जति सारे पनि हुन्छ भन्दै गयो भने थप अन्योल हुँदै जान्छ । मंसिरमा महाधिवेशन हुन्छ भन्नेमा ढुक्क भएर भन्न सक्ने अवस्थामा म छैन । महाधिवेशनको तिथिमिति सार्ने कुरा अब पार्टीको नेताहरूले आउन दिनुहुन्न । त्यो अप्ठ्यारो आउन दिनुहुन्न भन्ने लागिरहेको थियो तर जुन हल्का ढंगले महाधिवेशनको बारेमा एउटाले सारौँ भन्ने अर्कोले हुन्छ, हुन्छ भन्ने जुन अवस्था बन्यो यसरी त जति बढाए पनि, तन्काइदिए पनि भयो । कसैले जवाफ दिनु नपर्ने, बैठक पनि बस्नु नपर्ने । जिम्मा पाएका नेताले जिम्मा पूरा गर्न नसकेपछि जबाफ दिनु नपर्ने ? जवाफदेहिताविनाको राजनीति पार्टीभित्र भएपछि यस्तो अवस्था भएको हो । अहिले यसलाई अन्त्य गरिएन भने यो अनन्तकालसम्म यसरी जान सक्छ । यसले हाम्रो अधिवेशनलाई थप अनिश्चित बनाएको छ ।’

थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीलाई संसद्सँग घृणा जागेका कारण संसद्मा अवरोध सिर्जना गर्ने गरेको बताए । संसद्प्रति ओलीको घृणा सिंगो एमालेमा पनि पुगेको भन्दै उनले एमाले संसदीय मर्यादामा बस्न नसकेको बताए । उनले भने, ‘केपी ओलीलाई संसद्सँग घिन लाग्छ, उहाँलाई संसद् देख्नै हुन्न । उहाँले आफ्नो कार्यकालभरि संसद्लाई हेप्नुभयो । संसद्लाई बेवास्ता गर्नुभयो । पटक–पटक भंग गर्नुभयो । अहिले संसद् पुनस्र्थापित भइसकेपछि उहाँलाई संसद्सँग यति घृणा लाग्छ कि यो संसद्लाई उहाँले पंगु बनाउनुभएको छ । अहिलेको हर्कत हेर्दै गर्दा सिंगो एमालेलाई संसद्प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ ।’

थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरूले बजेटको विषयमा बोल्न नपाएको उल्लेख गरे । एमालेको अवरोधले सांसदहरूले संसदमा आफ्नो भूमिकासमेत निर्वाह गर्न नपाएको उनले बताए । एमालेको प्रस्तुतिले संसदीय पद्धतिको गरिमा राख्न नसक्ने उनको भनाइ छ ।